काठमाडौं । नवलपुरको गैँडाकोटस्थित भृकुटी कागज कारखानाका श्रमिकहरूले लामो समयदेखि रोकिएको पारिश्रमिक भुक्तानीको माग गर्दै सरकारसमक्ष आवाज उठाएका छन् । कारखानामा कार्यरत ३३३ जना श्रमिकहरूको तर्फबाट “सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिवार अभियान”ले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पेश गरेको हो ।

प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गरिएको उक्त ज्ञापनपत्रमार्फत करिब ४० करोड रुपैयाँ बराबरको बक्यौता पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरिएको छ । श्रमिकहरूले लामो समयसम्म पारिश्रमिक नपाउँदा आर्थिक संकट झेल्नुपरेको र कतिपय श्रमिकको मृत्यु समेत भइसकेको उल्लेख गरेका छन् ।
२०६७ सालदेखि पूर्ण रूपमा बन्द रहेको उक्त उद्योग पुनः सञ्चालनमा ल्याउने वा वैकल्पिक रूपमा त्यसको सम्पत्तिको उचित व्यवस्थापन गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन् । गैँडाकोट नगरपालिकाभित्र रहेको करिब ६० बिगा जमिनलाई कृषि, उद्योग वा व्यवस्थित नमुना बजारका रूपमा विकास गर्ने स्पष्ट योजना बनाई कार्यान्वयन गर्नुपर्ने उनीहरूको जोड छ ।
श्रमिकहरूले आफ्नो माग पाँच दिनभित्र सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।













