काठमाडौं । बैंकिङ कसूरसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले प्रभु बैंकका एक उच्च अधिकारीलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकको ‘कर्पोरेट एन्ड प्रोजेक्ट फाइनान्स’ विभाग प्रमुख दिनेश डंगोललाई नियन्त्रणमा लिएको हो । उनीमाथि बैंकिङ कसूरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सीआईबीका अनुसार यसअघि नै अनुसन्धानको दायरामा रहेका अशोक शेरचनसँग सम्बन्धित प्रकरणमा डंगोलको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो । ललितपुर महानगरपालिका–२७ (साविक सुनाकोठी) स्थायी घर भएका ५० वर्षीय डंगोललाई काठमाडौंको थापाथली क्षेत्रबाट विशेष टोलीले नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा डंगोलले प्रभु बैंकबाट ‘प्रभु म्यानेजमेन्ट प्रा.लि.’ मा प्रवाह गरिएको कर्जाको दुरुपयोग गरेको तथा नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानून विपरीत काम गरेको आरोप लागेको छ । सीआईबीले संकलन गरेका प्रमाण र विज्ञ टोलीको विश्लेषणका आधारमा उनीविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत कारबाही अघि बढाइएको हो ।
सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर उनलाई २०८१ चैत २ गते पक्राउ गरिएको हो । हाल अदालतबाट म्याद थप गरी डंगोललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











