काठमाडौं । अमेरिका र क्यानडाबीचको व्यापार वार्ता भंग भएपछि दुई देशबीच व्यापार तनाव थप चर्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले अमेरिकाको राज्य बनेबिनै राज्यसरहका सुविधा लिन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार भएको वार्ता निष्कर्षविहीन भएपछि अमेरिकाले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा थप ५० प्रतिशत भन्सार लगाउने घोषणा गरेको छ । ट्रम्पले लामो समयदेखि अमेरिकी किसानमाथि क्यानडाले ठूलो मात्रामा भन्सार लगाउँदै आएको दाबीसमेत गरेका छन् ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने अमेरिकी कदमलाई ‘गलत निर्णय’ भन्दै त्यसले क्यानडालाई कमजोर बनाउने र विभाजन गर्ने प्रयास भएको बताएका छन् । उनले आगामी सेप्टेम्बर ८ देखि अमेरिकाले लगाएको भन्सारको बराबर अर्थात् ‘डलर–फर–डलर’ जवाफी भन्सार लगाउने घोषणा गरेका छन् ।
क्यानडाले स्टिल, दुग्धजन्य पदार्थ, विद्युतीय उपकरण र इलेक्ट्रोनिक्सलगायत वस्तुमा अमेरिकी सामानमाथि जवाफी कर लगाउने तयारी गरेको छ । कार्नीले अहिले अमेरिका र क्यानडा व्यापार युद्धको अवस्थामा पुगेको बताएका छन् ।
वार्ता भंग हुनुको कारणबारे दुवै देशले एकअर्कालाई दोष दिएका छन् । कार्नीका अनुसार अमेरिकाले क्यानडासामु स्वीकार गर्न नसकिने र अत्यधिक प्रतिबन्धात्मक प्रस्ताव राखेको थियो । अमेरिकी पक्षले भने क्यानडाले अन्तिम समयमा नयाँ माग थपेको आरोप लगाएको छ ।
नयाँ अमेरिकी ५० प्रतिशत भन्सार क्यानडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा लागू हुनेछ । यसअन्तर्गत मदिरा, दुग्धजन्य पदार्थ, सिमेन्ट, कपडा र हकी खेलका सामग्रीलगायत वस्तु पर्नेछन् । यसअघि नै अमेरिका क्यानडाको स्टिल, आल्मुनियम, गाडी र काठमा विभिन्न भन्सार लगाउँदै आएको छ ।
कार्नीले क्यानडाले आफ्नो आर्थिक हितको रक्षा गर्न बाध्य भएर जवाफी कदम चाल्न लागेको बताएका छन् । क्यानडाका विभिन्न राजनीतिक दल तथा प्रान्तीय सरकारका प्रमुखहरूले पनि सरकारको कदमलाई समर्थन गरेका छन् ।
अमेरिका र क्यानडाबीचको व्यापार सम्बन्ध निकै गहिरो छ । दुवै देश लामो समयदेखि व्यापारिक रूपमा एकअर्कामा निर्भर छन् । पछिल्लो विवादले दुई देशबीचको व्यापार सम्बन्धमा थप असर पार्ने चिन्ता बढेको छ ।

यसअघि अमेरिका, क्यानडा र मेक्सिकोबीचको उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (यूएसएमसीए)को पुनरावलोकनसमेत भइरहेको थियो । उक्त सम्झौताले तीन देशबीच वार्षिक करिब १.६ ट्रिलियन डलर बराबरको व्यापारलाई आधार दिएको छ ।
क्यानडा र मेक्सिकोले सम्झौता थप १६ वर्षका लागि नवीकरण गर्न आग्रह गरे पनि अमेरिकाले हालकै स्वरूपमा नवीकरण गर्न अस्वीकार गरेको छ । व्यापार वार्ता भंग भएपछि उक्त सम्झौताको भविष्यसमेत अनिश्चित बनेको प्रधानमन्त्री कार्नीले बताएका छन् ।










