काठमाडौं । नेपालको वैदेशिक व्यापार उल्लेखनीय रूपमा बढेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) २०८२÷८३ को आठ महिनामा वस्तु तथा सेवा आयात १२.५४ प्रतिशतले वृद्धि भएको हो ।

फागुन मसान्तसम्म नेपालले १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँको आयात भएको थियो ।
यस्तै, निर्याततर्फ पनि सुधार देखिएको छ । चालू आवको आठ महिनामा निर्यात २०.८३ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ थियो ।
समग्रमा, फागुन मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । यो गत वर्षको सोही अवधिको १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँको तुलनामा १३.५५ प्रतिशतले बढी हो ।
तर, आयातको हिस्सा उच्च रहँदा व्यापार घाटा पनि बढेको छ । चालू आवको आठ महिनामा नेपालले १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँभन्दा ११.२२ प्रतिशतले बढी हो ।
आयात र निर्यात दुवै बढे पनि आयातको तुलनामा निर्यात अझै कमजोर रहँदा व्यापार घाटा बढ्दै जानु अर्थतन्त्रका लागि चुनौतीको रूपमा देखिएको छ ।








