काठमाडौं । पश्चिम एसियामा विकसित युद्धको प्रभावका कारण रोकिएको प्रक्रिया पुनः सुचारु गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ ।

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत तथा बिदामा नेपाल आएका श्रमिकहरूले पुनः रोजगारीमा फर्किन श्रम स्वीकृति लिन पाउने भएका छन् ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, ती देशमा काम गरिरहेका र अस्थायी रूपमा नेपाल फर्किएका श्रमिकहरूलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको हो । यससँगै, रोकिएको प्रक्रिया पुनः सञ्चालनमा आएपछि विदेश फर्किन चाहने श्रमिकलाई सहज हुने मन्त्रालयको अपेक्षा छ ।
यसअघि पश्चिम एसियामा विकसित युद्धको अवस्थाका कारण श्रम स्वीकृतिसम्बन्धी सेवा अस्थायी रूपमा स्थगित गरिएको थियो ।










