
काठमाडौं । नवलपुरको गैँडाकोटस्थित भृकुटी कागज कारखानाका श्रमिकहरूले लामो समयदेखि रोकिएको पारिश्रमिक भुक्तानीको माग गर्दै सरकारसमक्ष आवाज उठाएका छन् । कारखानामा कार्यरत ३३३ जना श्रमिकहरूको तर्फबाट “सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिवार अभियान”ले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पेश गरेको हो ।
प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गरिएको उक्त ज्ञापनपत्रमार्फत करिब ४० करोड रुपैयाँ बराबरको बक्यौता पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरिएको छ । श्रमिकहरूले लामो समयसम्म पारिश्रमिक नपाउँदा आर्थिक संकट झेल्नुपरेको र कतिपय श्रमिकको मृत्यु समेत भइसकेको उल्लेख गरेका छन् ।
२०६७ सालदेखि पूर्ण रूपमा बन्द रहेको उक्त उद्योग पुनः सञ्चालनमा ल्याउने वा वैकल्पिक रूपमा त्यसको सम्पत्तिको उचित व्यवस्थापन गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन् । गैँडाकोट नगरपालिकाभित्र रहेको करिब ६० बिगा जमिनलाई कृषि, उद्योग वा व्यवस्थित नमुना बजारका रूपमा विकास गर्ने स्पष्ट योजना बनाई कार्यान्वयन गर्नुपर्ने उनीहरूको जोड छ ।
श्रमिकहरूले आफ्नो माग पाँच दिनभित्र सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग सम्बन्धित स्थानहरूमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ ।
विभागको टोलीले सोमबार काठमाडौं र हेटौंडामा रहेका उनका कार्यालयहरूमा एकसाथ खोजतलास गरेको हो । काठमाडौंको नक्साल र सुन्धारास्थित कार्यालयहरूका साथै हेटौंडामा रहेको निजी निवास र कार्यालयमा समेत अनुसन्धानका लागि खानतलासी गरिएको जनाइएको छ ।
मुख्यमन्त्री बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा संसदीय दलका नेता पनि हुन् । उनी निर्माण व्यवसायसहित विभिन्न क्षेत्रमा संलग्न रहेको बताइन्छ ।
विभागले छापामार कारबाहीको कारणबारे विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन।
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३ अंकले घटेर २ हजार ७०४ दशमलव ०८ अंकमा झरेको हो ।
आज ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ४ हजार कित्ता शेयर किनबेच भएको छ ।
समूहगत रूपमा हेर्दा माइक्रोफाइनान्स बाहेक सबै उपसूचक ओरालो लागेका छन् । म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूह सबैभन्दा बढी २ दशमलव ५४ प्रतिशतले घटेको छ । त्यस्तै हाइड्रोपावर २ दशमलव २३ प्रतिशत, डेभलपमेन्ट बैंक २ दशमलव १४ प्रतिशत, होटल तथा पर्यटन १ दशमलव ३५ प्रतिशत र इन्भेष्टमेन्ट समूह १ दशमलव ३६ प्रतिशतले घटेका छन् ।
आजको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य घटेको देखिएको छ । २४० कम्पनीको मूल्य घट्दा २७ कम्पनीको मात्र शेयर मूल्य बढेको छ ।





