२०८३ बैशाख ५ शनिबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ५ शनिबार

काठमाडौं । सर्वोच्च अदालतले तीन आधार उल्लेख गर्दै कांग्रेसको नेतृत्वमा गगन थापा को वैधता कायम रहने ठहर गरेको छ ।

अदालतको संक्षिप्त आदेश अनुसार पदाधिकारीमाथि गरिएको कारबाहीबारे निर्वाचन आयोग लाई दिइएको जानकारीलाई औपचारिक उजुरीका रूपमा मान्न नमिल्ने स्पष्ट पारिएको छ । त्यसैले उक्त आधारमा गरिएको कारबाही सदर नहुने संकेत अदालतले दिएको छ ।

त्यस्तै, थापा नेतृत्वमा रहेको कांग्रेस संसदीय निर्वाचनमा सहभागी भई प्रक्रिया पूरा गरिसकेकोले उक्त नेतृत्वले राजनीतिक वैधता हासिल गरिसकेको आदेशमा उल्लेख गरिएको छ । अदालतले आयोगले प्राप्त कागजात र विद्यमान कानुनअनुसार निर्णय लिएको ठहर गर्दै त्यसमा हस्तक्षेप गर्न आवश्यक नदेखिएको पनि जनाएको छ ।

यस मुद्दामा शेर बहादुर देउवा पक्षले आयोगको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले तीन आधार प्रस्तुत गर्दै थापाको नेतृत्वलाई आधिकारिकता दिएको हो ।

संक्षिप्त आदेशमा देउवा पक्षले कारबाही र विशेष महाधिवेशनसम्बन्धी विषयमा आयोगमा दर्ता गराएको पत्रलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसारको उजुरीका रूपमा मान्न नसकिने उल्लेख छ ।

अर्कोतर्फ, केन्द्रीय पदाधिकारीहरूको हेरफेर अद्यावधिक भएपछि थापाको हस्ताक्षरबाट फागुन २१ मा संघीय संसद्को निर्वाचन प्रक्रिया सम्पन्न भएको र त्यसले राजनीतिक वैधता प्राप्त गरिसकेको अदालतले जनाएको छ । आदेशमा भनिएको छ निर्वाचन सम्पन्न भइसकेपछि रिट दायर गर्दाको अवस्थासँग तुलना गर्दा सारभूत परिवर्तन भइसकेकोले विशेष महाधिवेशन बोलाउने भनिएको विषयको औचित्य समाप्त भएको देखिन्छ ।

साथै, आयोगले आफ्नो कामकारबाही कानुनी आधारमै सम्पन्न गरेको निष्कर्ष निकाल्दै निवेदक पक्षको मागअनुसार हस्तक्षेप गर्न उपयुक्त नदेखिएको सर्वोच्चले जनाएको छ ।

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा स्ववियु आर.आर क्याम्पसद्वारा आयोजित भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पस परिसरमा आयोजित उक्त कार्यक्रममा क्याम्पसका सहायक प्रमुख डा. रमेश गौतम प्रमुख अतिथिका रूपमा सहभागी भई भित्तेपात्रो सार्वजनिक गरेका थिए । कार्यक्रममा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

स्ववियु आर.आर क्याम्पसका अध्यक्ष लोकेश कुमार खड्काले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै सबै सहभागीप्रति धन्यवाद व्यक्त गरे । उनले नयाँ वर्षलाई सृजनशील र सकारात्मक ढंगले स्वागत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

काठमाडौं । राजधानीको बल्खु क्षेत्रमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । दोलखा जिल्लाको शैलुङ गाउँपालिका–८, मनगाउँ घर भएकी भवानी श्रेष्ठ बल्खुस्थित डेरामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार उनी लामो समयदेखि बल्खुमा एक्लै बस्दै आएकी थिइन् । घरबेटीले शंकास्पद अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले उनको शव बरामद गरेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानमा आत्महत्याको आशंका गरिए पनि यसको यकिन कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी परिसर जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने परिवारका सदस्यलाई पनि जानकारी गराइएको प्रहरीले बताएको छ ।

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट देखिएको छ । नेप्से ३३ दशमलव ८३ अंकले घटेर २ हजार ८३३ दशमलव ०३ बिन्दुमा झरेको हो ।्

आज बजारमा २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता शेयर किनबेच भएका छन् । जसको कुल कारोबार रकम ९ अर्ब ३१ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

बिहीबार ३४२ धितोपत्र कारोबारमा आएका थिए । जसमध्ये ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३६ को घटेको छ । तीन कम्पनीको शेयर भने स्थिर रहेको छ ।

बिहीबार सबै समूहको उपसूचक घटेको छ । यसदिन फाइनान्स समूह सर्वाधिक १ दशमलव ९८ प्रतिशतले बढेको छ ।

यस्तै उत्पादन तथा प्रशोधन १ दशमलव ५४, हाइड्रोपावर १ दशमलव ५१, निर्जीवन बीमा १ दशमलव २८, लगानी १ दशमलव २७, विकास बैंक १ दशमलव १६, अन्य १ दशमलव ९, व्यापार १ दशमलव ०१, माइक्रोफाइनान्स शून्य दशमलव ७१, म्युचुअल फण्ड शून्य दशमलव १४, जीवन बीमा शून्य दशमलव ९, बैंकिङ शून्य दशमलव ०८ र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०५ प्रतिशतले घटेको छ ।

आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा होटल फरेष्ट इन, रिज लाइफ इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट इन्ड्रस्ट्रीज शिखर पावर डेभलपमेन्ट रहेका छन् ।

यसदिन सिन्धु विकास बैंक ९ दशमलव ४७, भुगोल इनर्जी डेभलवमेन्ट ७ दशमलव ७९, भुजुङ्ग हाइड्रोपावर ७ दशमलव ३९, क्रेष्ट माइक्रो इन्सुरेन्स ४ दशमलव ६५ र खानी खोला हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ५ प्रतिशतले ह्रास आएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रधानमन्त्री, मन्त्री, सांसद तथा उनीहरूका स्वकीय सचिवबाट मासिक लेबी उठाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यो प्रस्ताव पारित गरेको हो । पार्टीको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ, सांसदहरूले १६ हजार ५ सय रुपैयाँ र स्वकीय सचिवहरूले २ हजार रुपैयाँ पार्टी कोषमा जम्मा गर्नुपर्ने छ ।

यसअघि नै पार्टीले सांसदहरूलाई स्वकीय सचिव राख्ने कि नराख्ने भन्ने विषयमा स्पष्ट निर्णय गरिसकेको छैन ।

पार्टीका अनुसार हाल रास्वपाका १८२ जना सांसद छन् भने १६ जना मन्त्री रहेका छन् । यो निर्णयबाट पार्टीको आर्थिक स्रोत मजबुत बनाउने लक्ष्य रहेको बुझिएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पदभार ग्रहण गरेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् ।

दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विकास निर्माणका कामलाई तीव्र बनाउने, स्रोत–साधनको प्रभावकारी व्यवस्थापन गर्ने तथा प्रदेशहरूले सामना गरिरहेका प्रशासनिक र आर्थिक समस्याबारे छलफल हुने जनाइएको छ ।

यस्तै, राष्ट्रिय प्राथमिकताका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र–प्रदेश सहकार्यलाई अझ मजबुत बनाउने विषय पनि बैठकको मुख्य एजेन्डामा रहनेछ ।

देशको आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार र सुशासन प्रवद्र्धनका विषयमा साझा समझदारी खोज्ने प्रयाससमेत बैठकमा गरिने अपेक्षा छ ।

यस बैठकलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै जनतासम्म प्रत्यक्ष लाभ पु¥याउने दिशामा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा तीन लाख दुई हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुन तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर पाँच हजार २५० रुपैयाँ पुगेको छ । बुधबार भने चाँदी पाँच हजार २२० रुपैयाँमा किनबेच भएको थियो ।

काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज (वैशाख ३) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ जारी गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकेको छ । साथै, १ लाख ७१ हजार ६०० कित्ता कर्मचारी र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइसकिएको छ ।

अब कम्पनीले बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणका लागि निष्काशन गरेको हो, जसको मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ हुन्छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति वैशाख ८ गते तोकिएको छ । सो अवधिमा पूर्ण आवेदन नपरेमा म्याद वैशाख १७ गतेसम्म थपिनेछ ।

आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

रेटिङ्गतर्फ, केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी सिंगल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका प्रभावशाली व्यक्तित्वमध्ये परेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम Time Magazine ले सार्वजनिक गरेको ‘सन् २०२६ का १०० प्रभावशाली व्यक्ति’ सूचीमा उनको नाम समावेश गरिएको हो।

टाइम म्यागजिनले उनलाई ‘नेता’ श्रेणीमा राख्दै ३६ वर्षीय शाहलाई हिप–हप पृष्ठभूमिबाट राजनीति प्रवेश गरेका र नेपालको इतिहासकै कान्छा प्रधानमन्त्रीका रूपमा चित्रण गरेको छ।

म्यागजिनका अनुसार फागुन २१ मा सम्पन्न आम निर्वाचनमा युवापुस्ताको व्यापक समर्थन र परम्परागत राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टिका कारण शाहले उल्लेखनीय विजय हासिल गरेका थिए। सिभिल इन्जिनियरिङ अध्ययन गरेका उनले काठमाडौँ महानगरपालिकाको मेयर रहँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखाएको सुधारलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने चुनौती रहेको टाइमले उल्लेख गरेको छ।

टाइमले शाहको उदयलाई दक्षिण एसियामा जरा गाडेको वंशवादी तथा परम्परागत राजनीतिविरुद्धको बलियो सन्देशका रूपमा व्याख्या गरेको छ।

यस वर्षको सूचीमा शाहसँगै विभिन्न क्षेत्रका विश्वप्रसिद्ध व्यक्तित्वहरू पनि समावेश छन्। राजनीतिक नेतृत्वतर्फ Donald Trump, Xi Jinping, Pope Leo XIV, Claudia Sheinbaum, Mark CarneyBenjamin Netanyahu जस्ता नाम समेटिएका छन्।

व्यापार तथा प्रविधि क्षेत्रमा Sundar Pichai, Michael Dell, David EllisonGwynne Shotwell पनि सूचीमा परेका छन्।

कला र मनोरञ्जनतर्फ Ranbir Kapoor, Zoe Saldaña, Dakota Johnson, Keke Palmer, Benicio del ToroLuke Combs रहेका छन्।

त्यस्तै खेलकुद क्षेत्रमा Scottie Scheffler, Hilary KnightLando Norris तथा सामाजिक सञ्जालका चर्चित व्यक्तित्व MrBeast पनि समावेश छन्। नवप्रवर्तन तथा विचार क्षेत्रमा Dario Amodei, Nikki GlaserVikas Khanna ले स्थान बनाएका छन्।

टाइममा प्रकाशित टिप्पणीमा भनिएको छ, “बालेनको उदयले केवल नेपालको नेतृत्व परिवर्तन गरेको छैन, यसले पुरानो राजनीतिक शैलीप्रति स्पष्ट अस्वीकारको संकेत पनि दिएको छ।”

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा फेरि वृद्धि गरेको छ । निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य वैशाख ३ गते (बिहीबार) राति १२ बजेदेखि लागू भएको हो ।

नयाँ समायोजनअनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । यद्यपि पेट्रोलको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

समायोजनपछि पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्गमा यसको मूल्य २३६ रुपैयाँ कायम भएको छ भने तेस्रो वर्गमा प्रतिलिटर २३७ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँबाट बढेर २५६ रुपैयाँ पुगेको छ । निगमले पटकपटक मूल्य समायोजन गरिए पनि अझै घाटामा रहेको अवस्था रहेको जनाएको छ ।

671686459_2107283073387824_6573249226107620437_n

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।