
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गलाई ‘अमेरिकी भूभाग’का रूपमा दाबी गरेपछि अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ ।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत होर्मुज जलमार्गको नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘नयाँ अमेरिकी भूभाग’का रूपमा प्रस्तुत गरेका हुन् । इरानले अमेरिकी नीति परिवर्तन नभएसम्म जलमार्ग बन्द राख्ने अडान दोहो¥याइरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो ।
यसअघि अगस्ट १४ मा लङ आइल्यान्डस्थित प्रहरी एकेडेमीमा आयोजित कार्यक्रममा ट्रम्पले होर्मुज जलमार्गलाई छिट्टै अमेरिकी भूभाग घोषणा गर्ने संकेत दिएका थिए । त्यसको केही दिनपछि अगस्ट १८ मा उनले सोही क्षेत्रको नक्सा सामाजिक सञ्जालमा सेयर गरेका थिए ।
इरानको प्रतिवाद
ट्रम्पको दाबीप्रति इरानले तत्काल आपत्ति जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकाले होर्मुज जलमार्ग आफ्नो नियन्त्रणमा लिन वा जबर्जस्ती खुलाउन नसक्ने बताएका छन् ।
उनले वासिङ्टन र होर्मुज जलमार्गबीचको दूरी नै सात हजार माइलभन्दा बढी रहेको उल्लेख गर्दै अमेरिकी दाबीको औचित्यमाथि प्रश्न उठाएका छन् ।
यसैबीच अमेरिकाले इरानमाथि थप कडा आर्थिक दबाब बढाउने तयारी गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानविरुद्ध ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने तयारी गरिरहेको बताइएको छ । अमेरिकाले इरानी तेलको प्रमुख खरिदकर्ता चीनलाई समेत प्रतिबन्ध कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ ।
तर इरानले प्रस्तावित प्रतिबन्धलाई अन्तर्राष्ट्रिय कानुनविपरीत भन्दै अस्वीकार गरेको छ । इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकी प्रतिबन्धलाई अन्य स्वतन्त्र राष्ट्रमाथि अमेरिकी क्षेत्राधिकार थोपर्ने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
बाघेईले इरानका छिमेकी राष्ट्रहरूलाई समेत चेतावनी दिँदै अमेरिकाको आर्थिक युद्धमा सहभागी हुने मुलुकलाई इरानले ‘शत्रु’का रूपमा व्यवहार गर्ने बताएका छन् ।
होर्मुज जलमार्ग विश्वको महत्वपूर्ण ऊर्जा व्यापारिक मार्गमध्ये एक भएकाले यसको तनावले अमेरिका–इरान सम्बन्धमा मात्र नभई अन्तर्राष्ट्रिय ऊर्जा बजार र क्षेत्रीय सुरक्षामा समेत असर पार्न सक्ने चिन्ता बढेको छ ।

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभामा विश्वासको मत लिनुअघि नेपाली कांग्रेसले उनको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले भदौ ८ गते सोमबार बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री थापामगरले पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेका हुन् ।
दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची छ । कांग्रेसले आफ्ना सांसदलाई तटस्थ नबस्नसमेत निर्देशन दिएको छ ।
प्रमुख सचेतक महर्जनद्वारा जारी पत्रमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापामगरले पेस गर्ने प्रस्तावको विपक्षमा मतदान गर्न भनिएको छ ।
मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
यसअघि गत बिहीबार एमाले, नेकपा र राप्रपाको समर्थनमा सरकार गठनका लागि दाबी गरेका थापा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सोही दिन पद तथा गोपनीयताको शपथ लिएका थिए। त्यसपछि उनले सात सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
अब मुख्यमन्त्री थापामगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक प्रक्रिया पूरा गर्नुपर्नेछ । कांग्रेसले भने उनलाई विश्वासको मत नदिने निर्णयसहित आफ्ना सांसदलाई ह्विप जारी गरेको हो ।

काठमाडौं । अमेरिका र क्यानडाबीचको व्यापार वार्ता भंग भएपछि दुई देशबीच व्यापार तनाव थप चर्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले अमेरिकाको राज्य बनेबिनै राज्यसरहका सुविधा लिन खोजेको आरोप लगाएका छन् ।
शुक्रबार भएको वार्ता निष्कर्षविहीन भएपछि अमेरिकाले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा थप ५० प्रतिशत भन्सार लगाउने घोषणा गरेको छ । ट्रम्पले लामो समयदेखि अमेरिकी किसानमाथि क्यानडाले ठूलो मात्रामा भन्सार लगाउँदै आएको दाबीसमेत गरेका छन् ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने अमेरिकी कदमलाई ‘गलत निर्णय’ भन्दै त्यसले क्यानडालाई कमजोर बनाउने र विभाजन गर्ने प्रयास भएको बताएका छन् । उनले आगामी सेप्टेम्बर ८ देखि अमेरिकाले लगाएको भन्सारको बराबर अर्थात् ‘डलर–फर–डलर’ जवाफी भन्सार लगाउने घोषणा गरेका छन् ।
क्यानडाले स्टिल, दुग्धजन्य पदार्थ, विद्युतीय उपकरण र इलेक्ट्रोनिक्सलगायत वस्तुमा अमेरिकी सामानमाथि जवाफी कर लगाउने तयारी गरेको छ । कार्नीले अहिले अमेरिका र क्यानडा व्यापार युद्धको अवस्थामा पुगेको बताएका छन् ।
वार्ता भंग हुनुको कारणबारे दुवै देशले एकअर्कालाई दोष दिएका छन् । कार्नीका अनुसार अमेरिकाले क्यानडासामु स्वीकार गर्न नसकिने र अत्यधिक प्रतिबन्धात्मक प्रस्ताव राखेको थियो । अमेरिकी पक्षले भने क्यानडाले अन्तिम समयमा नयाँ माग थपेको आरोप लगाएको छ ।
नयाँ अमेरिकी ५० प्रतिशत भन्सार क्यानडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा लागू हुनेछ । यसअन्तर्गत मदिरा, दुग्धजन्य पदार्थ, सिमेन्ट, कपडा र हकी खेलका सामग्रीलगायत वस्तु पर्नेछन् । यसअघि नै अमेरिका क्यानडाको स्टिल, आल्मुनियम, गाडी र काठमा विभिन्न भन्सार लगाउँदै आएको छ ।
कार्नीले क्यानडाले आफ्नो आर्थिक हितको रक्षा गर्न बाध्य भएर जवाफी कदम चाल्न लागेको बताएका छन् । क्यानडाका विभिन्न राजनीतिक दल तथा प्रान्तीय सरकारका प्रमुखहरूले पनि सरकारको कदमलाई समर्थन गरेका छन् ।
अमेरिका र क्यानडाबीचको व्यापार सम्बन्ध निकै गहिरो छ । दुवै देश लामो समयदेखि व्यापारिक रूपमा एकअर्कामा निर्भर छन् । पछिल्लो विवादले दुई देशबीचको व्यापार सम्बन्धमा थप असर पार्ने चिन्ता बढेको छ ।
यसअघि अमेरिका, क्यानडा र मेक्सिकोबीचको उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (यूएसएमसीए)को पुनरावलोकनसमेत भइरहेको थियो । उक्त सम्झौताले तीन देशबीच वार्षिक करिब १.६ ट्रिलियन डलर बराबरको व्यापारलाई आधार दिएको छ ।
क्यानडा र मेक्सिकोले सम्झौता थप १६ वर्षका लागि नवीकरण गर्न आग्रह गरे पनि अमेरिकाले हालकै स्वरूपमा नवीकरण गर्न अस्वीकार गरेको छ । व्यापार वार्ता भंग भएपछि उक्त सम्झौताको भविष्यसमेत अनिश्चित बनेको प्रधानमन्त्री कार्नीले बताएका छन् ।
काठमाडौं । चालू वर्ष देशभर धान रोपाइँको काम तीव्र गतिमा अघि बढेको छ । कृषि विभागका अनुसार धानखेतीका लागि योग्य कुल क्षेत्रफलको ९८ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ ।
विभागको पछिल्लो तथ्याङ्कअनुसार देशभर १३ लाख ४१ हजार ७ सय ६४ हेक्टर क्षेत्रफलमा धान रोपिसकिएको छ । गत वर्षको यही अवधिमा ९६.०८ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको थियो । यस वर्ष गत वर्षको तुलनामा रोपाइँको दर करिब २ प्रतिशतले बढेको हो ।
प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेश धान रोपाइँमा सबैभन्दा अगाडि देखिएको छ । प्रदेशमा धानखेती हुने १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमै रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।
कर्णालीमा ९८.५० प्रतिशत, मधेशमा ९८.१० प्रतिशत र लुम्बिनीमा ९७.८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । विशेषगरी मधेश प्रदेशमा यस वर्ष रोपाइँको गति उल्लेख्य रूपमा बढेको छ । गत वर्षको यही अवधिमा मधेशमा ८६.३५ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।
त्यस्तै, बागमती प्रदेशमा ९७.८२ प्रतिशत, कोशीमा ९७ प्रतिशत र गण्डकीमा ९६.६८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
समयमै मनसुन सक्रिय हुनु तथा कृषि प्रसारका गतिविधि प्रभावकारी रूपमा सञ्चालन हुनुले यस वर्ष धान रोपाइँको गति बढाउन सहयोग पुगेको कृषि विभागको भनाइ छ । समयमै रोपाइँ सम्पन्न भइरहेकाले यसले धान उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
बारा । कलैया उपमहानगरपालिका–१ कट्टीपर्साकी दुई वर्षीया बालिका विन्दी मण्डल हराएको करिब १२ घण्टापछि सकुशल फेला परेकी छन् ।
शनिबार साँझ करिब ५ः३० बजे घरअगाडि खेलिरहेकी विन्दी अचानक सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरी, परिवारका सदस्य तथा स्थानीयवासीले रातभर बालिकाको खोजी गरेका थिए ।
आइतबार बिहान करिब ५ बजे कलैया उपमहानगरपालिका–२६ सिसवा महेशपुरमा सडक किनारमा रोइरहेको अवस्थामा स्थानीयवासीले बालिकालाई फेला पारेका हुन् । स्थानीय महिला सल्मा नेशाले बालिका देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मिनबहादुर घलेका अनुसार बालिका आफ्नै घरबाट करिब एक किलोमिटर उत्तरतर्फ सकुशल फेला परेकी हुन् ।
बालिका हराएको जानकारी पाएलगत्तै सम्भावित स्थानमा खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो । खोजीमा नेपाली सेना र सशस्त्र प्रहरीको समेत सहयोग लिइएको डीएसपी घलेले बताए ।
उद्धारपछि बालिकालाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनको अवस्था सामान्य रहेको पाइएपछि प्रहरीले बालिकालाई परिवारको जिम्मा लगाएको छ ।
बालिका घरबाट कसरी करिब एक किलोमिटर टाढा पुगिन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।





