२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । रसुवामा आएको बाढीपछि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेका छन् । सरकारले बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलाई तीव्रता दिइरहेको जनाएको हो ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म १६५ जनाको शव फेला परिसकेको छ भने ८२६ जना अझै सम्पर्कविहीन छन् ।

सम्पर्कविहीनमध्ये ४४ जना नेपाली सेना, २८ जना नेपाल प्रहरी, १३ जना सशस्त्र प्रहरी र ५७९ जना पर्यटक रहेका छन् । यस्तै, रसुवाका १६१ जना र नुवाकोटका एक जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

बाढीपछि गोसाइँकुण्डसहित रसुवा र नुवाकोट क्षेत्रमा घुम्न पुगेका व्यक्तिहरूको समेत अवस्था यकिन हुन सकेको छैन । स्थानीय बासिन्दा, यात्रु, चालक–सहचालक, व्यापारी तथा निजी कम्पनीमा कार्यरत कर्मचारीहरू पनि सम्पर्कविहीनको सूचीमा छन् ।

टेलिफोन तथा सञ्चार सेवा अवरुद्ध भएका कारण सम्पर्क हुन नसकेका कतिपय व्यक्तिको अवस्था भने अझै स्पष्ट हुन सकेको छैन । यसले सम्पर्कविहीनको वास्तविक संख्या यकिन गर्नसमेत कठिनाइ भइरहेको छ ।

यसबीच, सम्पर्कविहीन आफ्ना परिवारका सदस्य तथा आफन्तको खोजी र उद्धारलाई प्राथमिकता दिन परिवारजनले सरकारसँग आग्रह गरेका छन् ।

बाढीमा घाइते भएका ७३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उद्धार अभियानका क्रममा अहिलेसम्म २३९ जनालाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

रसुवा बाढीपछि खोजी तथा उद्धार अभियान निरन्तर जारी रहेको छ । पछिल्ला विवरणहरूले प्रभावित क्षेत्रमा अझै ठूलो संख्यामा मानिसको अवस्था यकिन हुन बाँकी रहेको देखाएका छन् ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तहका विभिन्न कार्यक्रमका लागि आज तय गरिएका नियमित परीक्षा स्थगित भएका छन् ।

व्यवस्थापन संकायको डिन कार्यालयले सूचना जारी गर्दै बाढीका कारण उत्पन्न असहज तथा प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गर्ने निर्णय गरिएको जनाएको हो ।

स्थगित हुने परीक्षामा एमबिएस, एमपिए, एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र एमएटिएस कार्यक्रमअन्तर्गतका परीक्षा रहेका छन् ।

सङ्कायका अनुसार स्थगित परीक्षाको नयाँ मिति र संशोधित परीक्षा तालिका पछि प्रकाशित गरिनेछ ।

यसैबीच, त्रिवि व्यवस्थापन संकायले नुवाकोटस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा आज सञ्चालन हुने भनिएको एमबिएसतर्फको ‘व्यवस्थापन ५२२ः अन्तरराष्ट्रिय व्यवसाय’ विषयको परीक्षा पनि प्राकृतिक विपत्तिका कारण स्थगित गरिसकेको छ ।

बाढी तथा प्राकृतिक विपत्तिका कारण यातायात र आवागमनमा परेको प्रभावलाई ध्यानमा राख्दै परीक्षा स्थगित गरिएको त्रिविले जनाएको छ ।

काठमाडौं । बाढीबाट प्रभावित नेपालका लागि विश्व बैंकले १७ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ । यो रकम करिब २५ अर्ब नेपाली रुपैयाँ बराबर हुने अर्थ मन्त्रालयले जनाएको हो ।

विश्व बैंकबाट प्राप्त हुने सहयोगमध्ये एक करोड अमेरिकी डलर भने तत्काल राहत तथा पुनःस्थापनाका काममा खर्च गर्न सकिने गरी परिचालन गरिनेछ । उक्त रकम ‘र्‍यापिड रेस्पोन्स अपरेसन’मार्फत तत्काल परिचालन गर्ने तयारी छ ।

तर विश्व बैंकको सहयोग प्राप्त गर्न सरकारले केही औपचारिक प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसका लागि सरकारले संकटकाल घोषणा गरी त्यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्नुपर्नेछ ।

राजपत्रमा सूचना प्रकाशित भएपछि विश्व बैंकले आपत्कालीन सहयोग परिचालनको प्रक्रिया अघि बढाउनेछ । यसबाट बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनःस्थापनाका लागि आवश्यक स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ ।

विश्व बैंकको कुल १७ करोड डलर सहयोगमध्ये तत्काल राहतका लागि छुट्याइएको एक करोड डलर आपत्कालीन आवश्यकता सम्बोधनमा केन्द्रित हुनेछ भने बाँकी सहयोगको परिचालन सम्बन्धित प्रक्रिया र आवश्यकताअनुसार हुनेछ ।

काठमाडौं । हिजो भोटेकोसी नदीमा आएको बाढीपछि अहिले भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल झरेको छ । यद्यपि, आगामी दिनमा जलसतह बढ्न सक्ने पूर्वानुमान रहेकाले नदी आसपासका क्षेत्रमा अझै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

महाशाखाले आज बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली र महाकालीसहित तिनका सहायक नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल छ । कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको अवस्था पनि सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।

तर आगामी तीन दिन देशका केही प्रमुख नदीमा जलसतह उल्लेख्य बढ्ने सम्भावना छ । सुनकोसी, नारायणी, त्रिशूली, बुढीगण्डकी, मस्र्याङ्दी, सेती, कालीगण्डकी र भेरी नदीमा आजदेखि पर्सीसम्म पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।

यस्तै सप्तकोसी, तमोर, अरुण, दूधकोसी, तामाकोसी, कर्णाली, पश्चिम सेती, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती तथा बबई नदीमा भने जलसतह सामान्य रूपमा बढ्ने अनुमान छ ।

यसबीच आज देशका विभिन्न जिल्लामा रहेका साना नदी तथा खोलाहरूमा भने आकस्मिक बाढीको जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ । रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ र कास्कीका साना नदीमा बहाव उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ ।

स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख र सुर्खेतलगायत क्षेत्रमा पनि साना नदीको बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार भोलि र पर्सी गण्डकी तथा लुम्बिनी प्रदेशका केही साना नदीमा पानीको बहाव अचानक बढ्न सक्ने सम्भावना छ । त्यसैले नदी तथा खोला आसपासका बासिन्दा, यात्रु र पूर्वाधार निर्माण तथा अन्य काममा संलग्न व्यक्तिलाई मौसम र बाढीसम्बन्धी सूचना निरन्तर हेर्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।