नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा जापानिज इन्सेफलाइटिसविरुद्धको विशेष खोप अभियान प्रभावकारी रूपमा जारी छ । अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन्, जसमा १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईंका अनुसार जिल्लाका सबै आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानमा अहिले सम्म लक्षित जनसङ्ख्याको ३१.१ प्रतिशतले खोप सेवा लिइसकेका छन् । उनका अनुसार स्थानीय तहसँगको समन्वय र सहकार्यका कारण अभियान अपेक्षाअनुसार प्रभावकारी रूपमा अघि बढिरहेको छ ।
जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालका अनुसार मध्यविन्दु नगरपालिका र बौदिकाली गाउँपालिकामा खोपको प्रगति विशेष रूपमा उच्च देखिएको छ । मध्यविन्दुमा ४९.८ प्रतिशत र बौदिकालीमा ४७ प्रतिशत नागरिकले खोप लगाइसकेका छन् ।
जिल्लामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण दर पछिल्ला वर्षमा बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्षित गर्दै यही चैत १ गतेदेखि ५ गतेसम्म खोप अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत करिब एक लाख ५० हजार नागरिकलाई खोप दिन योजना गरिएको छ । प्रमुख चापागाईंले सबै लक्षित नागरिकलाई नजिकको खोप केन्द्रमा गई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरे ।
स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा जिल्लामा इन्सेफलाइटिसका १५ सङ्क्रमित फेला परेका छन् । छ जनाको मृत्यु भइसकेको छ । यसअघि आर्थिक वर्ष २०७९/८० मा सात जनामा सङ्क्रमण पुष्टि भएकोमा पाँचको मृत्यु भएको थियो भने २०८०/८१ मा आठ जनामा सङ्क्रमण देखिएकामा एकको मृत्यु भएको थियो । स्वास्थ्यकर्मीहरूले भने अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले लक्षित उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् ।











