
काठमाडौं । नेपालमा स्मार्टफोनको आयात बढ्दो क्रममा देखिएको छ । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै ३ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ बराबरका स्मार्टफोन नेपाल भित्रिएका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार साउनमा १ लाख ६९ हजार १८५ थान स्मार्टफोन आयात भएका हुन् । उक्त आयातबाट सरकारले ७२ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
एक महिनाको अवधिमै ठूलो मूल्य बराबरका स्मार्टफोन आयात हुनुले नेपालमा मोबाइल फोनको बजार तथा प्रयोगको विस्तारलाई समेत संकेत गरेको छ । पछिल्लो समय मोबाइल फोन सञ्चारसँगै इन्टरनेट, डिजिटल भुक्तानी, सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन सेवाको पहुँचका लागि प्रमुख साधन बन्दै गएको छ ।
स्मार्टफोनको माग बढेसँगै यसको आयातबाट सरकारको राजस्वमा समेत उल्लेख्य योगदान पुग्दै आएको छ ।
काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार आयातसँगै निर्यातमा पनि उच्च वृद्धि हुँदा महिनाभरि नेपालको कुल वैदेशिक व्यापार दुई खर्ब रुपैयाँभन्दा माथि पुगेको हो ।
साउनमा नेपालले एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ बराबरका वस्तु विदेशबाट आयात गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को साउनमा एक खर्ब ४३ अर्ब ४० करोड ६९ लाख रुपैयाँको आयात भएको थियो । यस आधारमा एक वर्षमा आयात ३१.०४ प्रतिशतले बढेको छ ।
यस अवधिमा निर्यातको वृद्धिदर भने आयातभन्दा झण्डै दोब्बर देखिएको छ । साउनमा नेपालबाट ३८ अर्ब ७० करोड ४४ लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन् । गत वर्षको सोही महिनामा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँको निर्यात भएकोमा यस वर्ष निर्यात ६१.७२ प्रतिशतले बढेको हो ।
निर्यातमा उल्लेख्य सुधार देखिए पनि नेपालको वैदेशिक व्यापार अझै आयातमुखी रहेको तथ्यांकले देखाएको छ । आयातको तुलनामा निर्यातको परिमाण निकै कम रहेकाले साउनमा मात्रै व्यापार घाटा एक खर्ब ४८ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
गत वर्षको साउनमा व्यापार घाटा एक खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ थियो। यस वर्ष घाटा २४.८८ प्रतिशतले बढेको हो ।
आयात र निर्यात दुवै जोड्दा साउनमा नेपालको कुल वैदेशिक व्यापार दुई खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कुल व्यापार एक खर्ब ६६ अर्ब ९७ करोड १० लाख रुपैयाँ रहेकामा यस वर्ष ३५.४४ प्रतिशतले वृद्धि भएको हो ।
यद्यपि, कुल वैदेशिक व्यापारमा नेपालको निर्यात हिस्सा भने बढेको छ । गत वर्ष साउनमा कुल व्यापारमा निर्यातको हिस्सा १४.३३ प्रतिशत रहेकामा चालू आर्थिक वर्षको पहिलो महिनामा यो बढेर १७.११ प्रतिशत पुगेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुर–२ का सांसद जगदीश खरेललाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ ।
शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले खरेललाई प्रवक्ता मनोनयन गर्ने निर्णय गरेको हो ।
खरेल ललितपुर–२ बाट निर्वाचित सांसद हुन् । उनी निर्वाचनका क्रममा रास्वपामा आबद्ध भएका थिए । पार्टीले पछिल्लो बैठकमार्फत प्रवक्तासहित विभिन्न पदाधिकारी तथा सांगठनिक जिम्मेवारीसमेत टुंगो लगाएको छ ।
काठमाडौं । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तहका स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको नियमित उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।
मन्त्रालयले आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापनसम्बन्धी विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहमा पठाएको हो ।
स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा वर्षभरि औषधिको अभाव हुन नदिन सम्बन्धित तहको जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन गर्न मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य संस्थाबाट सेवाग्राहीलाई निःशुल्क औषधि वितरण हुने भएकाले आवश्यक औषधिको पर्याप्त मौज्दात कायम राख्न पनि स्थानीय तहलाई भनिएको छ ।
मन्त्रालयले पठाएको विवरणमा आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न प्रकारका औषधिका साथै स्वास्थ्य संस्थामा प्रयोग हुने मेडिकल सामग्रीको विस्तृत सूची समावेश गरिएको छ ।
स्थानीय तहले आफ्नो मातहतका स्वास्थ्य संस्थाको आवश्यकता पहिचान गरी औषधि खरिद, भण्डारण र वितरणलाई व्यवस्थित गर्नुपर्नेछ । औषधिको उपलब्धता नियमित बनाउँदै सेवाग्राहीले निःशुल्क औषधि सहज रूपमा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नु स्थानीय तहको जिम्मेवारी हुने मन्त्रालयले जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । देउवा पक्षले महाधिवेशनका गतिविधि तत्काल रोक्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेको हो ।
रिटमा निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई दिएको मान्यता बदर गर्न पनि माग गरिएको छ । सर्वोच्च अदालतले यसअघि विशेष महाधिवेशन तथा आयोगको निर्णयलाई सदर गरेको फैसलामाथि पुनरवलोकनको अनुमति दिइसकेको अवस्थालाई आधार बनाउँदै देउवा पक्षले महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने जिकिर गरेको छ ।
देउवा पक्षको मागअनुसार सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा कांग्रेसको १५औँ महाधिवेशनसँग सम्बन्धित जारी गतिविधि तत्काल प्रभावित हुनेछन् । हाल कांग्रेसभित्र महाधिवेशनको वैधानिकता, नेतृत्व र पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतसम्म पुगेपछि महाधिवेशन प्रक्रिया थप पेचिलो बनेको छ ।
काठमाडौं । श्रीलंकाका चिकित्सकहरूले एक ५५ वर्षीय पुरुषको मूत्रथैलीबाट ३.१ किलोग्राम तौलको विशाल ढुंगा शल्यक्रियामार्फत निकालेका छन् । चिकित्सकहरूका अनुसार यो शल्यक्रियाबाट निकालिएको अहिलेसम्मकै ठूलो मूत्रथैलीको ढुंगा हुन सक्ने दाबी गरिएको छ ।
त्रिन्कोमालीस्थित अस्पतालमा गत साता गरिएको शल्यक्रियाका क्रममा उक्त ढुंगा निकालिएको हो । स्ट्रोकपछि अस्पताल भर्ना भएका ती पुरुषलाई पिसाब फेर्न समस्या देखिएपछि चिकित्सकहरूले थप परीक्षण गरेका थिए। परीक्षणका क्रममा उनको मूत्रथैलीमा ठूलो ढुंगा रहेको पत्ता लागेको थियो ।
शल्यक्रियाबाट निकालिएको ढुंगा करिब १७ सेन्टिमिटर लामो रहेको चिकित्सकहरूले बताएका छन् । यसको तौल भने पूरा विकसित शिशुको तौलसँग मिल्दोजुल्दो रहेको बताइएको छ ।
शल्यक्रियाको नेतृत्व गरेका डा. प्रहलाहन बालकृष्णनले उपलब्ध अभिलेखका आधारमा यो शल्यक्रियामार्फत निकालिएको सबैभन्दा ठूलो मूत्रथैलीको ढुंगा भएको बताएका छन् । उनका अनुसार बिरामीको अवस्था अहिले निकै राम्रो छ। उनी अन्य स्वास्थ्य समस्याको उपचारका लागि अस्पतालमै छन् ।
चिकित्सकहरूले ढुंगा बिरामीको मूत्रथैलीमा करिब ५ देखि १० वर्षसम्म विकसित भएको हुन सक्ने अनुमान गरेका छन् । मूत्रमा रहेका खनिज पदार्थ क्रमशः क्रिस्टलमा परिणत भएर जम्मा हुँदै गएपछि मूत्रथैलीमा ढुंगा बन्ने गर्छ ।
मूत्रथैली पूर्ण रूपमा खाली हुन नसक्दा पिसाब गाढा हुने र त्यसबाट क्रिस्टल बन्ने सम्भावना बढ्छ । साना ढुंगा पिसाबसँगै आफैँ बाहिर निस्कन सक्छन् । तर एक सेन्टिमिटरभन्दा ठूला ढुंगाले पिसाबको प्रवाहमा अवरोध सिर्जना गर्न सक्ने भएकाले उपचार आवश्यक पर्न सक्छ । चार सेन्टिमिटरभन्दा ठूलो मूत्रथैलीको ढुंगालाई चिकित्सकीय रूपमा विशाल ढुंगा मानिन्छ ।
गिनिज वल्र्ड रेकड्र्सका अनुसार यसअघि सन् २००३ मा ब्राजिलका एक बिरामीको मूत्रथैलीबाट निकालिएको १.९ किलोग्राम तौल र १७.९ सेन्टिमिटर लम्बाइको ढुंगा सबैभन्दा ठूलोका रूपमा अभिलेखित थियो । श्रीलंकामा निकालिएको नयाँ ढुंगा तौलमा त्यसभन्दा करिब १.२ किलोग्राम बढी भए पनि लम्बाइ भने केही कम रहेको छ ।
काठमाडौं । अमेरिकाको अलास्का राज्यको पश्चिमी क्षेत्रमा आठ जना सवार चार्टर विमान दुर्घटनामा परेको छ । दुर्गम क्षेत्रमा पर्ने केप न्युवेनहम नजिकै विमान दुर्घटनाग्रस्त भएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार दुर्घटनाग्रस्त विमानमा दुई पाइलट र छ यात्रु थिए । विमान एन्कोरेजबाट केप न्युवेनहमका लागि उडेको थियो । प्रारम्भिक विवरणअनुसार गन्तव्यतर्फ अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको हो ।
संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार विमानले एन्कोरेजस्थित टेड स्टिभेन्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो । केप न्युवेनहम विमानस्थलको पश्चिमतर्फ स्थानीय समयअनुसार दिउँसो करिब १२ः१५ बजे दुर्घटना भएको प्रारम्भिक विवरण छ ।
दुर्घटनापछि अलास्का उद्धार समन्वय केन्द्रले खोज तथा उद्धार अभियान सुरु गरेको छ । एनटीएसबी, अलास्का राज्य प्रहरीलगायतका टोली पनि घटनास्थलतर्फ परिचालन भएका छन् ।
विमानमा सवार आठै जनाको अवस्थाबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक भएको छैन । दुर्घटनाको कारणबारे अनुसन्धानसमेत सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।
काठमाडौं । यहाँको बाँसबारीमा साढे दुई तले घर भासिएको छ । काठमाडौं महानगरपालिका–३ स्थित उक्त घर बिहीबार साँझ भासिएको हो ।
महानगरपालिकाका अनुसार साँझ करिब ८ बजे घर भासिएको थियो । भासिएको भवनमा यसअघि न्यु गण्डकी गेष्ट हाउस सञ्चालन हुँदै आएको थियो ।
महानगरपालिकाले लगातार परेको वर्षाका कारण घर भासिएको जनाएको छ । भवन भासिए पनि त्यस समयमा घरभित्र कोही नरहेकाले मानवीय क्षति भने हुनबाट जोगिएको छ ।
महानगरपालिकाका अनुसार घटनापछि उक्त क्षेत्रमा थप जोखिमको अवस्था र आवश्यक व्यवस्थापनबारे निगरानी भइरहेको छ ।





