२०८३ बैशाख २४ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २४ बिहीबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य उकालो लागेको छ । आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँ कायम रहेको थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेर प्रतितोला ५ हजार १० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा निर्धारण हुने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार ६१५.२४ अमेरिकी डलर तथा चाँदी प्रतिऔंस ७५.३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले जनताको हितलाई ध्यानमा राख्दै द्रुत रूपमा काम गर्न केही अध्यादेशहरू जारी गरेको बताएकी छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनले अध्यादेशको पक्ष र विपक्षमा भइरहेका बहसप्रति सरकारको आधिकारिक धारणा राखेकी हुन् ।

मन्त्री गौतमले विधिको शासनमा सरकार पनि कानुनकै अधीनमा रहने उल्लेख गर्दै संघीय संसद्ले बनाएका कानुनअनुसार नै सरकार सञ्चालन हुने स्पष्ट पारिन् । उनका अनुसार नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको संरचना तय गरेको छ भने संघीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुई सदनात्मक रहेको छ ।

कानुन निर्माण प्रक्रियाबारे जानकारी दिँदै उनले संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिको प्रमाणीकरणपछि मात्र विधेयक ऐन बन्ने बताइन् । तर, संसद् अधिवेशन नचलेको अवस्थामा तत्काल आवश्यक कामका लागि संविधानको धारा ११४ अनुसार अध्यादेश जारी गर्न सकिने व्यवस्था रहेको उनको भनाइ छ ।

मन्त्री गौतमका अनुसार केही क्षेत्रहरूमा कानुनको अभाव वा अस्पष्टताका कारण सरकारलाई काम गर्न कठिनाइ भइरहेको थियो । सामान्य प्रक्रियाबाट विधेयक पारित गर्दा फास्ट ट्रयाकमा गए पनि तीनदेखि चार महिना लाग्ने भएकाले जनताका समस्या छिटो समाधान गर्न अध्यादेशको सहारा लिनुपरेको उनले बताइन् ।

अध्यादेशको विगतमा भएको दुरुपयोगका कारण आलोचना हुनु स्वाभाविक भए पनि यस पटकको अवस्था फरक रहेको उनको दाबी छ । ‘अहिलेको सरकारसँग संसद्मा झन्डै दुई तिहाइ बहुमत छ । त्यसैले कुनै कुरा लुकाएर वा पर्दा पछाडि बसेर खुसुक्क गर्नुपर्ने अवस्था छैन,’ मन्त्री गौतमले भनिन्, ‘यो अध्यादेश कुनै छद्म उद्देश्यपूर्तिका लागि ल्याइएको होइन, यो त केवल छिटो काम गर्न र सरकारलाई प्रभावकारी बनाउनका लागि हो ।’

साथै, जारी भएका सबै अध्यादेशहरू संसद् सुरु भएको ६० दिनभित्र पेस गरिने र संसद्ले पारित नगरे स्वतः खारेज हुने व्यवस्था रहेको पनि उनले जानकारी दिइन् । सरकारले गर्ने सबै काम पारदर्शी र जनहितमै केन्द्रित हुने उनको प्रतिबद्धता छ ।

काठमाडौं । लगातारको वर्षाका कारण आएको पहिरोले कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ ।

ललितपुरको बागमती गाउँपालिका–४, पाङदुर क्षेत्रमा आज बिहान करिब पाँच बजे पहिरो खस्दा सडक बन्द भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो । पहिरोका कारण काठमाडौं–हेटौंडा आवागमन ठप्प भएको छ ।

यसैबीच, सडक विस्तार भइरहेको सूर्यविनायक–साँगा खण्डमा परेको वर्षाका कारण सडक चिप्लो बनेपछि सवारी आवागमनमा कठिनाइ भएको छ । ट्राफिक प्रहरीले उक्त खण्डमा सावधानीपूर्वक र संयमित भएर सवारी चलाउन चालकहरूलाई आग्रह गरेको छ ।

भद्रपुर । चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा पूर्वी नाका काँकरभिट्टा हुँदै १६ अर्ब ८१ करोडभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार चैत मसान्तसम्ममा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र कोइला लगायतका पेट्रोलियम तथा ऊर्जा सम्बन्धी वस्तुहरू आयात भएका छन् ।

उक्त आयातबाट चालू आर्थिक वर्षको नौ महिनामा मात्रै सात अर्ब ४४ करोड ७८ लाखभन्दा बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

तथ्याङ्कअनुसार, यस अवधिमा सात अर्ब ७५ करोड ९४ लाख रुपैयाँ बराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, पाँच अर्ब ८७ करोड १८ लाख रुपैयाँ बराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको छ ।

त्यस्तै, एक अर्ब ९० करोड ५९ लाख रुपैयाँ बराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास, ५७ करोड ५१ लाख बराबरको पाँच हजार ९८८ किलोलिटर एटीएफ र ७० करोड १२ लाख रुपैयाँ बराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिएका छन् ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन् । यससँगै विभिन्न सरकारी निकाय, परिषद्, प्रतिष्ठान तथा प्राधिकरणहरूमा राजनीतिक रूपमा नियुक्त गरिएका कुल १ हजार ५९४ जना पदाधिकारीहरू पदमुक्त भएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुधार र राज्य संयन्त्रलाई प्रभावकारी बनाउने उद्देश्यसहित यस्तो निर्णय लिएको बताइएको छ । सरकारका अनुसार, यो कदमले संरचनागत पुनःसंरचना र कार्यसम्पादनमा तीव्रता ल्याउने अपेक्षा गरिएको छ ।

अध्यादेशअनुसार सञ्चार, उड्डयन, मुद्रण, शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार, वित्त, कृषि, वातावरणलगायतका विविध क्षेत्रका संस्थाहरूमा रहेका पदाधिकारीहरू पदमुक्त भएका छन् । नेपाल वायुसेवा निगम, राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान, प्रेस काउन्सिल, दूरसञ्चार प्राधिकरणदेखि विश्वविद्यालयहरू र स्वास्थ्य प्रतिष्ठानहरूसम्म यस निर्णयको प्रभाव परेको छ ।

शिक्षा तथा विश्वविद्यालय क्षेत्रतर्फ मात्रै सयौँ पदाधिकारीहरू पदमुक्त भएका छन् भने स्वास्थ्य तथा विज्ञान क्षेत्रका विभिन्न परिषद् र प्रतिष्ठानहरू पनि यसबाट प्रभावित भएका छन् । त्यस्तै ऊर्जा, वित्तीय संस्था, सहकारी, लगानी, बजार नियमन निकायहरूमा समेत ठूलो संख्यामा पद रिक्त भएका छन् ।

कृषि, वातावरण, प्रज्ञा प्रतिष्ठान तथा सामाजिक क्षेत्रका निकायहरूमा रहेका पदाधिकारीहरू पनि अध्यादेश कार्यान्वयनसँगै पदमुक्त भएका छन् । प्रशासनिक तथा सामाजिक क्षेत्रअन्तर्गतका विभिन्न आयोग, परिषद् र निकायहरूमा पनि व्यापक प्रभाव परेको छ ।

सरकारले अब यी सबै रिक्त पदहरूमा नयाँ नियुक्ति प्रक्रिया छिट्टै अघि बढाउने तयारी गरेको जनाएको छ ।

मन्थली । लामो समय वैदेशिक रोजगारीमा बिताएपछि रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले स्वदेशमै उद्यम सुरु गर्ने निर्णय लिएकी छन् । चार वर्ष बेलायत र त्यसपछि ११ वर्ष दुबई तथा कतारमा काम गरेकी केसी अहिले गाउँ फर्केर बाख्रापालन व्यवसायमा सक्रिय भएकी हुन् ।

अरूको काममा सीमित रहनुभन्दा आफ्नै देशमा केही गर्ने सोचले प्रेरित भएर आफू गाउँ फर्किएको उनले बताइन् । ‘कृषि र पशुपालनप्रति बढ्दो आकर्षणले मलाई यो क्षेत्रमा लाग्न हौस्यायो,’ केसीले भनिन् ।

बाख्रापालनका लागि उनले करिब २० लाख रुपैयाँ लगानी गरेर आधुनिक खोर निर्माण गरिसकेकी छन् । यससँगै उनले कुखुरा, गाईभैँसी, माहुरीपालन र कफी खेतीसमेत विस्तार गर्ने योजना बनाएकी छन् ।

विसं २०८१ मा गाउँ फर्किएर व्यवसाय सुरु गरेकी केसीले अहिलेसम्म कुनै सरकारी वा अन्य निकायबाट प्रत्यक्ष आर्थिक सहयोग नपाएको बताइन् । यद्यपि, मन्थली नगरपालिकाको पशु स्वास्थ्य शाखाबाट भने आवश्यक प्राविधिक सुझाव प्राप्त भइरहेको उनले जनाइन् ।

उनका बुबा चित्र केसी छोरीको निर्णयप्रति सन्तुष्ट छन् । ‘मेरा पाँच छोरीमध्ये अरू सबै सहरतिरै रोजगारीमा छन्, हामी श्रीमान्श्रीमती पनि काठमाडौँमा बस्छौँ, कहिलेकाँही मात्र गाउँ आउने गरेका छौँ,’ उनले भने, ‘वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छाडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकामा खुसी लागेको छ ।’

गाउँमा कामको निगरानी गर्ने जनशक्ति अभाव भने उनको लागि चुनौती बनेको छ । त्यसका बाबजुद पनि केसी आफ्नो कामप्रति प्रतिबद्ध छिन् । ‘सक्दो मेहनत गरिरहेकी छु, हिम्मत हारेकी छैन, हेरम कति सफल भइन्छ,’ उनले आत्मविश्वास व्यक्त गरिन् ।

काठमाडौं । आज दिउँसो देशका विभिन्न स्थानमा मौसम आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पहाडी र हिमाली क्षेत्रमा बादलको प्रभाव बढी रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार हिमाली र पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । साथै, मधेस प्रदेश र कोसी प्रदेशको तराईका सीमित स्थानमा पनि यस्तै किसिमको वर्षा हुन सक्ने जनाइएको छ । अन्य तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना छ ।

आज राति देशभर मौसम सामान्यतया बदली रहनेछ । कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

विशेषगरी लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।