काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको द्वन्द्व अन्त्य गर्ने शान्ति सम्झौतामा आइतबार हस्ताक्षर हुने दाबी गरेका छन् । तर, इरानले भने सम्झौताको समयसीमाबारे अझै स्पष्टता नभएको जनाएको छ ।

सामाजिक सञ्जालमार्फत ट्रम्पले सम्झौतामा हस्ताक्षर भएसँगै विश्व व्यापारका लागि रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्य सबै जहाजका लागि खुला हुने बताएका छन् ।
सम्झौता प्रक्रियामा मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र सहमतिलाई अन्तिम रूप दिन सकिने अपेक्षा व्यक्त गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको जानकारी दिएका छन् ।
ट्रम्पको अभिव्यक्ति सार्वजनिक हुनुअघि इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सम्झौतामा हस्ताक्षर हुने मितिबारे सावधानीपूर्ण प्रतिक्रिया दिएका थिए । उनले हस्ताक्षरको निश्चित मिति तय भइसकेको भन्ने विषयमा अझै पर्खनुपर्ने अवस्था रहेको बताएका थिए ।
तर ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा सम्झौतामा भोलि हस्ताक्षर हुने कार्यतालिका तय भएको दाबी गर्दै त्यसपछि होर्मुज जलडमरूमध्य सबैका लागि खुला हुने उल्लेख गरेका छन् ।
इरानको संवद्र्धित युरेनियम भण्डारबारे टिप्पणी गर्दै ट्रम्पले परिस्थिति सामान्य भएपछि त्यससम्बन्धी सामग्री नियन्त्रणमा लिएर नष्ट गरिने बताएका छन् ।
इरानको आणविक कार्यक्रमलाई लिएर पश्चिमी मुलुकहरूले लामो समयदेखि तेहरानमाथि आणविक हतियार विकासको प्रयास गरेको आरोप लगाउँदै आएका छन् । तर इरानले भने आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण प्रयोजनका लागि मात्र रहेको दाबी दोहोर्याउँदै आएको छ ।
यसअघि शनिबार प्रधानमन्त्री शहबाज सरिफले शान्ति प्रक्रियाले महत्वपूर्ण प्रगति गरेको उल्लेख गर्दै सम्झौता सम्पन्न हुने सम्भावना अहिलेसम्मकै सबैभन्दा नजिक पुगेको बताएका थिए । उनका अनुसार सम्झौतापछि प्राविधिक तहका थप वार्तासमेत सुरु हुनेछन् ।











