काठमाडौं । श्रीलंकाका चिकित्सकहरूले एक ५५ वर्षीय पुरुषको मूत्रथैलीबाट ३.१ किलोग्राम तौलको विशाल ढुंगा शल्यक्रियामार्फत निकालेका छन् । चिकित्सकहरूका अनुसार यो शल्यक्रियाबाट निकालिएको अहिलेसम्मकै ठूलो मूत्रथैलीको ढुंगा हुन सक्ने दाबी गरिएको छ ।

त्रिन्कोमालीस्थित अस्पतालमा गत साता गरिएको शल्यक्रियाका क्रममा उक्त ढुंगा निकालिएको हो । स्ट्रोकपछि अस्पताल भर्ना भएका ती पुरुषलाई पिसाब फेर्न समस्या देखिएपछि चिकित्सकहरूले थप परीक्षण गरेका थिए। परीक्षणका क्रममा उनको मूत्रथैलीमा ठूलो ढुंगा रहेको पत्ता लागेको थियो ।
शल्यक्रियाबाट निकालिएको ढुंगा करिब १७ सेन्टिमिटर लामो रहेको चिकित्सकहरूले बताएका छन् । यसको तौल भने पूरा विकसित शिशुको तौलसँग मिल्दोजुल्दो रहेको बताइएको छ ।
शल्यक्रियाको नेतृत्व गरेका डा. प्रहलाहन बालकृष्णनले उपलब्ध अभिलेखका आधारमा यो शल्यक्रियामार्फत निकालिएको सबैभन्दा ठूलो मूत्रथैलीको ढुंगा भएको बताएका छन् । उनका अनुसार बिरामीको अवस्था अहिले निकै राम्रो छ। उनी अन्य स्वास्थ्य समस्याको उपचारका लागि अस्पतालमै छन् ।
चिकित्सकहरूले ढुंगा बिरामीको मूत्रथैलीमा करिब ५ देखि १० वर्षसम्म विकसित भएको हुन सक्ने अनुमान गरेका छन् । मूत्रमा रहेका खनिज पदार्थ क्रमशः क्रिस्टलमा परिणत भएर जम्मा हुँदै गएपछि मूत्रथैलीमा ढुंगा बन्ने गर्छ ।
मूत्रथैली पूर्ण रूपमा खाली हुन नसक्दा पिसाब गाढा हुने र त्यसबाट क्रिस्टल बन्ने सम्भावना बढ्छ । साना ढुंगा पिसाबसँगै आफैँ बाहिर निस्कन सक्छन् । तर एक सेन्टिमिटरभन्दा ठूला ढुंगाले पिसाबको प्रवाहमा अवरोध सिर्जना गर्न सक्ने भएकाले उपचार आवश्यक पर्न सक्छ । चार सेन्टिमिटरभन्दा ठूलो मूत्रथैलीको ढुंगालाई चिकित्सकीय रूपमा विशाल ढुंगा मानिन्छ ।
गिनिज वल्र्ड रेकड्र्सका अनुसार यसअघि सन् २००३ मा ब्राजिलका एक बिरामीको मूत्रथैलीबाट निकालिएको १.९ किलोग्राम तौल र १७.९ सेन्टिमिटर लम्बाइको ढुंगा सबैभन्दा ठूलोका रूपमा अभिलेखित थियो । श्रीलंकामा निकालिएको नयाँ ढुंगा तौलमा त्यसभन्दा करिब १.२ किलोग्राम बढी भए पनि लम्बाइ भने केही कम रहेको छ ।











