२०८३ बैशाख ११ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं । भारतको ओडिसा राज्यको कटकस्थित एससीबी मेडिकल कलेज तथा अस्पतालको आईसीयूमा आगलागी हुँदा कम्तीमा १० जना बिरामीको ज्यान गएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ट्रामा आईसीयू वार्डमा अचानक विद्युत् सर्किट सर्ट भएपछि आगलागी भएको हो । ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले प्रारम्भिक अनुसन्धानका आधारमा विद्युत् सर्टकै कारण आगलागी भएको बताएका छन् ।

घटना हुँदा उक्त वार्डमा २३ जना बिरामी उपचाररत थिए । आगलागी लगत्तै अन्य बिरामीहरूलाई सुरक्षित स्थानमा सारिएको अस्पताल प्रशासनले जनाएको छ ।

बिरामीलाई उद्धार गर्ने क्रममा कम्तीमा ११ जना अस्पतालका कर्मचारी जलेर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमै उपचार भइरहेको बताइएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने घोषणा पनि गरिएको छ ।

यसअघि सन् २०२४ मा उत्तर प्रदेशको एक अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको घटना पनि सार्वजनिक भएको थियो ।

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढिरहेका बेला अनुगमनका क्रममा ठूलो परिमाणमा भरिएका ग्यास सिलिन्डर भेटिएका छन् । नेपाल आयल निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले गरेको निरीक्षणका क्रममा ६ हजार ६ सय ७७ वटा फुल ग्यास सिलिन्डर लुकाएर राखिएको अवस्थामा फेला परेका हुन् ।

सूचनाको आधारमा गरिएको आकस्मिक अनुगमनमा ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको भण्डारण स्थलमा उक्त परिमाणको ग्यास सिलिन्डर भेटिएको विभागले जनाएको छ । धादिङस्थित उद्योगबाट उत्पादन गरिएको ग्यास गोदाममा थुपारेर राखिएको पाइएको हो ।

बजारमा ग्यास अभाव भएपछि सरकारले हाल १४.२ केजीको सट्टा ७.१ केजीको आधा सिलिन्डर मात्र उत्पादन तथा बिक्री गर्न उद्योगहरूलाई निर्देशन दिएको छ । तर सोही अवधिमा ठूलो संख्यामा फुल सिलिन्डर गोदाममै राखिएको भेटिएपछि विभागले उद्योगलाई कारबाही गरेको हो ।

वाणिज्य विभागका आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाका अधिकृत अमित कुमार झाले अनुगमनका क्रममा ६ हजारभन्दा बढी भरिएका सिलिन्डर फेला परेको बताए । उनका अनुसार बजारमा ग्यास अभावको गुनासो बढिरहेका बेला यति ठूलो परिमाणमा सिलिन्डर गोदाममै थन्क्याएर राख्नुले कृत्रिम अभाव सिर्जना गर्ने संकेत देखिएको छ ।

यसलाई उपभोक्ता संरक्षण ऐन २०७५ को उल्लंघन ठहर गर्दै विभागले श्रीराम ग्यासलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । साथै गोदाममा रहेका सबै सिलिन्डर नेपाल आयल निगमसँग समन्वय गरेर तुरुन्तै बजारमा पठाउन निर्देशन पनि दिइएको विभागले जनाएको छ ।

विभागले आगामी दिनमा पनि यस्ता गतिविधि गर्ने उद्योग तथा फर्महरूमाथि कडा निगरानी राख्दै कारबाहीलाई निरन्तरता दिने चेतावनी दिएको छ ।

उद्योगको फरक दाबी

उता श्रीराम ग्यास उद्योगले भने फेला परेका सिलिन्डरबारे फरक दाबी गरेको छ । उद्योगका अनुसार नेपाल आयल निगमले आधा सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गर्नु अघि नै ती ग्यास सिलिन्डरहरू रिफिल भइसकेका थिए ।

उद्योगका परामर्शदाता डिल्ली ढकालका अनुसार निगमले सूचना जारी गर्नु अघि नै सिलिन्डर भरिसकिएको हुँदा कानुनी जटिलताको डरले तत्काल बजारमा पठाउन नसकिएको हो । उद्योगले यसबारे निगमलाई जानकारी गराउँदै बिक्रीको अनुमति मागेर पत्राचारसमेत गरेको जनाएको छ ।

उद्योगका कन्सल्टेन्ट अमित ढकालले उपभोक्ताको माग र बजारको अभावलाई ध्यानमा राख्दै मौज्दातमा रहेका फुल सिलिन्डर बिक्री गर्न अनुमति मागिएको बताए ।

यद्यपि, वाणिज्य विभागका अनुसार उद्योगले मौज्दात रहेको ग्यासबारे विभागलाई कुनै पूर्व जानकारी दिएको थिएन । सरकारले आधा सिलिन्डरको निर्णय बिहीबार नै गरे पनि उद्योगले आइतबार मात्रै नेपाल आयल निगमलाई फुल सिलिन्डर मौज्दात रहेको जानकारी गराएको बताइएको छ ।

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र डिजिटल बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य सुरु गरेको छ ।

यसका लागि स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी–पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौताअनुसार अब स्वास्थ्य बीमा कार्यक्रमलाई क्रमशः राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बरमा आधारित बनाउने तयारी गरिएको बोर्डले जनाएको हो ।

सम्झौता–पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेका हुन् ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार यो सहकार्यपछि स्वास्थ्य बीमाको दर्ता तथा नवीकरण प्रक्रिया क्रमशः अनलाइनमार्फत सञ्चालन गर्ने योजना रहेको छ । उनले बोर्डले आगामी चैत २५ गतेभित्रै नयाँ दर्ता अनलाइनबाट सुरु गर्ने लक्ष्यसहित तयारी भइरहेको जानकारी दिए ।

देशभर संकलन गरिएको राष्ट्रिय परिचयपत्रको डाटाबेससँग स्वास्थ्य बीमा कार्यक्रम जोडिँदा विवरण प्रमाणीकरण सहज हुने, दोहोरो दर्ता घट्ने र कार्डको दुरुपयोग नियन्त्रण हुने अपेक्षा बोर्डले गरेको छ ।

नयाँ व्यवस्थाले स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियालाई सरल बनाउने विश्वास गरिएको छ । राष्ट्रिय परिचयपत्रमा रहेको विवरणकै आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रबाट छिटो र सहज सेवा पाउनेछन् ।

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पत्रको आधारमा भट्टलाई नियन्त्रणमा लिइएको हो । मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी उजुरी दिएपछि सोही आधारमा भट्टलाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले भट्टलाई साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिएको छ । केही दिनअघि सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूबाट पाँच लाख रुपैयाँ घुस मागेको र रकम नदिएपछि पूर्वाग्रह राखेर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए ।

सो अभिव्यक्ति सार्वजनिक भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले भट्टलाई पत्र पठाउँदै मुख्यमन्त्रीविरुद्ध सार्वजनिक रूपमा दिएको भनाइ निजामती कर्मचारीको आचरणअनुकूल नभएको उल्लेख गर्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएका थिए ।

मन्त्रालयले भट्टको अभिव्यक्तिलाई निराधार, कपोलकल्पित तथा चरित्रहत्या गर्ने उद्देश्यले दिएको दाबी गरेको थियो । यसअघि पनि भट्टले विभिन्न व्यक्तिहरूमाथि विवादास्पद आरोप लगाउँदै आएको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

चित्तबुझ्दो स्पष्टीकरण नआए कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको थियो। उता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमार्फत आफूविरुद्ध लगाइएको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्दै भट्टमाथि कानुनी कारबाहीको माग गरेका थिए।

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । यसदिन नेप्से २६ दशमलव ०७ अंकले घट्दै २ हजार ७९८ दशमलव ८३ बिन्दुमा पुगेको हो ।

सोमबार ३ करोड ०३ लाख ९० हजार २११ कित्ता शेयर किनबेच हुँदा करिब ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

आजको कारोबारमा ३४५ कम्पनीका धितोपत्र किनबेच भएका छन् । तीमध्ये ४८ कम्पनीको शेयर मूल्य बढ्दा २११ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

समूहगत सूचकतर्फ उत्पादन तथा प्रशोधन समूह शन्य दशमलव २५ प्रतिशतले बढेको बाहेक अन्य सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै बैंकिङ समूह १ दशमलव ६१ प्रतिशतले घटेको छ ।

यस्तै लगानी १ दशमलव ५२, अन्य १ दशमलव ०९, जीवन बीमा शून्य दशमलव ९४, विकास बैंक शून्य दशमलव ८४, माइक्रोफाइनान्स शून्य दशमलव ७५, फाइनान्स शून्य दशमलव ७१, हाइड्रोपावर शून्य दशमलव ६१, निर्जीवन बीमा शून्य दशमलव ४५, म्युचुअल फण्ड शून्य दशमलव ४३, होटेल तथा पर्यटन शून्य दशमलव २६ र व्यापार समूहको उपसूचक शून्य दशमलव २१ प्रतिशतले घटेको छ ।

आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा अपर हेवाखोला हाइड्रोपावर, साल्पा विकास बैंक, सोलु हाइड्रोपावर र रिलाइन्स स्पीनिङ मिल्स रहेका छन् । यस्तै होटल फरेन इनको शेयर मूल्य ९ दशमलव ९३ प्रतिशतले बढेको छ ।

यसदिन सिदार्थ इक्वीटि फण्ड ४ दशमलव ३९, नारायणी डेभलपमेन्ट बैंक ४ दशमलव १८, ग्रीनलाइफ हाइड्रोपावर ३ दशमलव ९८ र माइखोला हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ८८ प्रतिशतले ह्रास आएको छ ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुका साथै आपूर्ति व्यवस्थापनमा परेको दबाबका कारण निगमले पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा मूल्य समायोजन गरेको जनाएको छ।

निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य २०८२ चैत १ गते रातिदेखि लागू भएको छ। समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य बढाइएको हो।
 
नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १७१ रुपैयाँ र तेस्रो वर्गमा १७२ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गमा १४१ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४३ रुपैयाँ र तेस्रो वर्गमा १४४ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको निगमले जनाएको छ।
 
मध्यपूर्व र पश्चिम एसियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको र त्यसको प्रभाव आपूर्ति व्यवस्थापनमा परेको निगमको भनाइ छ। आफ्नै पेट्रोलियम स्रोत नभएका देशका लागि मूल्य समायोजन र आपूर्ति व्यवस्थापन दुवै चुनौतीपूर्ण हुने निगमले उल्लेख गरेको छ।
 
नेपालले पेट्रोलियम पदार्थ भारतबाट खरिद गर्दै आएको छ। भारतबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा नेपालमा पनि खुद्रा मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।

650140182_1222550349619975_4752192082224601167_n

649821766_2393089471154995_6053193754974279198_n

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।