२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । नेपाली पर्वतारोही लाक्पा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ११औँ पटक सफल आरोहण गर्दै नयाँ इतिहास रचेकी छन् ।

आज बिहान करिब ९ः३० बजे सगरमाथाको चुचुरोमा पुगेकी उनले महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेकी हुन् । यससँगै उनी सगरमाथा सबैभन्दा धेरै पटक सफलतापूर्वक आरोहण गर्ने पहिलो महिला बनेकी छन् ।

लाक्पा शेर्पाको यो उपलब्धिलाई नेपाली पर्वतारोहण क्षेत्रका लागि महत्वपूर्ण सफलता मानिएको छ । उनको साहस, दृढ आत्मविश्वास र पर्वतप्रतिको समर्पणले विश्वभरका महिला तथा पर्वतारोहीहरूलाई प्रेरणा दिइरहेको सेभेन समिट ट्रेकले जनाएको छ ।

काठमाडौं । नेपाली पर्वतारोही कामिरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा ३२ औँ पटक आरोहण गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।

सोलुखुम्बुको थामे गाउँका ५६ वर्षीय शेर्पाले आज बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्दै आफ्नै पुरानो कीर्तिमानलाई फेरि उछिनेका हुन् । उनी सेभेन समिट ट्रेकमार्फत आरोहणमा सहभागी भएका थिए ।

सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका कामिरिताले त्यसयता लगातार हिमाल आरोहण क्षेत्रमा सक्रिय रहँदै आएका छन् । सन् २०२६ सम्म आइपुग्दा उनले विश्व पर्वतारोहण क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन् ।

सेभेन समिट ट्रेकले कामिरितालाई नेपालका मात्र नभई विश्व पर्वतारोहण समुदायका प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रण गरेको छ । कम्पनीले सामाजिक सञ्जालमार्फत उनको साहस, अनुभव र निरन्तरताले नयाँ पुस्तालाई प्रेरणा दिइरहेको उल्लेख गर्दै सुरक्षित रूपमा बेस क्याम्प फर्किने शुभकामना व्यक्त गरेको छ ।

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य घटेसँगै छापावाल सुनको कारोबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ । आइतबार चाँदी प्रतितोला ३३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँ कायम भएको थियो ।

काठमाडौं । गुठी संस्थान सँग जिल्लागत रूपमा रहेको जग्गाको विस्तृत अभिलेख नहुँदा कुल क्षेत्रफल यकिन गर्न समस्या भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालय को ६३औँ प्रतिवेदनमा संस्थानको जग्गा र सम्पत्तिको एकीकृत विवरण अभाव रहेको उल्लेख गरिएको हो ।

प्रतिवेदनअनुसार संस्थानको नाममा रहेका जग्गा तथा सम्पत्तिको व्यवस्थित अभिलेखीकरण नभएकाले संरक्षण र उपयोग प्रभावकारी बन्न सकेको छैन । महालेखाले सम्पूर्ण जग्गाको एकीकृत तथा कार्यालयगत अभिलेख तयार गरी व्यवस्थित संरक्षणको व्यवस्था गर्न सुझाव दिएको छ ।

प्रतिवेदनमा विभिन्न जिल्लामा गुठीका जग्गा अतिक्रमणमा परेको विवरण पनि समेटिएको छ । धनुषामा ४३ दशमलव ५ बिघा, महोत्तरीमा १२२ बिघा, बारामा २७ बिघा, पर्सामा सात बिघा तथा काठमाडौँमा १४ रोपनी जग्गा अतिक्रमणमा परेको उल्लेख छ । त्यसैगरी ललितपुरमा १२ रोपनी र भक्तपुरमा दुई रोपनी जग्गा अतिक्रमित भएको जनाइएको छ ।

संस्थानले अझैसम्म सम्पूर्ण जग्गाको लगत तयार नगरेकाले अतिक्रमित जग्गाको अद्यावधिक विवरण तयार गरी संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । संस्थान कार्यव्यवस्था विनियम, २०४९ को दफा १७ (१) अनुसार अधिकार क्षेत्रभित्रका जग्गाको छुट्टै लगत तयार गरी नियमित अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेको प्रतिवेदनमा स्मरण गराइएको छ ।

हाल संस्थानको नाममा देशका ६८ जिल्लामा पहाडी क्षेत्रमा पाँच लाख ६१ हजार ९९० रोपनी तथा तराई क्षेत्रमा ६६ हजार ३२० बिघा जग्गा रहेको विवरण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

काठमाडौं । आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार, डिजिटल सचेतना अभिवृद्धि तथा प्रविधिमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ ।

इन्टरनेट तथा सूचना–सञ्चार प्रविधिको प्रयोगले समाज र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने भएकाले यसको पहुँच सबै नागरिकसम्म पु¥याउनुपर्नेमा यस दिवसले जोड दिने गरेको छ । विशेषगरी प्रविधिको पहुँच भएका र पहुँचबाट वञ्चित समुदायबीचको दूरी घटाउनु यसको मुख्य लक्ष्य हो ।

‘डिजिटल विभाजन’ भन्नाले इन्टरनेट, कम्प्युटर, स्मार्टफोनलगायत प्रविधिमा पहुँच तथा प्रयोग गर्ने अवसरमा देखिने असमानतालाई जनाइन्छ । शहरका मानिसले सहज रूपमा डिजिटल सेवा उपयोग गर्न सक्दा ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक भने अझै पनि यस्ता सुविधाबाट टाढा रहनु डिजिटल विभाजनको उदाहरण हो ।

यस दिवसको सुरुआत सन् १९६९ देखि भएको हो । अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आइटियु) को स्थापना तथा सन् १८६५ मा पहिलो अन्तरराष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । पछि सन् २००६ मा संयुक्त राष्ट्रसंघीय महासभाले मे १७ लाई ‘विश्व सूचना समाज दिवस’ का रूपमा समेत मनाउने निर्णय गरेको थियो ।

राष्ट्रसङ्घका अनुसार यस दिवसले सूचना–प्रविधिको प्रयोगमार्फत शिक्षा, स्वास्थ्य, व्यापार तथा सार्वजनिक सेवामा पहुँच विस्तार गर्न सकिने सम्भावनाबारे जनचेतना फैलाउने काम गर्छ । साथै, सबै वर्ग र क्षेत्रका नागरिकलाई डिजिटल पहुँचमा जोड्दै समावेशी सूचना समाज निर्माणमा योगदान पु¥याउने उद्देश्य पनि यस दिवसले बोकेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।