काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणासहित १८३ जना नेताकार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी, नेता, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका प्रतिनिधि तथा कार्यकर्ताहरूले संयुक्त रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् । उनीहरूले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मूल नेतृत्वको कमजोरी, आत्मकेन्द्रित प्रवृत्ति तथा वैचारिक विचलनका कारण पार्टीको भविष्य कमजोर बन्दै गएको आरोप लगाएका छन् ।
पार्टी परित्यागको घोषणा गर्दै सार्वजनिक गरिएको पत्रमा नेतृत्वले पार्टीको मूल सिद्धान्त र एकता महाधिवेशनबाट प्राप्त म्यान्डेटलाई बेवास्ता गरेको उल्लेख गरिएको छ । साथै, केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले अघि सारेको ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ सम्बन्धी न्यूनतम साझा कार्यक्रममा सहभागी भएको भन्दै नेतृत्वको आलोचना गरिएको छ ।
पत्रमा प्रश्न उठाइएको छ, “संवैधानिक राजसंस्थाको पुनस्र्थापनालाई लक्ष्य बनाएको पार्टीको नेतृत्व गणतन्त्र सुदृढीकरणको पक्षमा किन उभियो ? पार्टीको आधिकारिक नीति र महाधिवेशनको निर्णयविपरीत जानुपर्ने अवस्था किन सिर्जना भयो ?”
राणा पक्षले पार्टीका वैधानिक संरचना, केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिमा पटकपटक उठाइएका प्रश्नहरूको नेतृत्वबाट सन्तोषजनक जवाफ नपाएको पनि जनाएको छ ।
उनीहरूले जेठभित्र महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन नगरिएको, साथै राजसंस्था पुनस्र्थापनाका लागि सञ्चालन गरिएका आन्दोलनहरूलाई कमजोर बनाउने काममा पार्टी नेतृत्व नै सक्रिय रहेको आरोप समेत लगाएका छन् ।











