काठमाडौं । इजरायल र इरानबीच जारी युद्धमा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग भएको तथ्य सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आधुनिक प्रविधिको प्रयोगले युद्ध सञ्चालनको शैली नै परिवर्तन गरिरहेको हो ।

अमेरिकी पत्रिका वासिङ्टन पोस्टको रिपोर्ट अनुसार युद्ध सुरु भएको पहिलो २४ घण्टाभित्रै अमेरिकी सेनाले करिब १ हजार सम्भावित लक्ष्यमा आक्रमण गर्न एआई प्रणालीको सहयोग लिएको उल्लेख गरिएको छ । यसले युद्धको रणनीति निर्माण र लक्ष्य पहिचानमा प्रविधिको भूमिका बढ्दो देखाएको छ ।
त्यस्तै एनबीसी न्युजले जनाएअनुसार अमेरिकी सेनाले प्यालान्टिर कम्पनीको एआई प्रविधि प्रयोग गरेर आक्रमणका लक्ष्य पहिचान गरिरहेको छ । उक्त प्रणाली आंशिक रूपमा एन्थ्रोपिक कम्पनीले विकास गरेको ‘क्लड’ मोडेलमा आधारित रहेको बताइएको छ । हालसम्म युद्धका क्रममा ५ हजार ५ सयभन्दा बढी लक्ष्यमा आक्रमण भइसकेको जानकारी सार्वजनिक भएको छ ।
सैन्य अधिकारीहरूका अनुसार एआई प्रणालीले विशाल तथ्याङ्क विश्लेषण गरेर सम्भावित लक्ष्य पहिचान गर्न सहयोग गर्छ भने अन्तिम निर्णय भने मानव कमान्डरले नै गर्ने दाबी गरिएको छ । तर यो दाबीलाई लिएर विभिन्न क्षेत्रबाट प्रश्न उठिरहेका छन् ।
विशेषज्ञहरूले मिनाब शहरस्थित एक बालिका विद्यालयमा भएको मिसाइल आक्रमण, जसमा १ सय ६५ जनाको ज्यान गएको थियो, त्यसमा प्रयोग गरिएको एआई प्रणालीले पुरानो वा गलत डाटा प्रयोग गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
यसैबीच एन्थ्रोपिक कम्पनीले आफ्नो एआई मोडेल स्वायत्त हतियार प्रणालीमा प्रयोग नगर्ने नीति दोहोर्याएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले कम्पनीलाई कालोसूचीमा राखेको बताइएको छ । सो निर्णयविरुद्ध कम्पनीले अदालतमा मुद्दा दायर गरेको छ ।
युद्धमा एआई प्रविधिको प्रयोग बढेसँगै सैन्य क्षेत्रमा यसको अपरिहार्यता र निर्दोष नागरिकमाथि पर्ने सम्भावित जोखिमबारे विश्वव्यापी बहस चर्किंदै गएको छ ।











