काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो आठ महिनामा कैलाली भन्सार कार्यालयले साढे ५ अर्ब राजस्व संकलन गरेको छ । गत साउनदेखि फागुन मसान्तसम्मको अवधिमा भएको ५ अर्ब ४० करोड ६७ लाख रुपैयाँ संकलन कार्यालयको वार्षिक लक्ष्यको करिब ५५.६७ प्रतिशत हो ।

कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार यस अवधिमा भन्सार महसुलतर्फ २ अर्ब ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ २ अर्ब ७ करोड ५९ लाख, अन्तःशुल्कबाट १० करोड ५६ लाख र अन्य शीर्षकमा १ अर्ब २१ करोड ६६ लाख रुपैयाँ राजस्व उठेको छ । चालू आवका लागि कार्यालयलाई ९ अर्ब ७१ करोड १५ लाख राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ ।
यद्यपि, आवका कुनै पनि महिनामा लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको छैन । साउनदेखि फागुनसम्म प्रत्येक महिनामा लक्ष्यभन्दा कम संकलन भएको तथ्यांकले देखाउँछ । फागुन महिनामा भने लक्ष्यसँग नजिक पुग्दै ७६ करोड ४४ लाख उठाइएको छ, जुन सो महिनाको लक्ष्यभन्दा झण्डै ७० लाखले कम हो ।
यसअघि पनि कार्यालयले लक्ष्यअनुसार उपलब्धि हासिल गर्न सकेको थिएन । गत आव २०८१/८२ मा ११ अर्ब १६ करोड २६ लाख राजस्व संलन गर्ने लक्ष्य राखिए पनि वास्तविक संकलन ८ अर्ब ६६ करोड ९८ लाखमा सीमित भएको थियो, जुन लक्ष्यको करिब ७७.६७ प्रतिशत मात्रै हो ।











