काठमाडौं । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेश सरकारले साउन १ गते शुक्रबार कर्णालीका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहने जनाएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सूचना जारी गर्दै प्रदेशभर लागू हुने गरी सार्वजनिक बिदाको जानकारी दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उक्त बिदा दिइएको सूचनामा उल्लेख छ ।
प्रदेश सचिव लक्ष्मीकुमार विकद्वारा जारी सूचनाअनुसार कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्ले २०८२ चैत २४ गते बसेको बैठकबाट साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा प्रत्येक वर्ष सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
कर्णालीको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको देउडा पर्वको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले यस्तो व्यवस्था गरेको हो । साउने संक्रान्ति कर्णालीका विभिन्न समुदायले सांस्कृतिक महत्वका साथ मनाउँदै आएका छन् ।
प्रदेश सरकारले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा सहयोग पुग्ने विश्वाससहित विगतदेखि नै यस्ता विशेष अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।











