काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सुत्केरी आमालाई ६ महिनासम्म तलबी बिदा दिने गरी कानुन संशोधनको तयारी भइरहेको बताएकी छन् ।

फेसबुकमार्फत जानकारी दिँदै मन्त्री गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयार भइसकेको जनाएकी हुन् ।
प्रस्तावित संशोधनअनुसार सुत्केरी आमाले ६ महिनाको तलबसहितको बिदा पाउनेछिन् भने नवजात शिशुको स्याहारका लागि बाबुलाई ४२ दिनसम्मको बिदा दिने व्यवस्था गरिनेछ ।
मन्त्री गौतमका अनुसार संशोधन विधेयकको मस्यौदा तयार भइसकेको छ । अब मस्यौदालाई मन्त्रिपरिषद्मार्फत अघि बढाएर संसदमा दर्ता गर्ने तयारी छ ।
हाल प्रचलित ऐनअनुसार सुत्केरी महिलाले सुत्केरी हुनुअघि र पछि गरी ९८ दिनसम्म बिदा पाउने व्यवस्था छ । यस्तै, श्रीमतीको सुत्केरी स्याहारका लागि बाबुले १५ दिनसम्म बिदा पाउने प्रावधान रहेको छ ।











