गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी गराएका हुन्।

गुरुङले आफ्नो नाम जोडिएका विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व (Conflict of Interest) नदेखियोस् भन्ने उद्देश्यले पद त्याग गरेको स्पष्ट पारेका छन्।
“मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागु हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,” उनले लेखेका छन्।
उनले पदभन्दा ठूलो नैतिकता हुने उल्लेख गर्दै जनविश्वास नै सबैभन्दा ठूलो शक्ति भएको पनि बताएका छन्।
त्यस्तै, उनले हाल देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको मागसहित उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको उल्लेख गरेका छन्।
“सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइबहिनीहरूको रगत र बलिदानको आधारमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो,” उनको भनाइ छ।
उनले अन्त्यमा आफूले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी पूरा गरेको पनि स्पष्ट पारेका छन्।











