काठमाडौं । रुसले मंगलबार राति युक्रेनका विभिन्न सहरलाई लक्षित गर्दै गरेको व्यापक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा नौ जनाको ज्यान गएको छ भने दर्जनौँ नागरिक घाइते भएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार मध्य युक्रेनस्थित ड्निप्रो सहरमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । त्यसैगरी राजधानी किभमा चार जनाले ज्यान गुमाएका छन् । किभमा कम्तीमा ५१ जना घाइते भएको र तीमध्ये ३५ जनाको अस्पतालमा उपचार भइरहेको बीबीसीले लेखेको छ ।
किभका मेयर भिताली क्लिट्स्कोले आक्रमणका क्रममा दुईवटा बहुमञ्जिला आवासीय भवन क्षतिग्रस्त भएको जानकारी दिएका छन् । केही व्यक्ति भवनको भग्नावशेषमुनि फसेको आशंका गरिएकाले उद्धार कार्य जारी रहेको उनले बताएका छन् ।
रुसले हालै रुसी नियन्त्रणमा रहेको लुहान्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणको प्रतिशोधस्वरूप युक्रेनमाथि थप कडा सैन्य कारबाही गर्ने चेतावनी दिएको थियो । उक्त आक्रमणमा २१ जनाको मृत्यु भएको दाबी गरिएको थियो ।
नयाँ आक्रमणपछि राजधानी किभका बासिन्दालाई सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरिएको छ । किभ सिटी सैन्य प्रशासनका प्रमुख तिमुर काचेन्कोका अनुसार रुसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरी आक्रमण गरिरहेको छ ।
आक्रमणका कारण युक्रेनका अधिकांश क्षेत्रमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो । किभको केन्द्रभागमा बाक्लो धुवाँ देखिएको र रातभर विस्फोटका आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ड्रोन आक्रमणसँगै भएका विस्फोटका कारण सहरका विभिन्न स्थानमा आगलागी भएको छ । मेयर क्लिट्स्कोका अनुसार पेट्रोल पम्प नजिक, निर्माणाधीन भवन, अपार्टमेन्ट तथा निजी आवासहरूमा आगो लागेको छ । केही क्षेत्रमा विद्युत् आपूर्ति समेत प्रभावित भएको छ ।
यसैबीच, रुसको दक्षिणी क्षेत्रमा रहेको इल्स्की तेल प्रशोधन केन्द्रमा पनि ड्रोन आक्रमणपछि आगलागी भएको स्थानीय आपतकालीन सेवाले जनाएको छ । उक्त घटनामा भने कुनै मानवीय क्षति नभएको बताइएको छ ।

रुस–युक्रेन युद्ध जारी रहँदा दुवै पक्षले एकअर्काका रणनीतिक तथा नागरिक पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएका छन्, जसले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको संकेत गरेको छ ।










