काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभामा विश्वासको मत लिनुअघि नेपाली कांग्रेसले उनको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले भदौ ८ गते सोमबार बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री थापामगरले पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेका हुन् ।
दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची छ । कांग्रेसले आफ्ना सांसदलाई तटस्थ नबस्नसमेत निर्देशन दिएको छ ।
प्रमुख सचेतक महर्जनद्वारा जारी पत्रमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापामगरले पेस गर्ने प्रस्तावको विपक्षमा मतदान गर्न भनिएको छ ।
मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
यसअघि गत बिहीबार एमाले, नेकपा र राप्रपाको समर्थनमा सरकार गठनका लागि दाबी गरेका थापा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सोही दिन पद तथा गोपनीयताको शपथ लिएका थिए। त्यसपछि उनले सात सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
अब मुख्यमन्त्री थापामगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक प्रक्रिया पूरा गर्नुपर्नेछ । कांग्रेसले भने उनलाई विश्वासको मत नदिने निर्णयसहित आफ्ना सांसदलाई ह्विप जारी गरेको हो ।












