खोटाङको केपिलासगढी गाउँपालिका २, बालावेशीमा मंगलबार दिउँसो एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना भएको छ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले घटनामा मानवीय क्षति नभएको जानकारी दिइन्। तर दुर्घटनामा परेका एक जना यात्रु घाइते भएका छन्।
खोटाङ प्रहरीले जनाएको छ कि हेलिकप्टर नाइन एन एएचक्यु हेलिकप्टर अवतरणका क्रममा हावाको तेज गतिले अनियन्त्रित भई भित्तामा ठोक्किएको हो। हेलिकप्टरमा पाइलट सविन थापा र पाँच जना यात्रु थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट आमाको काजकिरियाका लागि आएको परिवारका पाँच जनालाई लिएर हेलिकप्टर उडेको थियो। दुर्घटनामा बालावेशीस्थित हेलिकप्टर पल्टिँदा ५० वर्षीय काजीबहादुर राई घाइते भए। उनलाई एयर डाइनेष्टिको अर्को हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ।
चालक थापा र अन्य चार यात्रु सामान्य अवस्थामा छन्।

Post Views: 54










