काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क जाने सम्भावना बढेसँगै परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी अघि बढाएको छ ।

प्रधानमन्त्री शाहले महासभामा आफैँ सहभागी हुने संकेत गरेपछि परराष्ट्र मन्त्रालयले आवश्यक तयारी सुरु गरेको हो । यद्यपि, प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक निर्णय भने भइनसकेको मन्त्रालय स्रोतले जनाएको छ ।
“प्रधानमन्त्रीज्यू जाने निर्णय भइसकेको छैन। तर, उहाँले जाने संकेत गर्नुभएपछि भ्रमणको तयारी सुरु गरिएको हो,” परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आगामी असोजको पहिलो साता अमेरिकाको न्युयोर्कमा आयोजना हुँदैछ ।
यसअघि प्रधानमन्त्री शाहले महासभामा सहभागी नहुने निर्णय गरेका थिए । त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।
तर, भदौ १० गते रसुवामा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तनका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी हुने संकेत गरेका हुन् ।
प्रधानमन्त्रीको उक्त संकेतपछि परराष्ट्रमन्त्री खनालको निर्देशनमा मन्त्रालयले न्युयोर्क भ्रमणका लागि आवश्यक तयारी अघि बढाएको जनाइएको छ ।











