
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत राजधानीलाई ‘मानवीयताको सहर’का रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारेको छ । सामाजिक न्याय, नागरिक कल्याण र प्रकृतिसँगको सहअस्तित्वलाई केन्द्रमा राख्दै महानगरले विभिन्न नयाँ कार्यक्रम घोषणा गरेको हो ।
आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंलाई केवल भौतिक पूर्वाधारले सम्पन्न सहर मात्र नभई संवेदनशील, समावेशी र सहृदयी नगरका रूपमा स्थापित गर्ने लक्ष्य लिएको बताइन् ।
महानगरले ‘मानवीयताको सहरः काठमाडौं’ भन्ने मार्गदर्शक नारालाई कार्यान्वयनमा लैजान ज्येष्ठ नागरिक, अशक्त व्यक्ति, घरबारविहीन नागरिक, पशुपक्षी तथा वातावरण संरक्षणलाई विशेष प्राथमिकतामा राखेको छ ।
नीति तथा कार्यक्रमअनुसार ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान’ सञ्चालन गरिनेछ । अभियानअन्तर्गत वृद्धवृद्धा र पूर्ण अपांगता भएका नागरिकलाई घरदैलोमै स्वास्थ्य परामर्श तथा उपचार सेवा उपलब्ध गराइने व्यवस्था गरिनेछ । साथै ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिहरूलाई नियमित पोषण भत्ता प्रदान गरिने घोषणा गरिएको छ ।
महानगरले सडकमा आश्रित तथा सहयोगापेक्षी नागरिकको उद्धार र पुनःस्थापनालाई पनि प्राथमिकतामा राखेको छ । साझेदार संस्था तथा गैरसरकारी निकायसँग सहकार्य गरी काठमाडौंलाई ‘सडक आश्रित मानवमुक्त सहर’ घोषणा गर्ने लक्ष्य नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
मानवीयताको अवधारणालाई मानवमा मात्र सीमित नराखी पशुपक्षी र प्रकृतिसम्म विस्तार गरिएको छ । महानगर क्षेत्रका विद्यालय, समुदाय, पार्क तथा सार्वजनिक स्थानहरूमा पंक्षीमैत्री कार्यक्रम सञ्चालन गरिने तथा चराचुरुङ्गीका लागि हजारौँ पानी पात्र स्थापना गरिने घोषणा गरिएको छ ।
सडक कुकुर र बाँदर व्यवस्थापनका क्रममा बल प्रयोग वा निर्दयी व्यवहार नगरी पशु कल्याणका अन्तर्राष्ट्रिय मान्यता र वैज्ञानिक विधि अपनाइने महानगरले जनाएको छ । यसलाई पशु अधिकार र सहअस्तित्वको दृष्टिकोणबाट महत्वपूर्ण नीतिगत परिवर्तनका रूपमा हेरिएको छ ।
यस्तै, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका परम्परागत सीप, शिल्पकला तथा आधुनिक प्रतिभाको औपचारिक मूल्यांकन गरी क्षमता प्रमाणीकरण गर्ने व्यवस्था पनि नीति तथा कार्यक्रममा समेटिएको छ । यसबाट औपचारिक शैक्षिक प्रमाणपत्र नभएका तर व्यावसायिक दक्षता भएका व्यक्तिले आफ्नो सीपको आधिकारिक मान्यता प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
महानगरको नयाँ नीति तथा कार्यक्रमले काठमाडौंलाई पूर्वाधारमुखी विकासको सीमाभन्दा बाहिर निकालेर सामाजिक संवेदना, नागरिक कल्याण र प्रकृतिमैत्री जीवनशैलीमा आधारित ‘मानवीय सहर’को अवधारणातर्फ उन्मुख गराएको देखिन्छ ।
काठमाडौं । भारतको असम राज्यस्थित जोरहाट एयर फोर्स स्टेसनमा भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान दुर्घटनाग्रस्त हुँदा पाँच सैनिकको ज्यान गएको छ ।
शनिबार अवतरणको क्रममा विमान दुर्घटनामा परेको र त्यसपछि आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत तथा अग्निवीरवायु दानिस आलमको मृत्यु भएको भारतीय वायुसेनाले पुष्टि गरेको छ ।
दुर्घटनापछि भारतीय वायुसेनाले घटनाको विस्तृत अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । दुर्घटनाको कारण तत्काल खुल्न नसकेको र प्राविधिक तथा अन्य सम्भावित पक्षबारे अध्ययन भइरहेको बताइएको छ ।
इन्डियन एक्सप्रेसका अनुसार घटनास्थलमा उद्धार तथा अनुसन्धान टोली परिचालन गरिएको छ । अधिकारीहरूले विमान दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक प्रमाण संकलन गरिरहेका छन् ।
दुर्घटनामा परेको एएन–३२ भारतीय वायुसेनाले लामो समयदेखि प्रयोग गर्दै आएको दुई इन्जिनयुक्त टर्बोप्रप परिवहन विमान हो । सोभियत संघमा विकसित यो विमान कठिन भौगोलिक अवस्था तथा प्रतिकूल मौसममा समेत सञ्चालन गर्न सक्ने विशेषतासहित निर्माण गरिएको थियो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार एएन–३२ उच्च उचाइमा रहेका एयरफिल्ड र अत्यधिक तापक्रम भएका क्षेत्रमा पनि प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम मानिन्छ। भारतीय वायुसेनासँग हाल करिब एक सय वटा एएन–३२ विमान रहेको बताइन्छ ।
एकैपटक ७.५ टनसम्म मालसामान, ५० जना यात्रु वा ४२ जना प्याराट्रुपर बोक्न सक्ने क्षमता रहेको यो विमान दुर्गम क्षेत्रमा सैनिक, उपकरण तथा आवश्यक सामग्री पु¥याउन महत्वपूर्ण साधनका रूपमा प्रयोग हुँदै आएको छ ।
काठमाडौं । फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले टर्किएलाई २–० ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । क्यानडाको भ्यान्कुभरमा सम्पन्न खेलमा अस्ट्रेलियाले दुवै हाफमा एक–एक गोल गर्दै जित हात पारेको हो ।
अस्ट्रेलियाका नेस्टोरी इरान्कुन्डाले २७औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि कोनर मेटकाल्फले ७५औँ मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे । यस जितसँगै समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले महत्वपूर्ण तीन अंक बटुलेको छ ।
यता, समूह ‘सी’ अन्तर्गत स्कटल्यान्डले पनि विजयी अभियान सुरु गरेको छ । बोस्टनमा भएको खेलमा स्कटल्यान्डले हाइटीलाई १–० ले हरायो । स्कटल्यान्डका जोन म्याकगिननले २८औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डले जितसहित तीन अंक जोडेको छ ।
आज बिहान भएका अन्य खेलमा ब्राजिल र मोरक्कोले १–१ को बराबरी खेले। स्टार खेलाडी नेयमारविना मैदान उत्रिएको ब्राजिलविरुद्ध मोरक्कोका स्माइल साइबरीले २१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर भिनिसियस जुनियरले ३२औँ मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा टुंगियो र दुवै टोलीले एक–एक अंक बाँडे ।
यस्तै, स्विट्जरल्यान्ड र कतारबीचको खेल पनि १–१ को बराबरीमा सकिएको छ । स्विट्जरल्यान्डका ब्रेल एम्बोलोले १७औँ मिनेटमा गोल गरे पनि इन्जुरी समयको अन्त्यतिर कतारका बोउलेम खोउखीले गोल गर्दै टोलीलाई हारबाट जोगाए । उक्त गोलसँगै कतारले विश्वकप इतिहासकै पहिलो अंक हासिल गरेको छ ।
विश्वकपअन्तर्गत आज राति नेपाली समयअनुसार पौने ११ बजे जर्मनी र कुराकाओबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको कारोबार मूल्य प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँ कायम रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको परिवर्तनको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूको भनाइ छ। सुन र चाँदीको मूल्य दैनिक रूपमा अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार निर्धारण हुँदै आएको छ।
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा स्कटल्यान्डले हाइटीलाई १–० ले हराउँदै सुखद सुरुआत गरेको छ । अमेरिकाको बोस्टनस्थित रङ्गशालामा सम्पन्न खेलमा प्राप्त जितसँगै स्कटल्यान्ड समूहको शीर्ष स्थानमा पुगेको हो ।
स्कटल्यान्डको जितमा खेलको २७औँ मिनेटमा भएको एकमात्र गोल निर्णायक बन्यो । चे एडम्सले दिएको पासलाई सदुपयोग गर्दै मिडफिल्डर जन म्याकगिनले गरेको प्रहार हाइटीका डिफेन्डरसँग ठोक्किँदै जाली चुमेको थियो । सोही गोलले स्कटल्यान्डलाई महत्वपूर्ण तीन अंक दिलायो ।
पहिलो हाफमा अग्रता लिएको स्कटल्यान्डले दोस्रो हाफमा भने हाइटीको कडा चुनौती सामना गर्नुपरेको थियो । बराबरी गोलको खोजीमा आक्रामक बनेको हाइटीले केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।
खेलको ८५औँ मिनेटमा फ्रान्त्ज्डी पियरोटले प्राप्त गरेको उत्कृष्ट अवसर खेर जाँदा हाइटी खेलमा फर्किनबाट वञ्चित भयो । स्कटल्यान्डको अनुशासित रक्षापङ्क्तिले अन्तिम समयसम्म दबाब थेग्दै क्लिन–सिटसहित जित सुरक्षित गर्यो ।
यो जित स्कटल्यान्डका लागि विशेष रह्यो । विश्वकपमा स्कटल्यान्डले ३६ वर्षपछि पहिलो पटक जित हात पारेको हो । यसअघि उसले सन् १९९० को विश्वकपमा स्वीडेनलाई २–१ ले पराजित गरेको थियो। त्यसयता विश्वकपमा जितविहीन रहेको स्कटल्यान्डले लामो प्रतीक्षाको अन्त्य गरेको छ ।
सन् १९९८ पछि पहिलो पटक विश्वकपमा सहभागिता जनाएको स्कटल्यान्डका लागि यो नतिजाले आगामी खेलहरूका लागि थप आत्मविश्वास प्रदान गर्ने विश्वास गरिएको छ ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको द्वन्द्व अन्त्य गर्ने शान्ति सम्झौतामा आइतबार हस्ताक्षर हुने दाबी गरेका छन् । तर, इरानले भने सम्झौताको समयसीमाबारे अझै स्पष्टता नभएको जनाएको छ ।
सामाजिक सञ्जालमार्फत ट्रम्पले सम्झौतामा हस्ताक्षर भएसँगै विश्व व्यापारका लागि रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्य सबै जहाजका लागि खुला हुने बताएका छन् ।
सम्झौता प्रक्रियामा मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र सहमतिलाई अन्तिम रूप दिन सकिने अपेक्षा व्यक्त गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको जानकारी दिएका छन् ।
ट्रम्पको अभिव्यक्ति सार्वजनिक हुनुअघि इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सम्झौतामा हस्ताक्षर हुने मितिबारे सावधानीपूर्ण प्रतिक्रिया दिएका थिए । उनले हस्ताक्षरको निश्चित मिति तय भइसकेको भन्ने विषयमा अझै पर्खनुपर्ने अवस्था रहेको बताएका थिए ।
तर ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा सम्झौतामा भोलि हस्ताक्षर हुने कार्यतालिका तय भएको दाबी गर्दै त्यसपछि होर्मुज जलडमरूमध्य सबैका लागि खुला हुने उल्लेख गरेका छन् ।
इरानको संवद्र्धित युरेनियम भण्डारबारे टिप्पणी गर्दै ट्रम्पले परिस्थिति सामान्य भएपछि त्यससम्बन्धी सामग्री नियन्त्रणमा लिएर नष्ट गरिने बताएका छन् ।
इरानको आणविक कार्यक्रमलाई लिएर पश्चिमी मुलुकहरूले लामो समयदेखि तेहरानमाथि आणविक हतियार विकासको प्रयास गरेको आरोप लगाउँदै आएका छन् । तर इरानले भने आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण प्रयोजनका लागि मात्र रहेको दाबी दोहोर्याउँदै आएको छ ।
यसअघि शनिबार प्रधानमन्त्री शहबाज सरिफले शान्ति प्रक्रियाले महत्वपूर्ण प्रगति गरेको उल्लेख गर्दै सम्झौता सम्पन्न हुने सम्भावना अहिलेसम्मकै सबैभन्दा नजिक पुगेको बताएका थिए । उनका अनुसार सम्झौतापछि प्राविधिक तहका थप वार्तासमेत सुरु हुनेछन् ।
काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत आज बिहान सम्पन्न खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेलेका छन् । न्यूयोर्कस्थित मेटलाइफ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोल गर्दै अंक बाँडेका हुन् ।
मोरक्कोले खेलको २१औँ मिनेटमा अग्रता बनाएको थियो । इब्राहिम डियाजको पासमा इस्माइल साइबारीले गोल गर्दै टोलीलाई सुरुआती बढत दिलाए । तर ब्राजिलले ३२औँ मिनेटमा जवाफी गोल फर्कायो। ब्रुनो गुइमारेसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै भिनिसियस जुनियरले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।
पहिलो हाफमै बराबरीमा पुगेको खेलमा दोस्रो हाफमा दुवै टोलीले थप गोलका अवसर सिर्जना गरे पनि सफल हुन सकेनन् । त्यसपछि खेल १–१ को बराबरीमै सकियो ।
यस्तै, आज बिहान भएको अर्को खेलमा स्विट्जरल्यान्ड र कतारले पनि १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । सान फ्रान्सिस्को रंगशालामा सम्पन्न खेलमा स्विट्जरल्यान्डले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।
स्विट्जरल्यान्डका लागि १७औँ मिनेटमा ब्रेल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अघि बढाएका थिए । तर खेलको इन्जुरी समयको चौथो मिनेटमा बोउलेम खोउखीले गोल गर्दै कतारलाई बराबरी दिलाए ।
खोउखीको अन्तिम समयमा आएको गोलले कतारलाई हारबाट मात्र जोगाएन, विश्वकप इतिहासमा पहिलो अंकसमेत दिलायो ।
काठमाडौं । देशको मौसममा हाल पश्चिमी न्यून चापीय रेखा (ट्रफ) सँगै स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव देखिएको छ । यसका कारण देशका विभिन्न भूभागमा बदली र वर्षाको अवस्था कायम छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ । मधेश प्रदेशमा आंशिक बदली छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम अधिकांश समय सफा रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाले आज दिउँसो कोशी प्रदेश तथा देशका हिमाली क्षेत्रमा सामान्य बदली रहने जनाएको छ । साथै, अधिकांश पहाडी भूभाग र मधेश, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । अन्य तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
पूर्वानुमान अनुसार कोशी प्रदेशका केही स्थान तथा पहाडी र हिमाली भूभागका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। यस्तै, बागमती र गण्डकीका तराई क्षेत्रका साथै मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ ।
रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ भने मधेश प्रदेशका केही क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुन सक्नेछ ।
महाशाखाले वर्षा, मेघगर्जन र चट्याङबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।





