काठमाडौं । कम्बोडियामा मृत्यु भएका नेपाली नागरिक सन्तोष राईको शव नेपाल ल्याउने विषयमा पुनः प्रश्न राख्न नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ प्रतिनिधिसभा बैठकबाट बाहिरिएकी छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले सांसदहरूले उठाएका विभिन्न विषयमा जवाफ दिँदै राईको शव नेपाल ल्याउन सरकारले पहल गर्ने बताएका थिए ।
राईको शव नेपाल ल्याउन ढिलाइ भएको विषय सांसद तामाङले सोमबारको बैठकमा पनि उठाएकी थिइन् । उनले सरकारको ध्यानाकर्षण गराएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले तीन दिनभित्र जवाफ दिन सरकारलाई रुलिङ गरेका थिए ।
मंगलबार मन्त्री खनालले जवाफ दिइरहेका बेला तामाङले सोही विषयमा पुनः प्रश्न राख्न खोजिन् । तर सभामुख अर्यालले मन्त्रीले शून्य र विशेष समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिइरहेकाले त्यस क्रममा पूरक प्रश्न गर्न नमिल्ने बताए ।
सभामुखले तामाङलाई आफ्नो आसनमा बस्न आग्रह गरे । तर उनी आसनमा नबसेपछि सभामुख अर्यालले उनलाई सदनको मर्यादा कायम राख्न निर्देशन दिए ।
“माननीय सदस्य आशिका तामाङलाई म सभाको मर्यादामा रहन निर्देश गर्छु,” सभामुखले भने ।
सभामुखको निर्देशनपछि पनि तामाङ आफ्नो स्थानमा नफर्किएपछि उनी बैठकबाट बाहिरिएकी हुन् ।











