२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

नयाँ आणविक केन्द्रसहित उत्तर कोरियाको शक्ति प्रदर्शन

काठमाडौं । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई थप तीव्र बनाउने संकेतस्वरूप हतियार–स्तरको युरेनियम उत्पादनसँग सम्बन्धित नयाँ संवर्धन केन्द्र सार्वजनिक गरेको छ । राज्य सञ्चालित सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर र विवरणले देशको आणविक क्षमता विस्तार गर्ने किम जोङ उन नेतृत्वको रणनीति अझ आक्रामक रूपमा अघि बढिरहेको देखाएको हो ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार नेता किम जोङ उनले हालै उक्त केन्द्रको निरीक्षण गर्दै आणविक प्रतिरोध क्षमतालाई गुणात्मक र परिमाणात्मक दुवै रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले देशको सुरक्षा वातावरण झन् जटिल बन्दै गएको भन्दै आणविक शक्ति विकासलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

सार्वजनिक गरिएका तस्बिरहरूमा ठूलो हलभरि सेन्ट्रिफ्युज उपकरणहरू राखिएको देखिन्छ । यस्ता उपकरणहरू युरेनियम संवर्धनका लागि प्रयोग गरिन्छन्, जुन आणविक हतियार निर्माणको मुख्य आधार मानिन्छ । यद्यपि उत्तर कोरियाले केन्द्रको स्थान, उत्पादन क्षमता वा सञ्चालन सुरु भएको समयबारे कुनै विवरण खुलाएको छैन ।

दक्षिण कोरियाली सेनाले उक्त स्थललाई युरेनियम संवर्धन केन्द्रकै रूपमा मूल्याङ्कन गरेको जनाएको छ । सियोलले उत्तर कोरियाको आणविक गतिविधिमाथि निगरानी बढाइएको र यस विषयमा अमेरिकासँग घनिष्ठ समन्वय भइरहेको जानकारी दिएको छ ।

केसीएनएले नयाँ केन्द्रमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको दाबी गरेको छ । साथै उत्तर कोरियाको हतियार–स्तरको आणविक सामग्री उत्पादन क्षमता पाँच वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको उल्लेख गरेको छ । यद्यपि उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

किमले अमेरिका र दक्षिण कोरियाबाट उत्पन्न सुरक्षा चुनौतीलाई आफ्नो आणविक कार्यक्रम विस्तारको प्रमुख कारणका रूपमा प्रस्तुत गर्दै आएका छन् । पछिल्लो भ्रमणका क्रममा पनि उनले उत्तर कोरिया “शत्रुतापूर्ण शक्तिहरू” को सामना गरिरहेको उल्लेख गर्दै आणविक प्रतिरोध क्षमता सुदृढ बनाउनुपर्ने आवश्यकता दोहो¥याएका छन् ।

विश्लेषकहरूका अनुसार यो कदम उत्तर कोरियाले वार्ताभन्दा सैन्य शक्ति विस्तारलाई प्राथमिकता दिएको पछिल्लो संकेत हो । सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उनबीचको आणविक वार्ता निष्कर्षविहीन बनेपछि प्योङयाङले आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई तीव्रता दिएको मानिन्छ ।

उत्तर कोरियाले सन् २०१७ यता कुनै आणविक परीक्षण नगरे पनि आणविक हतियार बोक्न सक्ने विभिन्न प्रकारका ब्यालिस्टिक क्षेप्यास्त्रको विकास र परीक्षणलाई निरन्तरता दिँदै आएको छ । तीमध्ये केही मिसाइलहरू अमेरिकी मुख्य भूमि सम्म पुग्न सक्ने क्षमताका रहेको दाबी गरिन्छ ।

दक्षिण कोरिया र अन्तर्राष्ट्रिय विज्ञहरूको अनुमान अनुसार उत्तर कोरियासँग हाल दर्जनौँदेखि सयभन्दा बढी आणविक हतियार हुन सक्ने सम्भावना छ । केही अध्ययनहरूले प्योङयाङले प्रत्येक वर्ष थप ६ देखि १८ वटा आणविक हतियार उत्पादन गर्न सक्ने क्षमता विकास गरिरहेको संकेत गरेका छन् ।

आणविक हतियार निर्माणका लागि आवश्यक अत्यधिक संवर्धित युरेनियम र प्लुटोनियम उत्पादन गर्ने क्षमतासहित उत्तर कोरियाले योङब्योनसहित कम्तीमा चारवटा संवर्धन केन्द्र सञ्चालन गरिरहेको दक्षिण कोरियाली अधिकारीहरूको दाबी छ । नयाँ केन्द्रको सार्वजनिक प्रदर्शनले उत्तर कोरिया आफ्नो आणविक शस्त्रागार विस्तार र आधुनिकीकरणको दीर्घकालीन योजनामा दृढ रहेको सन्देश दिएको विश्लेषकहरूको भनाइ छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।