प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका प्रभावशाली व्यक्तित्वमध्ये परेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम Time Magazine ले सार्वजनिक गरेको ‘सन् २०२६ का १०० प्रभावशाली व्यक्ति’ सूचीमा उनको नाम समावेश गरिएको हो।

टाइम म्यागजिनले उनलाई ‘नेता’ श्रेणीमा राख्दै ३६ वर्षीय शाहलाई हिप–हप पृष्ठभूमिबाट राजनीति प्रवेश गरेका र नेपालको इतिहासकै कान्छा प्रधानमन्त्रीका रूपमा चित्रण गरेको छ।
म्यागजिनका अनुसार फागुन २१ मा सम्पन्न आम निर्वाचनमा युवापुस्ताको व्यापक समर्थन र परम्परागत राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टिका कारण शाहले उल्लेखनीय विजय हासिल गरेका थिए। सिभिल इन्जिनियरिङ अध्ययन गरेका उनले काठमाडौँ महानगरपालिकाको मेयर रहँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखाएको सुधारलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने चुनौती रहेको टाइमले उल्लेख गरेको छ।
टाइमले शाहको उदयलाई दक्षिण एसियामा जरा गाडेको वंशवादी तथा परम्परागत राजनीतिविरुद्धको बलियो सन्देशका रूपमा व्याख्या गरेको छ।
यस वर्षको सूचीमा शाहसँगै विभिन्न क्षेत्रका विश्वप्रसिद्ध व्यक्तित्वहरू पनि समावेश छन्। राजनीतिक नेतृत्वतर्फ Donald Trump, Xi Jinping, Pope Leo XIV, Claudia Sheinbaum, Mark Carney र Benjamin Netanyahu जस्ता नाम समेटिएका छन्।
व्यापार तथा प्रविधि क्षेत्रमा Sundar Pichai, Michael Dell, David Ellison र Gwynne Shotwell पनि सूचीमा परेका छन्।
कला र मनोरञ्जनतर्फ Ranbir Kapoor, Zoe Saldaña, Dakota Johnson, Keke Palmer, Benicio del Toro र Luke Combs रहेका छन्।
त्यस्तै खेलकुद क्षेत्रमा Scottie Scheffler, Hilary Knight र Lando Norris तथा सामाजिक सञ्जालका चर्चित व्यक्तित्व MrBeast पनि समावेश छन्। नवप्रवर्तन तथा विचार क्षेत्रमा Dario Amodei, Nikki Glaser र Vikas Khanna ले स्थान बनाएका छन्।

टाइममा प्रकाशित टिप्पणीमा भनिएको छ, “बालेनको उदयले केवल नेपालको नेतृत्व परिवर्तन गरेको छैन, यसले पुरानो राजनीतिक शैलीप्रति स्पष्ट अस्वीकारको संकेत पनि दिएको छ।”









