काठमाडौं । अमेरिकामा सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा बेल्जियम र इजिप्टले १–१ को बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा इजिप्टले अग्रता बनाएको थियो । इजिप्टका इमाम असुरले गोल गर्दै टोलीलाई १–० को अवस्थामा पुर्याएका थिए ।

दोस्रो हाफमा भने बेल्जियमले खेलमा फर्किने अवसर पायो । इजिप्टका मोहम्मद हानीबाट आत्मघाती गोल भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमै सकिएको हो ।
यता, अमेरिकाको मायामीमा भएको अर्को खेलमा साउदी अरेबिया र उरुग्वेले पनि १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । पहिलो हाफमा साउदी अरेबियाले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लिएको थियो । ४१औँ मिनेटमा अब्दुलेला अलमरीले गोल गर्दै टोलीलाई अघि बढाएका थिए ।
खेलको दोस्रो हाफमा उरुग्वेले आक्रामक खेल प्रस्तुत गर्यो । लगातार दबाब सिर्जना गरेको उरुग्वेले ८०औँ मिनेटमा बराबरी गोल फर्कायो। मेक्सी आराहोले गोल गर्दै खेल १–१ को अवस्थामा पुर्याएका थिए ।
बाँकी समयमा दुवै टोलीले जित निकाल्ने प्रयास गरे पनि थप गोल हुन नसक्दा खेल बराबरीमा टुंगिएको हो ।











