काठमाडौं । भारतको ओडिसा राज्यको कटकस्थित एससीबी मेडिकल कलेज तथा अस्पतालको आईसीयूमा आगलागी हुँदा कम्तीमा १० जना बिरामीको ज्यान गएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ट्रामा आईसीयू वार्डमा अचानक विद्युत् सर्किट सर्ट भएपछि आगलागी भएको हो । ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले प्रारम्भिक अनुसन्धानका आधारमा विद्युत् सर्टकै कारण आगलागी भएको बताएका छन् ।
घटना हुँदा उक्त वार्डमा २३ जना बिरामी उपचाररत थिए । आगलागी लगत्तै अन्य बिरामीहरूलाई सुरक्षित स्थानमा सारिएको अस्पताल प्रशासनले जनाएको छ ।
बिरामीलाई उद्धार गर्ने क्रममा कम्तीमा ११ जना अस्पतालका कर्मचारी जलेर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमै उपचार भइरहेको बताइएको छ ।
घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने घोषणा पनि गरिएको छ ।
यसअघि सन् २०२४ मा उत्तर प्रदेशको एक अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको घटना पनि सार्वजनिक भएको थियो ।










