२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

नेपाल–चीन सीमामा बाढीको वितण्डा, खोजी–उद्धार तीव्र पार्न सीको निर्देशन

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरेपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको खोजी तथा उद्धारलाई तीव्र पार्न निर्देशन दिएका छन् ।

बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट अचानक ठूलो परिमाणमा पानी भोटेकोशी नदीमा प्रवेश गरेपछि रसुवाको तिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा बाढीले व्यापक क्षति पुर्‍याएको हो । बाढीले बस्ती, सडक, पुल, सुरक्षाकर्मीका संरचना तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ ।

घटनापछि राष्ट्रपति सीले सम्बन्धित निकायलाई बेपत्ता व्यक्तिको खोजीलाई प्राथमिकतामा राख्दै उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका हुन् । घाइतेको तत्काल उपचार, प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन तथा उद्धार टोली परिचालन गर्न पनि उनले जोड दिएका छन् । साथै, भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि अनुगमन र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।

नेपालतर्फ भने बाढीको क्षति भयावह देखिएको छ । रसुवाको तिमुरे बजार र रसुवागढी भन्सार क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले सवारीसाधन तथा भन्सार क्षेत्रमा रहेका सामानसमेत बगाएको प्रारम्भिक विवरण छ ।

बाढीले नेपाल–चीन जोड्ने सडक र पुलमा समेत ठूलो क्षति पुर्‍याएको छ। बेत्रावतीदेखि रसुवागढीसम्मको करिब ४२ किलोमिटर सडक विभिन्न स्थानमा बगाएको र धेरै पक्की पुल क्षतिग्रस्त भएको सडक विभागले जनाएको छ । स्याफ्रुबेँसीदेखि सीमातर्फको सडक खण्डमा समेत क्षति पुगेको छ ।

बाढीका कारण जलविद्युत् आयोजनाहरूमा समेत ठूलो क्षति पुगेको छ । ऊर्जा मन्त्रालयका अनुसार करिब ४३० मेगावाट विद्युत् उत्पादन क्षमतामा असर परेको छ । यो नेपालको कुल जडित जलविद्युत् क्षमताको १२ प्रतिशतभन्दा बढी हो ।

भोटेकोशी हुँदै बाढीको प्रभाव त्रिशूली नदीतर्फ फैलिँदा रसुवा, नुवाकोट, धादिङ, गोरखा हुँदै चितवनसम्म नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाइएको छ । नदी किनारका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

यसैबीच, बाढीमा परी केही सुरक्षाकर्मीसहित दर्जनौँ व्यक्ति बेपत्ता भएको र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिए पनि उच्च बहावका कारण कतिपय क्षेत्रमा उद्धारमा कठिनाइ भइरहेको छ ।

बाढीको वास्तविक कारणबारे यकिन भइसकेको छैन । प्रारम्भिक विवरणले तिब्बततर्फबाट अचानक ठूलो पानीको बहाव आएको देखाए पनि हिमताल विस्फोट वा हिमाली क्षेत्रमा नदी थुनिएर अचानक फुटेको हुनसक्ने सम्भावनाबारे पनि अध्ययन भइरहेको छ ।

बुधबारको बाढीले गत वर्ष पनि ठूलो क्षति बेहोरेको नेपाल–चीन सीमा क्षेत्रलाई पुनः प्रभावित बनाएको छ । क्षतिको पूर्ण विवरण संकलन तथा बेपत्ताको खोजी जारी रहेकाले मानवीय र भौतिक क्षतिको आकार अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।