काठमाडौं । नेपाली पर्वतारोही कामिरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा ३२ औँ पटक आरोहण गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।

सोलुखुम्बुको थामे गाउँका ५६ वर्षीय शेर्पाले आज बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्दै आफ्नै पुरानो कीर्तिमानलाई फेरि उछिनेका हुन् । उनी सेभेन समिट ट्रेकमार्फत आरोहणमा सहभागी भएका थिए ।
सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका कामिरिताले त्यसयता लगातार हिमाल आरोहण क्षेत्रमा सक्रिय रहँदै आएका छन् । सन् २०२६ सम्म आइपुग्दा उनले विश्व पर्वतारोहण क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन् ।
सेभेन समिट ट्रेकले कामिरितालाई नेपालका मात्र नभई विश्व पर्वतारोहण समुदायका प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रण गरेको छ । कम्पनीले सामाजिक सञ्जालमार्फत उनको साहस, अनुभव र निरन्तरताले नयाँ पुस्तालाई प्रेरणा दिइरहेको उल्लेख गर्दै सुरक्षित रूपमा बेस क्याम्प फर्किने शुभकामना व्यक्त गरेको छ ।











