मन्थली । लामो समय वैदेशिक रोजगारीमा बिताएपछि रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले स्वदेशमै उद्यम सुरु गर्ने निर्णय लिएकी छन् । चार वर्ष बेलायत र त्यसपछि ११ वर्ष दुबई तथा कतारमा काम गरेकी केसी अहिले गाउँ फर्केर बाख्रापालन व्यवसायमा सक्रिय भएकी हुन् ।

अरूको काममा सीमित रहनुभन्दा आफ्नै देशमा केही गर्ने सोचले प्रेरित भएर आफू गाउँ फर्किएको उनले बताइन् । ‘कृषि र पशुपालनप्रति बढ्दो आकर्षणले मलाई यो क्षेत्रमा लाग्न हौस्यायो,’ केसीले भनिन् ।
बाख्रापालनका लागि उनले करिब २० लाख रुपैयाँ लगानी गरेर आधुनिक खोर निर्माण गरिसकेकी छन् । यससँगै उनले कुखुरा, गाईभैँसी, माहुरीपालन र कफी खेतीसमेत विस्तार गर्ने योजना बनाएकी छन् ।
विसं २०८१ मा गाउँ फर्किएर व्यवसाय सुरु गरेकी केसीले अहिलेसम्म कुनै सरकारी वा अन्य निकायबाट प्रत्यक्ष आर्थिक सहयोग नपाएको बताइन् । यद्यपि, मन्थली नगरपालिकाको पशु स्वास्थ्य शाखाबाट भने आवश्यक प्राविधिक सुझाव प्राप्त भइरहेको उनले जनाइन् ।
उनका बुबा चित्र केसी छोरीको निर्णयप्रति सन्तुष्ट छन् । ‘मेरा पाँच छोरीमध्ये अरू सबै सहरतिरै रोजगारीमा छन्, हामी श्रीमान्श्रीमती पनि काठमाडौँमा बस्छौँ, कहिलेकाँही मात्र गाउँ आउने गरेका छौँ,’ उनले भने, ‘वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छाडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकामा खुसी लागेको छ ।’
गाउँमा कामको निगरानी गर्ने जनशक्ति अभाव भने उनको लागि चुनौती बनेको छ । त्यसका बाबजुद पनि केसी आफ्नो कामप्रति प्रतिबद्ध छिन् । ‘सक्दो मेहनत गरिरहेकी छु, हिम्मत हारेकी छैन, हेरम कति सफल भइन्छ,’ उनले आत्मविश्वास व्यक्त गरिन् ।











