काठमाडौं । नेपालले आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउँदैछ । २०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेको आज ११ वर्ष पूरा भएको छ ।

२००७ सालदेखि सुरु भएका लोकतान्त्रिक आन्दोलन, २०६२/६३ को जनआन्दोलन तथा विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका आन्दोलनको पृष्ठभूमिमा संविधानसभाबाट संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी–समानुपातिक व्यवस्थासहितको संविधान जारी भएको थियो ।
तर संविधान जारी भएको ११ वर्ष पुग्दा पनि यसको पूर्ण कार्यान्वयनसँग जोडिएका केही कानुन निर्माणको काम बाँकी रहेको विषय उठ्दै आएको छ । राष्ट्रिय सभाका अध्यक्षको सन्देशमा पनि केही महत्वपूर्ण कानुन अझै बनाउन बाँकी रहेको उल्लेख छ ।
यसबीच संविधान संशोधनको बहससमेत अगाडि आएको छ । २०८२ फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांक छ । संविधानको कार्यान्वयन, सुधार र संशोधनका विषय अब राजनीतिक बहसका प्रमुख एजेन्डा बनेका छन् ।











