
पोखरा । कास्कीको पोखरास्थित फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जनालाई सकुशल उद्धार गरिएको छ ।
शुक्रबार बिहान करिब ५ बजे पोखरा महानगरपालिका–१८, गैरीचौतारास्थित फेवातालमा लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ बीबी ६७५९ नम्बरको कार अनियन्त्रित भएर तालमा खसेको हो ।
दुर्घटनामा भारतका २६ वर्षीय नवदीपकुमार यादव र २६ वर्षीय प्रियान्सु पाण्डेको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ । तालबाट अचेत अवस्थामा उद्धार गरिएका उनीहरूलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा बिहान ६ः२० बजे दुवै जनाको मृत्यु भएको हो ।
कारमा सवार भारतका २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवलाई भने नेपाल प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका छन् । उनीहरूलाई उपचारका लागि पोखरास्थित जिएमसी अस्पताल पु¥याइएको छ। दुवैको अवस्था मध्यम रहेको जनाइएको छ ।
दुर्घटनालगत्तै सशस्त्र प्रहरीको गोताखोरसहितको टोली उद्धारमा परिचालन भएको थियो । तालमा डुबेको कारलाई क्रेनको सहायताले बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण तथा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनदेखि फसेर उद्धार गरिएका सप्तरीका सञ्जय साहले आफू फसेको स्थान आसपास अझै केही मानिस हुन सक्ने बताएका छन् ।
नेपाली सेनासँगको कुराकानीका क्रममा साहले सुरुङभित्र आफूले केही मानिसको कुराकानीसमेत सुनेको बताए । उनका अनुसार पावर हाउस क्षेत्रमा समेत दुर्घटनापछि बाहिर निस्कन नसकेका मानिसहरू हुन सक्ने सम्भावना छ ।
साह नेपाल विद्युत् प्राधिकरणमा मेकानिकल फोरम्यानका रूपमा कार्यरत छन् । दुर्घटना हुँदा उनी कन्ट्रोल रुममा अपरेटरको जिम्मेवारीमा थिए । त्यसबेला सामान्य अवस्थाभन्दा धेरै मानिस आयोजनास्थलमा रहेको उनले बताएका छन् ।
‘सामान्यतया ५/६ जना मात्रै हुन्थ्यौँ, तर त्यतिबेला ४०/४५ जना थिए,’ साहले सेनासँग भनेका छन् ।
दुर्घटना भएपछि आफूले अरूको ज्यान जोगाउन प्राथमिकता दिएको उनको भनाइ छ । सबैलाई ड्याममा दुर्घटना भएको जानकारी दिँदै बाहिर निस्कन आग्रह गरे पनि अरूलाई सुरक्षित रूपमा बाहिर पठाउने क्रममा आफू भने समयमै निस्कन नसकेको उनले बताएका छन् ।
सुरुङभित्र फसेपछि साहले आफूलाई मानसिक रूपमा सम्हाल्न महामन्त्र जपेर बसेको समेत बताएका छन् ।
यसैबीच, सुरुङमा फसेको १० दिनपछि नेपाली सेनाले साहसहित काठमाडौंका कविर महर्जनलाई उद्धार गरेको हो । महर्जन नेपाल विद्युत् प्राधिकरणकै सुपरभाइजर हुन् ।
उद्धारपछि साहले सुरुङ तथा पावर हाउस क्षेत्रमा अझै मानिस फसेको हुन सक्ने सम्भावना औंल्याएपछि खोज तथा उद्धारको अवस्थाबारे थप चासो बढेको छ ।
काठमाडौं । धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट एलपी ग्यास ढुवानी गर्नुपर्दा लागत बढेको भन्दै काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको मूल्य बढाइएको छ ।
नेपाल आयल निगमले प्रतिसिलिन्डर एलपी ग्यासको मूल्य २ हजार ६० रुपैयाँ तोकेको भए पनि ग्यास उद्योगीले ढुवानी खर्चबापत थप १ सय ५ रुपैयाँ ३८ पैसा जोडेर नयाँ मूल्य कायम गरेका हुन् । अब काठमाडौं उपत्यकामा एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पुगेको छ ।
ग्यास उद्योगीहरूको संघले १८ भदौमा सम्पन्न वार्षिक साधारणसभाको निर्णयअनुसार मूल्य समायोजन गरिएको जनाएको छ । संघका अनुसार कृष्णभिरमा पहिरो गएपछि काठमाडौंसम्म ग्यास ल्याउन नियमित ढुवानी मार्ग प्रयोग गर्न नसक्दा तराई क्षेत्रमा रिफिल गरी वैकल्पिक माध्यमबाट ग्यास ल्याउनुपर्ने अवस्था सिर्जना भएको हो ।
संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार वैकल्पिक ढुवानी गर्दा प्रतिसिलिन्डर करिब १ सय ८० रुपैयाँसम्म अतिरिक्त खर्च लागिरहेको छ । तर, आयल निगमको व्यवस्था र सहमतिअनुसार उपभोक्ताबाट १ सय ५ रुपैयाँ ३८ पैसा मात्रै थप लिइएको उनको दाबी छ ।
ग्यास उद्योगीहरूले आयल निगमसँगको सहमति र विद्यमान प्रावधानअनुसार मूल्य बढाइएको बताएका छन् । नेपाल ग्यास उद्योगका अनुसार ग्यासको खरिद मूल्य नबढेको तर ढुवानी लागत बढेकाले उपभोक्ता मूल्यमा वृद्धि गर्नुपरेको हो ।
निगमले काठमाडौंसम्मको नभई उद्योगदेखि ५० किलोमिटर क्षेत्रसम्मको ढुवानी भाडा मात्रै उपलब्ध गराउने भएकाले त्यसपछिको अतिरिक्त खर्च उद्योगीले व्यहोर्नुपर्ने व्यवस्था गरेको उद्योगले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क जाने सम्भावना बढेसँगै परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी अघि बढाएको छ ।
प्रधानमन्त्री शाहले महासभामा आफैँ सहभागी हुने संकेत गरेपछि परराष्ट्र मन्त्रालयले आवश्यक तयारी सुरु गरेको हो । यद्यपि, प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक निर्णय भने भइनसकेको मन्त्रालय स्रोतले जनाएको छ ।
“प्रधानमन्त्रीज्यू जाने निर्णय भइसकेको छैन। तर, उहाँले जाने संकेत गर्नुभएपछि भ्रमणको तयारी सुरु गरिएको हो,” परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आगामी असोजको पहिलो साता अमेरिकाको न्युयोर्कमा आयोजना हुँदैछ ।
यसअघि प्रधानमन्त्री शाहले महासभामा सहभागी नहुने निर्णय गरेका थिए । त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।
तर, भदौ १० गते रसुवामा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तनका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी हुने संकेत गरेका हुन् ।
प्रधानमन्त्रीको उक्त संकेतपछि परराष्ट्रमन्त्री खनालको निर्देशनमा मन्त्रालयले न्युयोर्क भ्रमणका लागि आवश्यक तयारी अघि बढाएको जनाइएको छ ।
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाउने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर विभिन्न धार्मिक कार्यक्रम गरी मनाउँदैछन् । कृष्णमन्दिरहरूमा विशेष पूजाआराधना, भजनकीर्तन, प्रवचन तथा धार्मिक अनुष्ठान आयोजना गरिएका छन् ।
द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार यस दिनलाई जन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ । पर्वका अवसरमा महिला तथा पुरुष भक्तजन व्रत बसेर रातभर जाग्राम बस्ने परम्परा पनि छ ।
धार्मिक मान्यताअनुसार अन्याय, अत्याचार र दानवी प्रवृत्तिको अन्त्य गर्दै मानव समुदायलाई सत्य र सत्कर्मको बाटोमा अघि बढाउन श्रीकृष्णले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कुरुक्षेत्रको युद्धमा अर्जुनलाई दिएको उपदेशका रूपमा रहेको ‘श्रीमद्भगवद्गीता’ पनि श्रीकृष्णसँग जोडिएको प्रमुख धार्मिक ग्रन्थ हो ।
जन्माष्टमीका अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा विशेष मेला लाग्नेछ । यस्तै, कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधामलगायत राजधानीका विभिन्न कृष्णमन्दिरमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ ।
विभिन्न धार्मिक सङ्घसंस्थाले कृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत आयोजना गर्ने गरेका छन् । पर्वलाई लक्षित गर्दै सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ ।





