काठमाडौं । स्विट्जरल्यान्डमा हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि वैज्ञानिकहरूले त्यसलाई जोगाउने नयाँ उपाय खोजेका छन् । उपाय भने केही अनौठो छ-हिमनदीलाई भेडाको ऊनबाट बनेको कम्बल ओढाउने ।

पश्चिमी स्विट्जरल्यान्डस्थित त्सानफ्लूरोन हिमनदीमा वैज्ञानिकहरूले भेडाको ऊनबाट तयार गरिएका दुईवटा ठूला कम्बल बिछ्याएका छन् । ती कम्बलले चर्को घाम र बढ्दो तापक्रमबाट हिउँलाई कति जोगाउन सक्छन् भन्ने परीक्षण भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हिमनदीमाथि कम्बल ओढाउने यो दृश्य जति अनौठो देखिन्छ, यसको पछाडिको उद्देश्य भने गम्भीर छ । वैज्ञानिकहरूका अनुसार हिमनदीको सतहमा राखिएको ऊनले गर्मीको प्रभाव घटाउँदै हिउँ पग्लिने गति कम गर्न सक्छ कि सक्दैन भन्ने अध्ययन गर्न खोजिएको हो ।
यसअघि पनि स्विट्जरल्यान्डका विभिन्न हिमनदीमा हिउँ जोगाउन विशेष प्रकारका सिन्थेटिक तान प्रयोग हुँदै आएका छन् । यस्ता तानले सूर्यका किरण परावर्तन गरेर हिउँसम्म पुग्ने ताप घटाउन मद्दत गर्छन् ।
तर यसपटकको प्रयोगमा वैज्ञानिकहरूले प्राकृतिक स्रोतलाई रोजेका छन् । ‘किप इट वुल’ परियोजनाअन्तर्गत भइरहेको यो परीक्षणमा स्विट्जरल्यान्डमा खेर गइरहेको भेडाको ऊनलाई उपयोगमा ल्याउने उद्देश्यसमेत जोडिएको छ । परियोजना समिट फाउन्डेसन र युनिभर्सिटी अफ लोसानको संयुक्त पहलमा सञ्चालन भइरहेको हो ।
यद्यपि, ऊनको कम्बलले केही समयका लागि हिउँ पग्लिनबाट जोगाउन सके पनि यसले हिमनदी संकटको स्थायी समाधान भने दिने छैन । वैज्ञानिकहरूका लागि मुख्य चुनौती अझै उही छ-बढ्दो विश्वव्यापी तापक्रम नियन्त्रण गर्नु ।
किनकि हिमनदीलाई केही समय कम्बलले छोप्न सकिएला, तर बढ्दो गर्मीलाई भने कम्बलले छोपेर रोक्न सकिँदैन ।











