२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

एआई फोटोको ट्रेण्डमा लुकेको साइबर जोखिम

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा ८० को दशकको शैली झल्किने एआईबाट निर्मित तस्बिरको ट्रेण्ड तीव्र बनेको छ । केही सेकेन्डमै आफ्नो वास्तविक तस्बिरलाई फरक शैलीमा रूपान्तरण गर्न सकिने भएपछि लाखौँ प्रयोगकर्ता यस्ता फोटो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

चेरी–रातो रंग, पुरानो समयको फेसन र स्टाइलमा तयार हुने एआई फोटो हेर्दा आकर्षक देखिन्छन् । सामान्यतया केही मिनेटमै तयार हुने यस्ता तस्बिरका लागि प्रयोगकर्ताले आफ्नो फोटो एआई च्याटबटमा अपलोड गर्छन् । तर, रमाइलोका लागि गरिएको यही कामले व्यक्तिगत गोपनीयता र साइबर सुरक्षामा जोखिम निम्त्याउन सक्ने भन्दै विज्ञहरूले सावधानी अपनाउन आग्रह गरेका छन् ।

वायर्ड पत्रिकाको हालैको एक प्रतिवेदनले एआई च्याटबटमा जथाभावी फोटो अपलोड गर्दा भविष्यमा गम्भीर साइबर सुरक्षा चुनौती निम्तिन सक्ने उल्लेख गरेको छ ।

सामान्यतया एउटा फोटो एआईमा पठाउनु सामान्य कामजस्तो लाग्न सक्छ । तर, डिजिटल फोटोमा तस्बिर मात्र हुँदैन । फोटोमा मेटाडाटा पनि जोडिएको हुन सक्छ, जसबाट फोटो खिचिएको समय, प्रयोग भएको क्यामेरा तथा कतिपय अवस्थामा तस्बिर खिचिएको स्थानसमेत पत्ता लाग्न सक्छ ।

त्यसैगरी, फोटोमा देखिने व्यक्तिको अनुहार आफैंमा विशिष्ट पहिचान हो । एआई प्रणालीले फोटो विश्लेषण गर्ने क्रममा अनुहारसम्बन्धी जानकारी पनि प्रशोधन गर्न सक्छ ।

वायर्डसँग कुरा गर्दै एनवाईसी अबुधाबीकी साइबर सुरक्षा विशेषज्ञ क्रिस्टिना पोपरले एआई च्याटबटमा फोटो अपलोड गर्दा एकैपटक विभिन्न तहका सूचना संकलन हुन सक्ने बताएकी छन् । उनका अनुसार फोटोसँगै प्रयोगकर्ताको आईपी एड्रेस, डिभाइसको नाम तथा त्यससँग सम्बन्धित केही विवरणसमेत प्रणालीमा पुग्न सक्छन् ।

डिलिट गरेपछि पनि डेटा तुरुन्तै हराउँदैन

एआई च्याटबटमा फोटो अपलोड गरेपछि त्यसको प्रतिलिपि कति समयसम्म सुरक्षित रहन्छ भन्ने कुरा सम्बन्धित कम्पनीको डेटा रिटेन्सन नीतिमा निर्भर हुन्छ ।

केही सेवामा प्रयोगकर्ताले च्याट नमेटाएसम्म सामग्री सुरक्षित रहन सक्छ । च्याट डिलिट गरेपछि पनि निश्चित अवधिसम्म सर्भरमा डेटा रहन सक्ने व्यवस्था हुन्छ । उदाहरणका लागि, ओपनएआईको सेवामा डिलिट गरिएको सामग्री पनि सामान्य अवस्थामा निश्चित अवधिसम्म सुरक्षित रहन सक्छ । गुगलको जेमिनीमा पनि प्रयोगकर्ताको डेटा निश्चित अवधिसम्म राखिने व्यवस्था छ ।

यही कारण एआई च्याटबटमा फोटो अपलोड गर्दा तत्काल देखिने जोखिमभन्दा बाहिर पनि दीर्घकालीन गोपनीयताको प्रश्न उठ्ने गरेको छ ।

फोटोबाट बन्न सक्छ प्रयोगकर्ताको डिजिटल प्रोफाइल

प्रतिवेदनले एआई च्याटबटमा निरन्तर व्यक्तिगत फोटो तथा अन्य जानकारी अपलोड गर्दा प्रयोगकर्ताको रुचि, बानी, पेसा र व्यवहारसँग सम्बन्धित प्रोफाइल निर्माण हुन सक्ने सम्भावनातर्फ पनि सचेत गराएको छ ।

यस्तो जानकारी विभिन्न डिजिटल सेवा, विज्ञापन तथा अनलाइन कारोबारसँग सम्बन्धित प्रणालीमा प्रयोग हुन सक्ने भएकाले व्यक्तिगत डेटा कसरी संकलन र प्रयोग भइरहेको छ भन्ने विषय महत्वपूर्ण बन्न पुगेको छ ।

एआई प्रविधि आफैंमा जोखिमपूर्ण मात्र हो भन्ने होइन । तर, कुनै पनि एआई सेवा पूर्ण रूपमा जोखिमरहित र गोपनीय हुन्छ भन्ने मान्न पनि नहुने विज्ञहरूको सुझाव छ ।

त्यसैले सामाजिक सञ्जालमा चलिरहेको हरेक एआई ट्रेण्ड पछ्याउनुअघि आफ्नो व्यक्तिगत फोटो र संवेदनशील जानकारी कहाँ पठाइँदैछ, कम्पनीले त्यसलाई कति समयसम्म राख्छ र कसरी प्रयोग गर्छ भन्नेबारे बुझ्न आवश्यक देखिन्छ ।

अनावश्यक पुराना च्याट, फोटो तथा फाइलहरू एआई च्याटबटबाट हटाउने, संवेदनशील तस्बिर अपलोड नगर्ने र सम्बन्धित सेवाको गोपनीयता तथा डेटा रिटेन्सन नीति पढ्ने बानीले सम्भावित जोखिम कम गर्न सकिन्छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।