काठमाडौं । सरकारको निर्देशनअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप्लिकेसन र वेबसाइट बन्द गरेको छ ।

प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार, अवैध रूपमा सञ्चालन भइरहेका सट्टेबाजी एप र वेबसाइट पहिचान गरी इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो । ‘पछिल्लो एक सातामा ५० भन्दा बढी गुनासा प्राप्त भएका छन्, ती सबैको छानबिन गरी कारबाही अघि बढाइएको छ,’ उनले भने ।
यो कदम मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकमा स्वीकृत शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर ४२ अनुसार गरिएको हो । उक्त बुँदामा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्न निर्देशन दिइएको थियो ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) अनुसार सट्टेबाजी गर्न वा गराउन पाइँदैन। उल्लङ्घन गरेमा रकम जफत, एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
साथै, विज्ञापन ऐन, २०६६ ले अनुमति नलिएका सट्टेबाजी वा जुवा प्रचार गर्ने विज्ञापन गर्न निषेध गरेको छ । नियम उल्लङ्घन गरेमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था छ ।
सरकारले नागरिकहरूलाई सट्टेबाजी एप तथा वेबसाइट प्रयोग नगर्न पुनः आग्रह गर्दै, शङ्कास्पद एप वा वेबसाइट भेटिएमा सम्बन्धित निकायमा जानकारी गराउन चेतावनी दिएको छ ।










