काठमाडौं । विश्वकप फुटबलमा चार पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएपछि पाराग्वे उत्सवमय बनेको छ । ऐतिहासिक सफलताको खुसी साट्न पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले मंगलबार देशभर सार्वजनिक बिदा घोषणा गरेका छन् ।

सोमबार राति सम्पन्न प्रि–क्वार्टरफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म दुवै टोली १-१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टीमा पाराग्वे ४-३ ले विजयी हुँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो। विश्वकप इतिहासकै उल्लेखनीय उलटफेरमध्ये एक मानिएको यस जितले पाराग्वेली समर्थकलाई उत्साहित बनाएको छ ।
राष्ट्रपति पेनाले सामाजिक सञ्जाल ‘एक्स’मा सार्वजनिक बिदासम्बन्धी निर्णयमा हस्ताक्षर गरिरहेको तस्बिर साझा गर्दै लेखेका छन्, ‘आज सम्पूर्ण राष्ट्रले गर्वका साथ उत्सव मनाइरहेको छ। यो जितले साहस, विश्वास र कहिल्यै हार नमान्ने पाराग्वेली आत्माको प्रतिनिधित्व गर्छ ।’
सरकारी आदेशमा पनि यो उपलब्धि खेलकुदको सीमाभन्दा बाहिर रहेर राष्ट्रिय गौरवसँग जोडिएको उल्लेख गरिएको छ । त्यसैले ऐतिहासिक सफलताको खुसी सबै नागरिकले सहज रूपमा मनाउन सकून् भन्ने उद्देश्यले सार्वजनिक बिदा घोषणा गरिएको सरकारको भनाइ छ ।
यससँगै विश्वकपमा जर्मनीलाई हराएपछि सार्वजनिक बिदा घोषणा गर्ने पाराग्वे दोस्रो दक्षिण अमेरिकी राष्ट्र बनेको छ । यसअघि समूह ‘ई’ अन्तर्गत जर्मनीलाई २-१ ले पराजित गर्दै नकआउट चरणमा पुगेपछि इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआले पनि आफ्नो देशमा सार्वजनिक बिदा दिएका थिए ।











