२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढ्दै सकारात्मक लयमा बन्द भएको छ। बजारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेपछि नेप्से २२ दशमलव २१ अंकले उकालो लागेर २ हजार ७७७ दशमलव ५८ बिन्दुमा पुगेको हो।

आजको कारोबारमा १ करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यद्यपि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको देखिएको छ। सोमबार ५ अर्ब ६१ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो।

कारोबारमा आएका ३४६ धितोपत्रमध्ये १८४ कम्पनीको शेयर मूल्य बढ्दा ७७ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ। यसले बजारमा लगानीकर्ताको सकारात्मक मनोविज्ञान कायम रहेको संकेत गरेको छ।

क्षेत्रगत रूपमा हेर्दा उत्पादन तथा प्रशोधन समूह बाहेक सबै उपसूचक हरियो भएका छन्। उक्त समूहको उपसूचक शून्य दशमलव ४२ प्रतिशतले घट्दा फाइनान्स समूह सर्वाधिक ६ दशमलव ०३ प्रतिशतले उकालो लागेको छ।

यसदिन अन्य ३ दशमलव ८४, व्यापार १ दशमलव १३, निर्जीवन बीमा १ दशमलव ०२, हाइड्रोपावर शून्य दशमलव ६१, विकास बैंक शून्य दशमलव ५९, बैंकिङ शून्य दशमलव ४१, म्युचुअल फण्ड शून्य दशमलव २९,जीवन बीमा शून्य दशमलव २६, होटेल तथा पर्यटन शून्य दशमलव १२, माइक्रोफाइनान्स शून्य दशमलव ४, र लगानी समूहको उपसूचक शून्य दशमलव २ प्रतिशतले बढेको छ ।

आज कालिञ्चोक हाइड्रोपावरकोे शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सेन्ट्रल फाइनान्स १३ दशमलव ६७, नेपाल रिइन्सुरेन्स ९ दशमलव ९ दशमलव ४४, गुर्खाज फाइनान्स ९ दशमलव २६ र रिलाइन्स फाइनान्सको शेयर मूल्य ८ दशमलव ५६ प्रतिशतले बढेको छ ।

यसदिन बुंगल हाइड्रो ४ दशमलव ४९, झापा इनर्जी ४ दशमलव १९, आत्मनिर्भर लघुवित्त ३ दशमलव ०१ र बोटलर्स नेपाल बालाजुको शेयर मूल्य २ दशमलव ९९ प्रतिशतले घटेको छ ।

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट चारवटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकले वातावरण, सुरक्षा, प्रशासन तथा भूमि व्यवस्थापनसँग सम्बन्धित विषयमा निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले ओजन तह संरक्षणसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) अन्तर्गतको मन्ट्रियल प्रोटोकलसम्बन्धी सम्झौता स्वीकृत गरेको छ।

यस्तै, सशस्त्र प्रहरी बलका डीआईजी अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

बैठकले २०८० साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदनमा उल्लेख गरिएका सुरक्षा संयन्त्रसम्बन्धी विषय अध्ययन गर्न बनाइएको समितिको कार्यअवधि थप ४५ दिन बढाउने निर्णय गरेको छ।

त्यसैगरी, भूमि समस्या समाधान आयोगको अध्यक्षमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गरिएको छ। आयोगका सदस्यहरूमा काठमाडौंका अमीरप्रसाद न्यौपाने, लमजुङका पद्मनीति सोती तथा काठमाडौंकै डा. रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको प्रवक्ता पोखरेलले जानकारी दिए।

काठमाडौं । नेपालको इतिहासमा चर्चित र विवादास्पद घटनामध्ये एक मानिने नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ । यस अवसरमा पूर्वराजा वीरेन्द्र शाहको स्मृतिमा देशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।

वि.सं. २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित राजपरिवारका सदस्यको निधन भएको थियो । उक्त घटनालाई नेपालको आधुनिक इतिहासको एक दुःखद र रहस्यमय घटनाका रूपमा लिइन्छ ।

दरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, राजकुमार धीरेन्द्र शाह, शान्ति शाह, जयन्ती शाह, श्रद्धा शाह तथा कुमार खड्गविक्रम शाहको मृत्यु भएको थियो । घटनापछि गठित छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन युवराज दीपेन्द्रबाट गोली प्रहार भएको निष्कर्ष निकालिएको थियो । यद्यपि घटनाबारे विभिन्न कोणबाट प्रश्न उठ्ने क्रम भने वर्षौंदेखि जारी छ ।

राजा वीरेन्द्रलाई शान्ति, विकास तथा राष्ट्रिय एकताका पक्षधर शासकका रूपमा स्मरण गर्ने गरिन्छ । उनले नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्ने प्रस्ताव अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेका थिए, जसलाई एक सयभन्दा बढी राष्ट्रले समर्थन जनाएको बताइन्छ । तर उक्त प्रस्ताव कार्यान्वयनमा भने आउन सकेन ।

राजा वीरेन्द्रको शासनकालमै २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको थियो । त्यस कारण पनि उनलाई नेपालको राजनीतिक परिवर्तनसँग जोडेर चर्चा गर्ने गरिन्छ ।

२५औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले राजा वीरेन्द्रको योगदानको स्मरण गर्दै उनको व्यक्तित्व र भूमिकाबारे चर्चा गरेका छन् । केही वक्ताहरूले दरबार हत्याकाण्डबारे थप अध्ययन तथा अनुसन्धान आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन् ।

दरबार हत्याकाण्डपछि नेपालको राजनीतिक प्रणाली, शासन व्यवस्था तथा शक्ति संरचनामा व्यापक परिवर्तन आएको थियो । त्यसयता देशमा गणतन्त्र स्थापना भइसकेको छ भने राजसंस्था इतिहासको विषय बनेको छ । यद्यपि पूर्वराजा वीरेन्द्रको भूमिका र दरबार हत्याकाण्डबारे सार्वजनिक बहस तथा चासो भने अझै कायम रहेको देखिन्छ ।

काठमाडौं । रुसले मंगलबार राति युक्रेनका विभिन्न सहरलाई लक्षित गर्दै गरेको व्यापक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा नौ जनाको ज्यान गएको छ भने दर्जनौँ नागरिक घाइते भएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार मध्य युक्रेनस्थित ड्निप्रो सहरमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । त्यसैगरी राजधानी किभमा चार जनाले ज्यान गुमाएका छन् । किभमा कम्तीमा ५१ जना घाइते भएको र तीमध्ये ३५ जनाको अस्पतालमा उपचार भइरहेको बीबीसीले लेखेको छ ।

किभका मेयर भिताली क्लिट्स्कोले आक्रमणका क्रममा दुईवटा बहुमञ्जिला आवासीय भवन क्षतिग्रस्त भएको जानकारी दिएका छन् । केही व्यक्ति भवनको भग्नावशेषमुनि फसेको आशंका गरिएकाले उद्धार कार्य जारी रहेको उनले बताएका छन् ।

रुसले हालै रुसी नियन्त्रणमा रहेको लुहान्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणको प्रतिशोधस्वरूप युक्रेनमाथि थप कडा सैन्य कारबाही गर्ने चेतावनी दिएको थियो । उक्त आक्रमणमा २१ जनाको मृत्यु भएको दाबी गरिएको थियो ।

नयाँ आक्रमणपछि राजधानी किभका बासिन्दालाई सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरिएको छ । किभ सिटी सैन्य प्रशासनका प्रमुख तिमुर काचेन्कोका अनुसार रुसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरी आक्रमण गरिरहेको छ ।

आक्रमणका कारण युक्रेनका अधिकांश क्षेत्रमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो । किभको केन्द्रभागमा बाक्लो धुवाँ देखिएको र रातभर विस्फोटका आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ड्रोन आक्रमणसँगै भएका विस्फोटका कारण सहरका विभिन्न स्थानमा आगलागी भएको छ । मेयर क्लिट्स्कोका अनुसार पेट्रोल पम्प नजिक, निर्माणाधीन भवन, अपार्टमेन्ट तथा निजी आवासहरूमा आगो लागेको छ । केही क्षेत्रमा विद्युत् आपूर्ति समेत प्रभावित भएको छ ।

यसैबीच, रुसको दक्षिणी क्षेत्रमा रहेको इल्स्की तेल प्रशोधन केन्द्रमा पनि ड्रोन आक्रमणपछि आगलागी भएको स्थानीय आपतकालीन सेवाले जनाएको छ । उक्त घटनामा भने कुनै मानवीय क्षति नभएको बताइएको छ ।

रुस–युक्रेन युद्ध जारी रहँदा दुवै पक्षले एकअर्काका रणनीतिक तथा नागरिक पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएका छन्, जसले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको संकेत गरेको छ ।

काठमाडौं । सुर्खेत प्रहरीले अवैध रूपमा गरगहना धितो राखी ब्याजमा रकम कारोबार गरेको आशंकामा एक जनालाई ठूलो परिमाणमा नगद तथा सुनचाँदीका गरगहनासहित पक्राउ गरेको छ ।

पक्राउ पर्ने व्यक्ति बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० स्थायी घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ मा बसोबास गर्दै आएका ६३ वर्षीय श्यामसुन्दर अग्रवाल (बालाजी) रहेका छन् ।

प्रहरीका अनुसार अग्रवालको साथबाट नेपाली मुद्रा दुई लाख १९ हजार पाँच सय रुपैयाँ, भारतीय मुद्रा आठ लाख ११ हजार आठ सय रुपैयाँ तथा सुन–चाँदीका विभिन्न प्रकारका १८५ थान गरगहना बरामद गरिएको छ। बरामद गरिएका गरगहनाको अनुमानित मूल्य करिब तीन करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो करिब ४ बजे वीरेन्द्रनगर–६ स्थित तल्लो बजारमा सञ्चालनमा रहेको ‘शिव इम्पोरियम’ कपडा पसलमा छापा मार्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको हो ।

भारतीय रुपैयाँ तथा गरगहना धितो राखेर ब्याजमा नगद ऋण दिने कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले उक्त कारबाही गरेको प्रहरी प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

कारबाहीका क्रममा प्रहरीले नगद रकम गन्न प्रयोग हुने एक थान नोट गणना मेसिनसमेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको शेयर निष्काशन तथा बाँडफाँट सम्पन्न गरिसकेको छ ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशनका लागि स्वीकृति पाएको थियो । उक्त शेयरमध्ये ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएर बिक्री गरिसकिएको छ । त्यसैगरी ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

अब कम्पनीले कर्मचारीका लागि सुरक्षित गरिएको १७ हजार कित्ता शेयर छुट्याएर बाँकी ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याउन लागेको हो । यस शेयरको कुल मूल्य ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति असार २ गते तोकिएको छ । यद्यपि सो अवधिसम्म सम्पूर्ण शेयरका लागि पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार ११ गतेसम्म थप गरिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।