नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै साविककै आकार र रङमा नयाँ नोट जारी गर्न लागेको जनाएको हो।

नयाँ नोटमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटको संकेत नम्बर ट/२४ ०००००१ देखि ण/३० ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ।
यसअघि २०७७ असार २२ गते जारी सूचनाअनुसार ५० रुपैयाँ दरको सिरिज २०१९ का नोटमा ज/५९ ०००००१ देखि ट/३३ ९९९९९९ सम्मका संकेत नम्बर रहने भनिएको थियो। तर उक्त सिरिजमा ज/५९ ०००००१ देखि ट/३३ ९००००० सम्मका संकेत नम्बर मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
नयाँ नोटमा मध्य भागमा नेपाल राष्ट्र बैंकबाट ५० रुपैयाँ भुक्तानी गर्ने प्रतिज्ञामूलक वाक्य उल्लेख गरिएको छ। बायाँतर्फ सगरमाथाको चित्र तथा लालीगुराँसको पानी छाप र त्यसको मुनि ५० अंकित छाप राखिएको छ।
नोटको मध्य भागमा हिउँ चितुवाको चित्र राखिएको छ भने माथिल्लो भागमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ। तल्लो भागमा अंग्रेजीमा ‘रुपिज फिप्टी’ र सिरिज नम्बर ‘२०२५ एडी’ उल्लेख गरिएको छ।
नोटमा १.२ मिलिमिटर चौडाइको कागजमा बुनिएको सुरक्षा धागो पनि राखिएको छ। नोटलाई प्रकाशतर्फ फर्काएर हेर्दा उक्त धागो पूर्ण रूपमा देखिन्छ र त्यसमा अंग्रेजीमा ‘NRB’ लेखिएको हुन्छ। तल्लो भागमा वि.सं. २०८२ को सिरिज उल्लेख गरिएको छ।
राष्ट्र बैंकले नोटलाई राष्ट्रको सम्पत्ति भन्दै यसको जतन गरेर प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।












