
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणासहित १८३ जना नेताकार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।
उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी, नेता, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका प्रतिनिधि तथा कार्यकर्ताहरूले संयुक्त रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् । उनीहरूले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मूल नेतृत्वको कमजोरी, आत्मकेन्द्रित प्रवृत्ति तथा वैचारिक विचलनका कारण पार्टीको भविष्य कमजोर बन्दै गएको आरोप लगाएका छन् ।
पार्टी परित्यागको घोषणा गर्दै सार्वजनिक गरिएको पत्रमा नेतृत्वले पार्टीको मूल सिद्धान्त र एकता महाधिवेशनबाट प्राप्त म्यान्डेटलाई बेवास्ता गरेको उल्लेख गरिएको छ । साथै, केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले अघि सारेको ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ सम्बन्धी न्यूनतम साझा कार्यक्रममा सहभागी भएको भन्दै नेतृत्वको आलोचना गरिएको छ ।
पत्रमा प्रश्न उठाइएको छ, “संवैधानिक राजसंस्थाको पुनस्र्थापनालाई लक्ष्य बनाएको पार्टीको नेतृत्व गणतन्त्र सुदृढीकरणको पक्षमा किन उभियो ? पार्टीको आधिकारिक नीति र महाधिवेशनको निर्णयविपरीत जानुपर्ने अवस्था किन सिर्जना भयो ?”
राणा पक्षले पार्टीका वैधानिक संरचना, केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिमा पटकपटक उठाइएका प्रश्नहरूको नेतृत्वबाट सन्तोषजनक जवाफ नपाएको पनि जनाएको छ ।
उनीहरूले जेठभित्र महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन नगरिएको, साथै राजसंस्था पुनस्र्थापनाका लागि सञ्चालन गरिएका आन्दोलनहरूलाई कमजोर बनाउने काममा पार्टी नेतृत्व नै सक्रिय रहेको आरोप समेत लगाएका छन् ।
काठमाडौं । साताको चौंथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ४६ अंकले घटेर दुई हजार ७६६ दशमलव ७८ बिन्दुमा कायम भएको हो ।
बिहीबार १ करोड ६ लाख १७ हजार ४८३ कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ७० करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो रकम अघिल्लो दिनको ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँको कारोबारभन्दा कम हो ।
आज कारोबारमा आएका ३५३ धितोपत्रमध्ये ६३ कम्पनीको शेयर मूल्य बढ्दा १९८ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । अधिकांश कम्पनीको शेयर मूल्य घटेसँगै बजारमा बिक्री दबाब देखिएको हो ।
समूहगत प्रदर्शनतर्फ म्युचुअल फण्डबाहेक सबै उपसूचक राताम्मे भएका छन् । म्युचुअल फण्ड समूह शून्य दशमलव ३२ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १ दशमलव ७१ प्रतिशतले घटेको छ ।
यसदिन निर्जीवन बीमा १ दशमलव २१, होटेल तथा पर्यटन १ दशमलव ०७, अन्य शून्य दशमलव ७५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५३, हाइड्रोपावर शून्य दशमलव ५१, जीवन बीमा र लगानीको समान शून्य दशमलव ४६, विकास बैंक शून्य दशमलव ४५, फाइनान्स शून्य दशमलव २२, माइक्रोफाइनान्स शून्य दशमलव १८ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।
आज कालिञ्चोक हाइड्रोपावरकोे शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै न्यादी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव १६ प्रतिशतले बढेको छ ।
यसदिन विजय लघुवित्त ४ दशमलव ६९, भगवती हाइड्रोपावर डेभलवमेन्ट ४ दशमलव २७ र अँखु खोला जल विद्युत्को शेयर मूल्य ४ दशमलव ०७ प्रतिशतले घटेको छ ।
काठमाडौं । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई थप तीव्र बनाउने संकेतस्वरूप हतियार–स्तरको युरेनियम उत्पादनसँग सम्बन्धित नयाँ संवर्धन केन्द्र सार्वजनिक गरेको छ । राज्य सञ्चालित सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर र विवरणले देशको आणविक क्षमता विस्तार गर्ने किम जोङ उन नेतृत्वको रणनीति अझ आक्रामक रूपमा अघि बढिरहेको देखाएको हो ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार नेता किम जोङ उनले हालै उक्त केन्द्रको निरीक्षण गर्दै आणविक प्रतिरोध क्षमतालाई गुणात्मक र परिमाणात्मक दुवै रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले देशको सुरक्षा वातावरण झन् जटिल बन्दै गएको भन्दै आणविक शक्ति विकासलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
सार्वजनिक गरिएका तस्बिरहरूमा ठूलो हलभरि सेन्ट्रिफ्युज उपकरणहरू राखिएको देखिन्छ । यस्ता उपकरणहरू युरेनियम संवर्धनका लागि प्रयोग गरिन्छन्, जुन आणविक हतियार निर्माणको मुख्य आधार मानिन्छ । यद्यपि उत्तर कोरियाले केन्द्रको स्थान, उत्पादन क्षमता वा सञ्चालन सुरु भएको समयबारे कुनै विवरण खुलाएको छैन ।
दक्षिण कोरियाली सेनाले उक्त स्थललाई युरेनियम संवर्धन केन्द्रकै रूपमा मूल्याङ्कन गरेको जनाएको छ । सियोलले उत्तर कोरियाको आणविक गतिविधिमाथि निगरानी बढाइएको र यस विषयमा अमेरिकासँग घनिष्ठ समन्वय भइरहेको जानकारी दिएको छ ।
केसीएनएले नयाँ केन्द्रमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको दाबी गरेको छ । साथै उत्तर कोरियाको हतियार–स्तरको आणविक सामग्री उत्पादन क्षमता पाँच वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको उल्लेख गरेको छ । यद्यपि उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
किमले अमेरिका र दक्षिण कोरियाबाट उत्पन्न सुरक्षा चुनौतीलाई आफ्नो आणविक कार्यक्रम विस्तारको प्रमुख कारणका रूपमा प्रस्तुत गर्दै आएका छन् । पछिल्लो भ्रमणका क्रममा पनि उनले उत्तर कोरिया “शत्रुतापूर्ण शक्तिहरू” को सामना गरिरहेको उल्लेख गर्दै आणविक प्रतिरोध क्षमता सुदृढ बनाउनुपर्ने आवश्यकता दोहो¥याएका छन् ।
विश्लेषकहरूका अनुसार यो कदम उत्तर कोरियाले वार्ताभन्दा सैन्य शक्ति विस्तारलाई प्राथमिकता दिएको पछिल्लो संकेत हो । सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उनबीचको आणविक वार्ता निष्कर्षविहीन बनेपछि प्योङयाङले आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई तीव्रता दिएको मानिन्छ ।
उत्तर कोरियाले सन् २०१७ यता कुनै आणविक परीक्षण नगरे पनि आणविक हतियार बोक्न सक्ने विभिन्न प्रकारका ब्यालिस्टिक क्षेप्यास्त्रको विकास र परीक्षणलाई निरन्तरता दिँदै आएको छ । तीमध्ये केही मिसाइलहरू अमेरिकी मुख्य भूमि सम्म पुग्न सक्ने क्षमताका रहेको दाबी गरिन्छ ।
दक्षिण कोरिया र अन्तर्राष्ट्रिय विज्ञहरूको अनुमान अनुसार उत्तर कोरियासँग हाल दर्जनौँदेखि सयभन्दा बढी आणविक हतियार हुन सक्ने सम्भावना छ । केही अध्ययनहरूले प्योङयाङले प्रत्येक वर्ष थप ६ देखि १८ वटा आणविक हतियार उत्पादन गर्न सक्ने क्षमता विकास गरिरहेको संकेत गरेका छन् ।
आणविक हतियार निर्माणका लागि आवश्यक अत्यधिक संवर्धित युरेनियम र प्लुटोनियम उत्पादन गर्ने क्षमतासहित उत्तर कोरियाले योङब्योनसहित कम्तीमा चारवटा संवर्धन केन्द्र सञ्चालन गरिरहेको दक्षिण कोरियाली अधिकारीहरूको दाबी छ । नयाँ केन्द्रको सार्वजनिक प्रदर्शनले उत्तर कोरिया आफ्नो आणविक शस्त्रागार विस्तार र आधुनिकीकरणको दीर्घकालीन योजनामा दृढ रहेको सन्देश दिएको विश्लेषकहरूको भनाइ छ ।
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तथा चाँदी दुवै धातुको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा निर्धारण भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ८५ रुपैयाँले घटेर ५ हजार २ सय ८५ रुपैयाँमा कायम भएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेकाले सुन–चाँदीको भाउमा दैनिक परिवर्तन भइरहेको व्यवसायीहरू बताउँछन् ।
काठमाडौं । एसीसी महिला प्रिमियर कपअन्तर्गत नेपालले भुटानमाथि ५१ रनको प्रभावशाली जित हासिल गरेको छ। लगातार दोस्रो जित निकालेको नेपालले प्रतियोगितामा आफ्नो लय कायम राखेको हो।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल सुरुआतमै दबाबमा परेको थियो। ६७ रनमै सात विकेट गुमाएर संकटमा परेको अवस्थामा अनुभवी खेलाडी सीता रानामगर र कप्तान रुबिना क्षेत्रीले टोलीलाई सम्हाले। दुवैले आठौं विकेटका लागि ४० रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ डोर्याए।
सीताले २८ बलमा ३७ रनको उत्कृष्ट इनिङ्स खेलिन् भने रुबिनाले २१ बलमा २४ रन योगदान दिइन्। उनीहरूको साझेदारीको मद्दतमा नेपालले निर्धारित २० ओभरमा ११३ रन बनायो।
११४ रनको लक्ष्य पछ्याएको भुटानले भने सुरुदेखि नै रन गति कायम राख्न सकेन। डेचेन वाङ्मोले ६९ बलमा ३९ रन बनाउँदै केही समय संघर्ष गरे पनि अन्य ब्याटरले साथ दिन नसक्दा भुटान २० ओभरमा आठ विकेट गुमाएर ६२ रनमै सीमित भयो।
बलिङतर्फ नेपालका लागि रुबिना क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै १५ रन खर्चेर तीन विकेट लिइन्। रिया शर्माले दुई विकेट हात पारिन्। नेपाली बलरहरूको कसिलो प्रदर्शनका कारण भुटान लक्ष्य नजिक पुग्न समेत सकेन।
यस जितसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो सफलता हासिल गर्दै अंक तालिकामा आफ्नो स्थिति थप मजबुत बनाएको छ।





