काठमाडौं । आज दिउँसो देशका विभिन्न स्थानमा मौसम आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पहाडी र हिमाली क्षेत्रमा बादलको प्रभाव बढी रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार हिमाली र पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । साथै, मधेस प्रदेश र कोसी प्रदेशको तराईका सीमित स्थानमा पनि यस्तै किसिमको वर्षा हुन सक्ने जनाइएको छ । अन्य तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना छ ।
आज राति देशभर मौसम सामान्यतया बदली रहनेछ । कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
विशेषगरी लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।











