२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको दोस्रो र लगातार चौथो कारोबार दिन ओरालो लागेको छ । मंगलबार नेप्से ६.३१ अंकले घटेर २७०५ अंकमा कायम भएको हो । यसअघि सोमबार १२.२६ अंक, शुक्रबार ४ अंक र बिहीबार ८ अंकले बजार घटेको थियो ।

आज बजार सुरुआतमै सामान्य सुधारसहित हरियो देखिए पनि त्यो उत्साह लामो समय टिक्न सकेन । कारोबार सुरु भएको केही मिनेटमै बजार नकारात्मक दिशामा मोडिएको थियो । कारोबार अवधिभर दबाबमा रहेको नेप्से दिउँसो १२ः५३ बजे दिनकै न्यूनतम विन्दु २७०१ अंकसम्म झरेको थियो ।

बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा मंगलबार ४ अर्ब ४ करोड रुपैयाँमा सीमित रह्यो । यसले लगानीकर्ताको सक्रियतामा केही कमी आएको संकेत गरेको छ ।

कारोबारमा सहभागी अधिकांश कम्पनीको सेयर मूल्य घटेको देखिएको छ । आज ७३ कम्पनीको मूल्य बढ्दा १९३ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत सूचकहरूमा ठूलो उतारचढाव नदेखिए पनि अधिकांश क्षेत्र राताम्मे रहे। व्यापार समूह भने ०.३१ प्रतिशतले बढ्न सफल भयो ।

बैंकिङ समूह ०.३२ प्रतिशतले घट्दा विकास बैंक ०.४२ प्रतिशत, फाइनान्स ०.६२ प्रतिशत, होटल तथा पर्यटन ०.१६ प्रतिशत, हाइड्रोपावर ०.२८ प्रतिशत तथा लगानी समूह ०.२० प्रतिशतले ओरालो लागे । त्यस्तै उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूहका सूचक पनि सामान्य गिरावटमा रहे ।

बजार समग्रमा घटे पनि केही कम्पनीका सेयरमा उल्लेखनीय वृद्धि देखियो । दोस्रो बजारमा हालै सूचीकृत सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५–१५ प्रतिशतले बढ्यो । वृद्धि पछि सोपान फर्मास्युटिकल्सको प्रतिकित्ता मूल्य ७०३ रुपैयाँ १० पैसा र एपोलो हाइड्रोपावरको ६०२ रुपैयाँ ४० पैसा पुगेको छ ।

यस्तै दोल्ती पावरको सेयर मूल्य ६.३४ प्रतिशत, बुंगल हाइड्रोको ५.५१ प्रतिशत तथा मेन्छियाम हाइड्रोपावरको ४.२२ प्रतिशतले बढ्यो । विपरीततर्फ सयपत्री हाइड्रोपावर ४.९० प्रतिशत, युनिक नेपाल लघुवित्त ४.०३ प्रतिशत, कालिन्चोक हाइड्रोपावर ३.५४ प्रतिशत तथा रिलायन्स स्पिनिङ मिल्स ३.४१ प्रतिशतले घटे ।

कारोबार रकमका आधारमा मंगलबार आँखुखोला जलविद्युत् कम्पनी सबैभन्दा अगाडि रह्यो । त्यसपछि सिद्धार्थ बैंक, रावा इनर्जी, रिलायन्स स्पिनिङ मिल्स र बुंगल हाइड्रोपावर सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नियन्त्रणमा लिएको छ । राहदानी छपाइ तथा आपूर्ति सम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको आयोग निकट स्रोतले जनाएको हो ।

अख्तियारको टोली मंगलबार विभागमै पुगेर सम्बन्धित कागजातहरू समेत नियन्त्रणमा लिएको बताइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा राहदानी छपाइ तथा आपूर्तिसँग जोडिएको ठेक्का प्रक्रियाबारे सोधपुछ गर्न अर्याललाई नियन्त्रणमा लिइएको स्रोतको भनाइ छ ।

राहदानी विभागको खरिद तथा आपूर्ति प्रक्रियामा मिलेमतोका आधारमा करोडौं रुपैयाँको आर्थिक अनियमितता भएको आरोपसहित अर्यालविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीका आधारमा आयोगले आवश्यक अनुसन्धान अघि बढाउँदै आएको थियो ।

स्रोतका अनुसार अख्तियारले राहदानी खरिद, छपाइ र आपूर्तिसम्बन्धी विभिन्न कागजात तथा अभिलेखहरू कब्जामा लिएर घटनाको विस्तृत छानबिन सुरु गरेको छ । अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने आयोग स्रोतले जनाएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टी भट्टराईको एक पुरानो भिडिओ सामाजिक सञ्जालमा पुनः चर्चाको विषय बनेको छ । उक्त भिडिओमा उनी चलिरहेको कारको अगाडिको सिटमा बसेर झ्यालबाट शरीरको ठूलो भाग बाहिर निकाल्दै यात्रा गरिरहेको देखिन्छिन् ।

भिडिओमा भट्टराईले बालबालिकाले खेल्ने बबल फुलाउँदै रमाइलो गरिरहेको दृश्य देखिन्छ भने पृष्ठभूमिमा अंग्रेजी गीत बजिरहेको सुनिन्छ । तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई सडक सुरक्षाको दृष्टिले जोखिमपूर्ण व्यवहार भन्दै आलोचना गरेका छन् ।

सडक सुरक्षा विज्ञहरूका अनुसार गुडिरहेको सवारीसाधनको झ्यालबाट शरीर बाहिर निकाल्नु दुर्घटनाको जोखिम बढाउने कार्य हो । विशेषगरी राजमार्गमा उच्च गतिमा चलिरहेका सवारीबीच यस्तो गतिविधिले अप्रत्याशित दुर्घटना निम्त्याउन सक्छ ।

भिडिओ सार्वजनिक भएपछि धेरैले सांसदजस्तो सार्वजनिक पदमा रहेका व्यक्तिबाट जिम्मेवार व्यवहार अपेक्षित हुने भन्दै प्रश्न उठाएका छन् । कतिपयले यस घटनामा ट्राफिक नियम उल्लंघन भएको भए सम्बन्धित निकायले छानबिन वा कारबाही गर्ने कि नगर्ने भन्ने जिज्ञासा समेत व्यक्त गरेका छन् ।

उक्त भिडिओ भने भट्टराई सांसद निर्वाचित हुनुअघिको रहेको खुलेको छ। उनले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकै दिन फागुन २१ गते आफ्नो इन्स्टाग्राम खातामा यो भिडिओ पोस्ट गरेकी थिइन्। त्यसबेला उनी रास्वपाको समानुपातिक बन्दसूचीमा समावेश भए पनि सांसद बन्ने वा नबन्ने टुंगो लागिसकेको थिएन । तथापि, भिडिओ अझै पनि उनको सामाजिक सञ्जाल खातामा उपलब्ध रहेको बताइएको छ ।

संसदमा अपेक्षाकृत कम बोल्ने सांसदका रूपमा चिनिने भट्टराई विभिन्न कारणले बेला–बेला चर्चामा आउने गरेकी छन् । केही समयअघि उनले सामाजिक सञ्जालमार्फत आफ्नो रूप–रंग र सुन्दरताकै आधारमा आफूलाई निशाना बनाइने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् । उनले भ्रष्टाचारजस्ता गम्भीर विषयमा मौन रहनेहरू आफूलाई भने केवल बाह्य स्वरूपका कारण आलोचना गर्ने गरेको टिप्पणी गरेकी थिइन् ।

सृष्टी भट्टराई राजनीतिमा आउनुअघि सुनसरी जिल्ला अदालतमा बाल विशेषज्ञका रूपमा कार्यरत थिइन् । साथै, उनी कोशी प्रदेशमा करिअर काउन्सिलिङ क्षेत्रमा पनि सक्रिय रूपमा संलग्न रहँदै आएकी थिइन् ।

काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्रीहरूले वार्षिक आय–व्ययको अनुमान प्रस्तुत गरेका हुन् ।

बजेटको आकारका आधारमा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ भने गण्डकी प्रदेशको बजेट सबैभन्दा कम रहेको छ । बागमती प्रदेशले ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याउँदा गण्डकी प्रदेशले ३२ अर्ब ९९ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

अन्य प्रदेशहरूले निर्धारित समयमै बजेट ल्याए पनि सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनभित्रको विवादका कारण बजेट प्रस्तुति ढिलो भएको थियो । प्रदेशसभाको बैठक राति साढे ११ बजेपछि बसेको थियो, जहाँ आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरे । बजेट प्रस्तुतिको क्रममा प्रतिपक्षी दलहरूले बैठक बहिष्कार गरेका थिए ।

कोसी प्रदेश सरकारले ४० अर्ब ४४ करोड रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको तुलनामा यो बजेट १२.७४ प्रतिशतले बढी हो। प्रदेश सरकारले पूर्वाधार विकास, उत्पादन वृद्धि, सेवा प्रवाह सुधार तथा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ ।

मधेस प्रदेशले ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कृषि नवप्रवर्तन, उद्यमशीलता, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिइएको बजेटमा ‘हेलो सीएम एप’, ‘हेलो मुख्यमन्त्री टोल–फ्री नम्बर’ तथा युवामुखी सय दिने रोजगारी ग्यारेन्टी कार्यक्रम समेटिएको छ ।

बागमती प्रदेश सरकारले ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशमा लगानीमैत्री वातावरण निर्माण, आर्थिक गतिविधि विस्तार र राजस्व वृद्धिलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको जनाइएको छ ।

गण्डकी प्रदेशले ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ, जुन चालु आर्थिक वर्षको तुलनामा एक अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको हो । बजेटको अधिकांश हिस्सा पुँजीगत खर्चमा केन्द्रित गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’को दीर्घकालीन सोचलाई कार्यान्वयन गर्ने लक्ष्यसहित पूर्वाधार विकास, उद्यमशीलता प्रवद्र्धन, डिजिटल सेवा विस्तार तथा वित्तीय सुशासनलाई प्राथमिकता दिइएको छ ।

कर्णाली प्रदेशले ३५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको छ । कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, पर्यटन विकास र पूर्वाधार निर्माणलाई बजेटका प्रमुख प्राथमिकतामा राखिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गर्दै कृषि, पूर्वाधार र सेवा प्रवाह सुधारका कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । प्रदेश सरकारले बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्व, राजस्व बाँडफाँट, अनुदान तथा मौज्दात रकमलाई प्रमुख स्रोतका रूपमा उल्लेख गरेको छ ।

यससँगै सातै प्रदेशले आगामी आर्थिक वर्षका लागि विकास, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य तथा रोजगारीका कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेका छन् ।

काठमाडौं । अमेरिकामा सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा बेल्जियम र इजिप्टले १–१ को बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा इजिप्टले अग्रता बनाएको थियो । इजिप्टका इमाम असुरले गोल गर्दै टोलीलाई १–० को अवस्थामा पुर्‍याएका थिए ।

दोस्रो हाफमा भने बेल्जियमले खेलमा फर्किने अवसर पायो । इजिप्टका मोहम्मद हानीबाट आत्मघाती गोल भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमै सकिएको हो ।

यता, अमेरिकाको मायामीमा भएको अर्को खेलमा साउदी अरेबिया र उरुग्वेले पनि १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । पहिलो हाफमा साउदी अरेबियाले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लिएको थियो । ४१औँ मिनेटमा अब्दुलेला अलमरीले गोल गर्दै टोलीलाई अघि बढाएका थिए ।

खेलको दोस्रो हाफमा उरुग्वेले आक्रामक खेल प्रस्तुत गर्‍यो । लगातार दबाब सिर्जना गरेको उरुग्वेले ८०औँ मिनेटमा बराबरी गोल फर्कायो। मेक्सी आराहोले गोल गर्दै खेल १–१ को अवस्थामा पुर्‍याएका थिए ।

बाँकी समयमा दुवै टोलीले जित निकाल्ने प्रयास गरे पनि थप गोल हुन नसक्दा खेल बराबरीमा टुंगिएको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।