२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढ्दै हरियो भएर बन्द भएको छ । बजार परिसूचक ७ दशमलव ५० अंकले उकालो लाग्दै २ हजार ५९७ दशमलव ६४ बिन्दुमा पुगेको हो ।

कारोबार सुरु भएको केही समय बजार सकारात्मक देखिए पनि दिउँसो २ः३४ बजे नेप्से घटेर २ हजार ५८१ बिन्दुसम्म पुगेको थियो । उक्त बिन्दु नै बिहीबारको न्यूनतम विन्दु बन्यो । तर, कारोबारको अन्तिम समयमा खरिद चाप बढ्दा नेप्से पुनः उकालो लाग्यो र लगातार तेस्रो दिन वृद्धि कायम राख्न सफल भयो ।

बिहीबार शेयर कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । बुधबार ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार कुल ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

कुल २७५ कम्पनीको कारोबार हुँदा १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

समूहगत प्रदर्शनतर्फ अधिकांश उपसूचक सकारात्मक रहे । यसदिन बैंकिङ शून्य दशमलव ६२, विकास बैंक शून्य दशमलव ०८, लगानी शून्य दशमलव ११, जीवन बीमा शून्य दशमलव २५, लघुवित्त १ शून्य दशमलव २३, निर्जीवन बीमा १ शून्य दशमलव ११, अन्य शून्य दशमलव ३१ र व्यापार समूहको उपसूचक शून्य दशमलव ३२ प्रतिशतले बढेको छ ।

यस्तै उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ११, जलविद्युत्शून्य दशमलव ३४, होटल तथा पर्यटन शून्य दशमलव ०९ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव ६६ प्रतिशतले घटेका छन् ।

बिहीबार फस्र्ट माइक्रोफाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै १४ दशमलव ६७ प्रतिशतले बढेको छ । त्यस्तै चिरख्वा हाइड्रोपावर १४ दशमलव ३४, पियोर इनर्जी १३ दशमलव ९७, माइखोला हाइड्रोपावर १२ दशमलव ५२ र सयपत्री हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव ५५ प्रतिशतले बढेको छ ।

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ८ दशमलव ७७, भुजुङ हाइड्रोपावर ४ दशमलव ३५ र स्वेतगंगा हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव १९ प्रतिशतले ह्रास आएको छ ।

भोलिदेखि नयाँ पूँजीगत लाभकर व्यवस्था लागू
यसैबीच, नयाँ आर्थिक वर्ष सुरु भएसँगै शेयर लगानीकर्ताका लागि पूँजीगत लाभकरको नयाँ व्यवस्था लागू हुने भएको छ । सरकारले बजेटमार्फत घोषणा गरेको व्यवस्था अनुसार अब एक वर्षभन्दा कम अवधि राखेर बिक्री गरिएको शेयरको नाफामा १० प्रतिशत र एक वर्षभन्दा बढी अवधि होल्ड गरिएको सेयरको नाफामा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर लाग्नेछ ।

नयाँ व्यवस्था साउन १ गतेदेखि लागू हुनेछ । यससँगै छोटो अवधिका लगानीकर्ता र दीर्घकालीन लगानीकर्ताले तिर्नुपर्ने लाभकर दरमा फरक पर्नेछ ।

काठमाडौं । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेश सरकारले साउन १ गते शुक्रबार कर्णालीका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहने जनाएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सूचना जारी गर्दै प्रदेशभर लागू हुने गरी सार्वजनिक बिदाको जानकारी दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उक्त बिदा दिइएको सूचनामा उल्लेख छ ।

प्रदेश सचिव लक्ष्मीकुमार विकद्वारा जारी सूचनाअनुसार कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्ले २०८२ चैत २४ गते बसेको बैठकबाट साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा प्रत्येक वर्ष सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

कर्णालीको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको देउडा पर्वको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले यस्तो व्यवस्था गरेको हो । साउने संक्रान्ति कर्णालीका विभिन्न समुदायले सांस्कृतिक महत्वका साथ मनाउँदै आएका छन् ।

प्रदेश सरकारले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा सहयोग पुग्ने विश्वाससहित विगतदेखि नै यस्ता विशेष अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।

काठमाडौं । विश्व फुटबलका दुई पुस्ताका प्रतिनिधि लियोनल मेसी र लामिन यामाल विश्वकप २०२६ को फाइनलमा एकअर्काविरुद्ध उत्रने भएपछि उनीहरूबीचको १९ वर्ष पुरानो एउटा दुर्लभ तस्वीर फेरि विश्वभर चर्चाको विषय बनेको छ ।

सन् २००७ मा बार्सिलोना फाउन्डेसन र स्पेनी खेल पत्रिका डियारियो स्पोर्टले आयोजना गरेको च्यारिटी फोटोशुटका क्रममा त्यतिबेला २० वर्षीय मेसीले पाँच महिनाका शिशु यामाललाई नुहाइदिएको भावुक क्षण क्यामेरामा कैद गरिएको थियो । उक्त अभियानबाट संकलित रकम युनिसेफसहित विभिन्न परोपकारी संस्थालाई सहयोग गरिएको थियो ।

तस्वीर खिच्ने फोटोग्राफर जोआन मोनफोर्टका अनुसार त्यो फोटोशुट सहज थिएन । मेसी स्वभावले निकै लजालु थिए भने अपरिचित व्यक्तिसँग सानो यामाल पनि सहज थिएनन् । अन्ततः यामालकी आमा शिला एबानाको सहयोगपछि मात्र सबैलाई सम्झन लायक ऐतिहासिक तस्वीर खिच्न सम्भव भएको थियो ।

यो तस्वीर लामो समयसम्म सार्वजनिक रूपमा खासै चर्चामा आएन । तर सन् २०२४ को युरोकपका बेला यामालका बुबा मुनिर नस्राउईले सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गरेपछि यसले विश्वव्यापी चर्चा पायो । अहिले विश्वकप फाइनलमा मेसी र यामाल आमनेसामने हुने निश्चित भएसँगै यही तस्वीर पुनः भाइरल बनेको छ ।

पाँच महिनाको त्यो शिशु भविष्यमा स्पेनकै सबैभन्दा ठूलो फुटबल स्टार बन्ने कल्पना कसैले पनि नगरेको मोनफोर्टले बताए । अहिले ती दुई खेलाडी विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्न लाग्नु आफूका लागि “लट्री जिते जत्तिकै दुर्लभ संयोग” भएको उनले बताएका छन् ।

यामाल अहिले बार्सिलोनाको प्रतिष्ठित नम्बर १० जर्सी लगाएर खेलिरहेका छन्, जुन जर्सीलाई मेसीले वर्षौंसम्म विश्व फुटबलमा ऐतिहासिक पहिचान दिलाएका थिए । मेसीका सम्भावित उत्तराधिकारीका रूपमा हेरिएका यामाल र अर्जेन्टिनी कप्तान मेसीबीचको बहुप्रतीक्षित विश्वकप २०२६ को फाइनल आइतबार मध्यराति हुँदैछ । फुटबल समर्थकहरूका लागि यो केवल उपाधिको लडाइँ मात्र नभई दुई पुस्ताबीचको ऐतिहासिक भेट पनि हुनेछ ।

messi-with-yamal-1784171729.webp

Photo : Joan Monfort/AP

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले देशभरमा साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान र मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशको पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको हिमाली भूभाग तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधरणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश, कोशी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाल, पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

चितवन । चितवन राष्ट्रिय निकुञ्जले मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले कुख्यात जंगली हात्ती ‘ध्रुवे’को घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हालसम्म २५ जनाको ज्यान लिइसकेको उक्त हात्तीलाई डार्टमार्फत बेहोस बनाएर रेडियो कलर जडान गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई बेहोस बनाएपछि घाँटीमा रेडियो कलर लगाइएको थियो । त्यसपछि यसको दाह्रा काटेर पुनः प्राकृतिक बासस्थानमा छाडिएको उनले जानकारी दिए ।

उनका अनुसार रेडियो कलर जडानसँगै हात्तीको अवस्थाबारे वास्तविक समयमै जानकारी प्राप्त गर्न सकिनेछ । जीपीएस प्रविधिको सहयोगमा यसको आवतजावत र गतिविधि निरन्तर निगरानी गर्न सकिने भएकाले स्थानीय बासिन्दाको सुरक्षामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

रेडियो कलर जडान कार्य नेपाली सेनाको नयाँ गोरख गण, चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक कर्मचारी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूको संयुक्त टोलीले सम्पन्न गरेको हो ।

गत असार २० गते भरतपुर–२३ मा ध्रुवे हात्तीको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले उक्त हात्तीको खोजी तथा निगरानी अभियानलाई तीव्र बनाएको थियो ।

निकुञ्जका अनुसार प्रतिकूल मौसम र घना झाडीका कारण हात्तीलाई फेला पारेर नियन्त्रणमा लिन केही समय लागेको थियो। निकुञ्जले स्थानीयवासीलाई सतर्क रहन, जारी सूचनाको पालना गर्न तथा जंगली हात्ती देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक विश्वकप फाइनलमा स्थान सुरक्षित गरेको छ । अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले अन्तिम सात मिनेटमा दुई गोल गर्दै अविश्वसनीय पुनरागमन गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इङ्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता लिएको थियो । त्यसपछि लगातार दबाब बनाएको अर्जेन्टिनाले ८५औँ मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेल अतिरिक्त समयमा जाने तयारी भइरहेका बेला इन्जुरी समयको दोस्रो मिनेटमा फेरि मेस्सीकै आकर्षक क्रसलाई वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले हेडमार्फत जाली चुमाउँदै अर्जेन्टिनालाई २–१ को ऐतिहासिक जित दिलाए ।

यससँगै अर्जेन्टिनाले अब आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा युरोपेली च्याम्पियन स्पेनसँग विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लगातार दोस्रो विश्वकप जित्दै सन् १९६२ यता उपाधि रक्षा गर्ने पहिलो राष्ट्र बन्ने अवसर पनि अर्जेन्टिनासामु छ ।

यता, सेमिफाइनलमा व्यक्तिगत गोल गर्न नसके पनि दुई निर्णायक असिस्ट दिएका मेस्सी गोल्डेन बुटको दौडमा पुनः शीर्ष स्थानमा उक्लिएका छन् । उनी र फ्रान्सका किलियन एम्बाप्पेको समान ८–८ गोल रहे पनि मेस्सीको ४ असिस्ट र एम्बाप्पेको ३ असिस्ट भएकाले फिफाको टाइब्रेकर नियमअनुसार मेस्सी अगाडि छन् ।

अब गोल्डेन बुटको अन्तिम टुङ्गो विश्वकप फाइनल र तेस्रो स्थानका लागि हुने खेलपछि लाग्नेछ । मेस्सीले स्पेनविरुद्ध फाइनल खेल्नेछन् भने एम्बाप्पेले इङ्ल्यान्डविरुद्ध तेस्रो स्थानको खेलमा आफ्नो गोल संख्या बढाउने अन्तिम अवसर पाउनेछन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।