२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए ।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा जनरल सेठ आइतबार चारदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका हुन् । भ्रमणका क्रममा उनले नेपाली सेनाका उच्च अधिकारीसँग समेत भेटवार्ता गरेका छन् ।

यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए । नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने परम्परा सन् १९५० देखि रहँदै आएको छ ।

काठमाडौं । कम्बोडियामा मृत्यु भएका नेपाली नागरिक सन्तोष राईको शव नेपाल ल्याउने विषयमा पुनः प्रश्न राख्न नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ प्रतिनिधिसभा बैठकबाट बाहिरिएकी छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले सांसदहरूले उठाएका विभिन्न विषयमा जवाफ दिँदै राईको शव नेपाल ल्याउन सरकारले पहल गर्ने बताएका थिए ।

राईको शव नेपाल ल्याउन ढिलाइ भएको विषय सांसद तामाङले सोमबारको बैठकमा पनि उठाएकी थिइन् । उनले सरकारको ध्यानाकर्षण गराएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले तीन दिनभित्र जवाफ दिन सरकारलाई रुलिङ गरेका थिए ।

मंगलबार मन्त्री खनालले जवाफ दिइरहेका बेला तामाङले सोही विषयमा पुनः प्रश्न राख्न खोजिन् । तर सभामुख अर्यालले मन्त्रीले शून्य र विशेष समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिइरहेकाले त्यस क्रममा पूरक प्रश्न गर्न नमिल्ने बताए ।

सभामुखले तामाङलाई आफ्नो आसनमा बस्न आग्रह गरे । तर उनी आसनमा नबसेपछि सभामुख अर्यालले उनलाई सदनको मर्यादा कायम राख्न निर्देशन दिए ।

“माननीय सदस्य आशिका तामाङलाई म सभाको मर्यादामा रहन निर्देश गर्छु,” सभामुखले भने ।

सभामुखको निर्देशनपछि पनि तामाङ आफ्नो स्थानमा नफर्किएपछि उनी बैठकबाट बाहिरिएकी हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभामा सत्ता र प्रतिपक्षका सांसदबीच चर्काचर्की भएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद संग्रौलाले विगत ३५ वर्षदेखि मुलुकमा कायम रहेको शासन व्यवस्थाका कारण गत भदौमा जेनजी आन्दोलन भएको दाबी गरिन् । उनले वर्तमान सरकारले देशलाई भ्रष्टाचार, बेथिति, अनियमितता र ‘गुन्डाराज’को क्यान्सरबाट मुक्त गराउने दाबीसमेत गरिन् ।

उनले विगतका सरकारले चलाएको गोलीबाट सिंहदरबारअगाडि ज्यान गुमाएका जेनजी युवाको रगत अझै नसुकेको टिप्पणी गरिन् ।

संग्रौलाको अभिव्यक्तिप्रति विपक्षी बेन्चका सांसदहरूले उठेर विरोध जनाए । त्यसपछि एमालेकी सांसद साजिदा सिद्दीकीले संग्रौलाको भनाइको प्रतिवाद गर्दै रास्वपाको सरकारमाथि नै ‘गुन्डाराज’ चलाएको आरोप लगाइन् ।

प्रतिपक्षले सरकारसँग प्रश्न गर्दा त्यसलाई ‘गुन्डाराज’को संज्ञा दिन नमिल्ने भन्दै सिद्दीकीले आपत्ति जनाइन् । उनले प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको दाबी गरिन् ।

जेनजी आन्दोलनको प्रसंग उठाउने रास्वपाले सिरहामा सरकारले चलाएको गोलीबारे पनि जवाफ दिनुपर्ने सिद्दीकीको भनाइ थियो ।

सिद्दीकीको भनाइपछि संग्रौलाले पुनः प्रतिवाद गरिन् । उनले सिद्दीकीले लगाएका आरोप संसद्को रेकर्डबाट हटाउन माग गरिन् । यससँगै बैठकमा केही समय सत्ता र प्रतिपक्षका सांसदबीच आरोप–प्रत्यारोप चलेको थियो ।

काठमाडौं । खाना पकाउने ग्यासको अभावले विद्यार्थीलाई समस्या परेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले खाली सिलिन्डर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

मंगलबार त्रिचन्द्र क्याम्पसमा भएको प्रदर्शनमा विद्यार्थीहरूले ‘चुल्हो निभ्यो, पढाइ रोकियो’, ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए ।

ग्यासको लाइन र अभाव तत्काल समाधान गरी विद्यार्थीको समस्या सम्बोधन गर्न सरकारसँग नेविसंघले माग गरेको छ ।

काठमाडौं । संघीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीले अब महिनामा दुईपटक तलबभत्ता पाउने व्यवस्था कार्यान्वयनमा ल्याउन महालेखा नियन्त्रक कार्यालयले पुनः निर्देशन दिएको छ ।

कार्यालयले आइतबार देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन तथा चालू आर्थिक वर्षको बजेट वक्तव्यमा गरिएको व्यवस्थाअनुसार अर्धमासिक तलब भुक्तानी प्रणाली लागू गर्न लागिएको महालेखाको परिपत्रमा उल्लेख छ । नयाँ व्यवस्था कार्यान्वयनका लागि आवश्यक प्रणालीगत सुधारसमेत भइसकेको कार्यालयले जनाएको छ ।

अब कर्मचारीले नियमित रूपमा पाउँदै आएको मासिक तलबभत्तासँगै थप गरिएको कर्मचारी प्रोत्साहन भत्तासमेत अर्धमासिक रूपमा प्राप्त गर्नेछन् । महिनाको १५ दिन पूरा भएपछि सो अवधिमा प्राप्त हुने पारिश्रमिक भुक्तानीको प्रक्रिया अघि बढाउन कोष तथा लेखा नियन्त्रक कार्यालयलाई भनिएको छ ।

यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैशाख ४ गते नै नीतिगत मार्गदर्शनअनुसार प्रत्येक १५ दिनमा कर्मचारीलाई तलब भुक्तानी गर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएका थिए । तर, आवश्यक प्रक्रिया र प्रणालीगत तयारी पूरा हुन नसक्दा उक्त व्यवस्था तत्काल कार्यान्वयनमा आउन सकेको थिएन ।

महालेखाका अधिकारीका अनुसार हाल यो व्यवस्था संघीय सरकारअन्तर्गतका कर्मचारीमा मात्र लागू हुनेछ । प्रदेश तथा स्थानीय तहका कर्मचारीको हकमा भने सम्बन्धित प्रदेश वा स्थानीय सरकारले आवश्यक निर्णय गरी अर्धमासिक तलब भुक्तानीको व्यवस्था अघि बढाउन सक्नेछन् ।

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहले नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठसँग मंगलबार भेटवार्ता गर्ने भएका छन् । नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार शाह र सेठबीच मंगलबार दिउँसो भेट हुने तयारी छ ।

चारदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका सेठ प्रधानमन्त्री शाहसँगको भेटपछि बुधबार भारत फर्किने कार्यक्रम छ । उनको भ्रमणका क्रममा नेपाल–भारत सैन्य सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भइरहेको छ ।

भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए । नेपाल र भारतबीच सन् १९५० देखि एकअर्काका स्थल सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

सेठले सोमबार टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै शहीदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका थिए । त्यसपछि जंगी अड्डामा उनलाई नेपाली सेनाले सम्मान गारत प्रदान गरेको थियो ।

जंगी अड्डा परिसरमा सेठले वृक्षारोपण गर्नुका साथै नेपाली सेनालाई स्वास्थ्य सामग्रीसमेत सहयोग गरेका थिए । उनको नेपाल भ्रमणलाई दुई देशबीचको लामो समयदेखिको सैन्य सहकार्य र सम्बन्धलाई निरन्तरता दिने कडीका रूपमा हेरिएको छ ।

काठमाडौं । गर्मी बढेसँगै बजारमा देखिने फलफूलमध्ये ड्र्यागन फ्रुट पनि धेरैको रोजाइमा पर्न थालेको छ । स्थानीयस्तरमै यसको खेती विस्तार हुँदै गएपछि केही वर्षअघिको तुलनामा बजारमा यसको मूल्यसमेत घटेको छ । स्वादसँगै पोषणका कारण लोकप्रिय बन्दै गएको यो फल भने सबैका लागि उत्तिकै उपयुक्त नहुन सक्छ ।

ड्र्यागन फ्रुटमा इलेक्ट्रोलाइट्स, पोटासियम, भिटामिन सी र आइरनजस्ता पोषक तत्व पाइन्छन् । गर्मीमा धेरै पसिना आउँदा शरीरमा पानी र इलेक्ट्रोलाइटको सन्तुलन बिग्रन सक्छ । यस्तो अवस्थामा सन्तुलित आहारको हिस्साका रूपमा ड्र्यागन फ्रुट उपयोगी हुन सक्छ ।

यसमा पाइने भिटामिन सीले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सहयोग गर्छ । आइरनसमेत पाइने भएकाले सन्तुलित खानपानको हिस्साका रूपमा यसको सेवन लाभदायक हुन सक्छ । बालबालिका र वृद्धवृद्धाले पनि आफ्नो आहारअनुसार यो फल खान सक्छन् ।

मिर्गौला रोगीले भने सावधानी अपनाउनुपर्छ
ड्र्यागन फ्रुटमा पोटासियम पाइने भएकाले मिर्गौलासम्बन्धी समस्या भएका व्यक्तिले यसको सेवनमा विशेष सावधानी अपनाउनुपर्छ । मिर्गौलाले शरीरबाट अतिरिक्त पोटासियम हटाउन नसक्दा समस्या बढ्न सक्ने भएकाले चिकित्सकको सल्लाहबिना धेरै मात्रामा खानु उचित हुँदैन ।

गर्भवती महिलाले पनि कुनै पनि फल अत्यधिक मात्रामा सेवन गर्नुको सट्टा आफ्नो स्वास्थ्य अवस्था र चिकित्सकीय सल्लाहअनुसार खानु राम्रो हुन्छ । विशेषगरी कुनै स्वास्थ्य समस्या वा चिकित्सकले पोटासियम सीमित गर्न भनेको अवस्था छ भने ड्र्यागन फ्रुट सेवन गर्नुअघि परामर्श आवश्यक हुन्छ ।

त्यसैले ड्र्यागन फ्रुटलाई ‘सबै रोगको औषधि’का रूपमा होइन, सन्तुलित आहारको एउटा हिस्सा मान्नु उचित हुन्छ । स्वस्थ व्यक्तिले पनि मात्रा मिलाएर सेवन गर्दा यसको पोषणबाट लाभ लिन सक्छन् ।

मकवानपुर । यहाँको भीमफेदी–६, जुरिखेतमा भएको स्कार्पियो दुर्घटनामा घाइते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो जुरिखेतमा दुर्घटना हुँदा न्यायाधीश डाँगीसहित ६ जना घाइते भएका थिए । घाइतेमध्ये न्यायाधीश डाँगी, रजिष्ट्रार तारादत्त बडु, उनकी पत्नी लक्ष्मी बडु, छोरा रितेन्द्र बडुलाई सेनाको हेलिकोप्टरमार्फत छाउनी अस्पताल पठाइएको मकवानपुरका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा बडुकी दिदी रिता बडु र चालक छुनिलाल चौधरी पनि घाइते भएका छन् । उनीहरूलाई भने हेटौँडा अस्पतालमै उपचार गराइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते न्यायाधीश डाँगी दाङको तुलसीपुर–९ का ५७ वर्षीय हुन् । रजिष्ट्रार बडु बैतडीको दशरथचन्द–७ का ५१ वर्षीय तथा उनकी पत्नी लक्ष्मी ४९ वर्षकी हुन् । छोरा रितेन्द्र २५, दिदी रिता ३१ र चालक चौधरी ३२ वर्षका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।