काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पत्रको आधारमा भट्टलाई नियन्त्रणमा लिइएको हो । मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी उजुरी दिएपछि सोही आधारमा भट्टलाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले भट्टलाई साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिएको छ । केही दिनअघि सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूबाट पाँच लाख रुपैयाँ घुस मागेको र रकम नदिएपछि पूर्वाग्रह राखेर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए ।
सो अभिव्यक्ति सार्वजनिक भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले भट्टलाई पत्र पठाउँदै मुख्यमन्त्रीविरुद्ध सार्वजनिक रूपमा दिएको भनाइ निजामती कर्मचारीको आचरणअनुकूल नभएको उल्लेख गर्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएका थिए ।
मन्त्रालयले भट्टको अभिव्यक्तिलाई निराधार, कपोलकल्पित तथा चरित्रहत्या गर्ने उद्देश्यले दिएको दाबी गरेको थियो । यसअघि पनि भट्टले विभिन्न व्यक्तिहरूमाथि विवादास्पद आरोप लगाउँदै आएको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
चित्तबुझ्दो स्पष्टीकरण नआए कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको थियो। उता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमार्फत आफूविरुद्ध लगाइएको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्दै भट्टमाथि कानुनी कारबाहीको माग गरेका थिए।











