काठमाडौं । बाढीबाट प्रभावित नेपालका लागि विश्व बैंकले १७ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ । यो रकम करिब २५ अर्ब नेपाली रुपैयाँ बराबर हुने अर्थ मन्त्रालयले जनाएको हो ।

विश्व बैंकबाट प्राप्त हुने सहयोगमध्ये एक करोड अमेरिकी डलर भने तत्काल राहत तथा पुनःस्थापनाका काममा खर्च गर्न सकिने गरी परिचालन गरिनेछ । उक्त रकम ‘र्यापिड रेस्पोन्स अपरेसन’मार्फत तत्काल परिचालन गर्ने तयारी छ ।
तर विश्व बैंकको सहयोग प्राप्त गर्न सरकारले केही औपचारिक प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसका लागि सरकारले संकटकाल घोषणा गरी त्यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्नुपर्नेछ ।
राजपत्रमा सूचना प्रकाशित भएपछि विश्व बैंकले आपत्कालीन सहयोग परिचालनको प्रक्रिया अघि बढाउनेछ । यसबाट बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनःस्थापनाका लागि आवश्यक स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ ।
विश्व बैंकको कुल १७ करोड डलर सहयोगमध्ये तत्काल राहतका लागि छुट्याइएको एक करोड डलर आपत्कालीन आवश्यकता सम्बोधनमा केन्द्रित हुनेछ भने बाँकी सहयोगको परिचालन सम्बन्धित प्रक्रिया र आवश्यकताअनुसार हुनेछ ।











